सामाजिक सञ्जाल टिकटक किन विवादमा छ ? अमेरिकी सेनाले किन महसुस गर्यो सुरक्षा चुनौति ?

  २०७६ पुष १६ गते १७:२५     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जाल टिकटक अहिले संसारभर चर्चा र विवादमा छ । यही विवादकै बीच अहिले अमेरिकी सेनाले टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी सेनाले सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइलमा टिकटक एपको प्रयोग गर्न रोक लगाएको हो ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । र, यसैकारण टिकटकमाथि अमेरिकासहित विभिन्न देशले कडा निगरानी राखेका छन् ।

अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी टिकटक एपलाई साइबर खतराका रूपमा हेरिएको बताइन् ।

कस्तो सञ्जाल हो टिकटक ?

सामाजिक सञ्जाल टिकटकले फरक किसिमका १५ सेकेण्डको भिडियो सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ । यसका प्रयोगकर्ता करिब ५० करोड रहेको अनुमान गरिन्छ ।

कुनै गीत वा हँसाउने भिडिओमा करिब १५ सेकेन्ड ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने टिकटक एप युवा प्रयोगकर्ता माझ निकै लोकप्रिय छ ।

यसका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन् । तर, त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा प्रयोगकर्तासँग हुदै नहुने भने होइन ।

अमेरिकी सेना प्रवक्ता ओचोआका अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो साताबाट एप प्रयोग नगर्न सुझाव दिइएको हो ।

सेनाले निजी मोबाइल फोनमा सो एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्देशिका जारी गरेको छ । जसमा आफूले डाउनलोड गर्ने एपहरूबाट सावधान रहन भनिएको छ ।

सो एप अमेरिकी नागरिकहरूको डेटा जम्मा गर्न प्रयोग गर्न सकिने र त्यसले चीनका लागि गोप्य सूचना संकलनमा सहयोग गर्न सक्ने हुँदा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भन्दै अमेरिकी सांसदहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।

हालसालै टिकटकले भने अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीनभन्दा बाहिर राखिएको र त्यसमा चिनियाँ कानुनको अधीनमा नरहने वताएको थियो ।

गत अक्टोबरमा डेमोक्रयाट तथा रिपब्लिकन सिनेटरहरूले टिकटकले राष्ट्रिय सुरक्षामा पार्न सक्ने खतराबारे गुप्तचर निकायहरूले अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

अमेरिकी प्रयोगकर्ताहरूको डेटा तेस्रो पक्षबाट सञ्चालित एपको प्रयोग गरेर चीनमा पठाइएको छैन भन्ने कुरा सुनिश्चित गर्न टिकटकले एउटा कम्पनीलाई जिम्मेवारी नै दिएको थियो ।

म्युजिकल्लीमाथि अमेरिकी छानविन

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीले केही समय महिनाअघि म्युजिकल्ली एप किन्दा अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुगेको वा नपुगेको विषयमा समीक्षा भइरहेको अन्तराष्ट्रिय समाचार संस्था रोएटर्सले सामाग्री उल्लेख गरेको थियो ।

दुई वर्षअघि बाईटड्यान्स नामक उक्त इन्टरनेट कम्पनीले एक अर्ब डलर तिरेर त्यति बेलाको लोकप्रिय भिडिओ शेअरिङ एप म्युजिकल्ली किनेको थियो ।

यस्तो खरिद विक्रीमा सम्बन्धित अमेरिकी निकायबाट स्वीकृति नलिइएको रोएटर्सको समाचारमा उल्लेख थियो । अमेरिकाले चिनिया प्रविधिका कम्पनीहरुको गतिविधिमाथि शंका गर्दै आएको छ ।

नियामक निकायको समीक्षा

अमेरिकामा वैदेशिक लगानी हेर्ने निकाय सीएफआईयूएसले म्युजिकल्ली स्वामित्व हस्तान्तरणको विषय हेर्न थालेको स्रोतहरूले रोएटर्सको समाचारमा उल्लेख थियो ।

उक्त निकायले गैरअमेरिकी कम्पनीहरूले अमेरिकी कम्पनीको स्वामित्व ग्रहण गर्दा त्यसबाट राष्ट्रिय सुरक्षामा प्रभाव पर्छ कि पर्दैन भनेर समीक्षा गर्ने भनिएको थियो ।

बाईटड्यान्सले म्युजिकल्ली किन्दा प्राप्त गरेको सम्पत्ति के हुन्छ भन्ने विषयमा सीएफआईयूएसको चासो रहेको रोएटर्सले जनाएको छ । बिक्री हुनुअघि उक्त एप प्रत्येक महिना ६ करोड प्रयोगकर्ताले सक्रिय रूपमा चलाउने गरेको उसको दाबी थियो ।

राजनीतिक पूर्वाग्रह

टिकटकले राजनीतिक सन्देशहरूलाई सेन्सर गर्ने गरेको र प्रयोगकर्तासँग सम्बन्धित डेटा उपयुक्त ढङ्गले नराखेको आरोप लागेपछि अमेरिकी नेताहरूले अनुसन्धान हुनुपर्ने माग राखेका थिए ।

टिकटकका सामग्रीमा चीन सरकारले हस्तक्षेप गर्ने गरेको आरोपको उक्त कम्पनीले खण्डन गरेको छ । चीनको चासो हुँदैमा आफूले कुनै पनि सामग्री नमेट्ने दाबी कम्पनीको छ ।

टिकटक अमेरिकी किशोरकिशोरीहरूमा लोकप्रिय छ । अमेरिकी प्रयोगकर्तामध्ये झन्डै ६० प्रतिशत व्यक्ति १६ देखि २४ वर्षका रहेको वताइएको छ ।

टिकटकको अँध्यारो पक्ष

टिकटकमाथि भिडिओ बनाउनका लागि प्रभावित गर्नेहरूले केही बालबालिका र युवाहरूलाई पैसा पठाउन दबाब दिएको आरोप लागेको थियो ।

टिकटकले प्रशंसकहरूलाई डिजिटल उपहार पठाउने सुविधा दिन्छ । त्यस्तो उपहार ६१ अमेरिकी डलरसम्मको मूल्यका रहेको वताइएको थियो ।

बीबीसीको एउटा अनुसन्धानले त्यसरी भिडिओ बनाउन प्रेरित गर्नेहरूले आफ्नो फोन नम्बर दिने वाचा गर्दै प्रशंसकहरूबाट उपहार लिने गरेको पत्ता लगाएको थियो ।

बजारको ठूलो हिस्सा

टिकटक निकै छिटो मौलाएको सामाजिक सञ्जाल सम्बन्धी एप हो, जसका ५० करोड नियमित प्रयोगकर्ता रहेको वताइन्छ । कम्पनीले आफ्नो प्रयोगकर्ता कति छन भन्ने यथार्थ जानकारी भनेको दिएको छैन ।

एप स्टोरमा टिकटक एक अर्बभन्दा बढी पटक डाउनलोड गरिएको अनुमान गरिएको छ । टिकटकमा १५ सेकेण्डसम्मको भिडिओहरू हाल्न मिल्छ । खासगरी अडियोमा स्वर मिलाएर भिडिओ बनाउने र ट्रेण्डमा रहेको संगीतमा नाच्ने अनि भिडिओ बनाउने गरिन्छ ।

कम्पनीका अनुसार टिकटक धेरैजसो १६ देखि २४ वर्ष उमेर समूहका मानिसहरूबीच लोकप्रिय छ । तर एपको नियम विपरित १३ वर्षभन्दा कम उमेरका थुप्रै प्रयोगकर्ता भएको आरोप पनि टिकटकमाथि छ ।

१३ वर्षमुनिका बालबालिकासँग उनीहरूको व्यक्तिगत विवरण अभिभावकको सहमति बिना नै लिएको आरोपमा यसअघि नै उक्त कम्पनीलाई अमेरिकाको नियामक निकायले ५७ लाख डलर जरिवाना तिराइसकेको छ । बेलायती सूचना आयुक्तले पनि उक्त एपले कलिला प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको छ कि छैन भनेर छानबिन सुरु गरेको खुलासा गरेका थिए ।

३ वर्षदेखि हराएका पति फेला पारिन् भारतीयले

भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको थियो । प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको थियो ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो ।

प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए, जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २ सय किलोमिटर टाढा पर्छ ।

प्रहरीले सो जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको थियो र उनी फेला परेका थिए । पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् । तर त्यसबेला प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन ।

भारतमा मात्रै टिकटकका १२ करोड प्रयोगकर्ता रहेको वताइएको थियो । तर टिकटकमा नराम्रा विषयहरुको प्रचार पनि भएको भन्दै आलोचना पनि भएको थियो ।

अश्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्तालाई लिएर तमिलनाडुस्थित एउटा अदालतले गत अप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो । तर एक हप्तापछि उक्त प्रतिबन्ध हटाइएको थियो ।

एपल र गुगलले भारतबाट हटाए टिकटक एप

एपल र गुगलले भारतमा आफ्ना एप स्टोरबाट टिकटक हटाएका छन् । ती कम्पनीहरूले मद्रास उच्च न्यायालयको आदेशको पालना गर्दै सो कदम चालेका थिए ।

अश्लील सामग्री फैलाउन टिकटकको प्रयोग भएको र कम उमेरका प्रयोगकर्ताहरू यौनदुव्र्यवहारको सिकार हुन सक्ने भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो ।

टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले सो आदेश निलम्बन गर्न दर्ता गरेको आवेदनलाई अदालतले खारेज गरिदिएको थियो ।

बाङ्गलादेशले पनि टिकटक प्रतिबन्ध गरिसकेको छ । बालबालिकाबारे अवैध रूपमा सूचना सङ्कलन गरेको अभियोगमा अमेरिकामा टिकटकलाई जरिवाना तिराइएको छ ।

आपत्तिजनक सामग्री नगण्य

टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटडान्सले टिकटकमा नगण्य मात्रामा मात्र अनुपयुक्त सामग्री भएको उल्लेख गरेको छ । सो कम्पनीका अनुसार संसारभरि प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउँछन् । (एजेन्सीहरुको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.