उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध

  २०७६ पुष १७ गते १३:१६     विकासन्युज

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो ।

बैतडीमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको हाे । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।

हिमपातले बाहिर निस्कनसमेत मुश्किल भएको सुर्नया–८ का वीरबहादुर बोहराले जानकारी दिए । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् । सिँचाइ नभएका क्षेत्रमा भने वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् ।

हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.