कर्णालीमा स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत

  २०७६ पुष १७ गते ११:२२     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा हमालसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो ।

‘यसपालि, घुमौं कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए ।

‘यसपालि, घुमौँ कर्णाली’ सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गरेका हुन् । नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमित रुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ ।

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.