जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन, शिवनाथ पाण्डे अध्यक्ष

  २०७६ पुष १५ गते १८:४०     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरूकाे संगठन जीवन बीमक संघ नेपाल दर्ता भएकाे छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा नयाँ संघ दर्ता भएकाे हाे ।

९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफका सिइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका सिइओ पोषकराज पौडेल र कोषाध्यक्षमा रिलायन्स लाइफका सिइओ प्रविण रमण पराजुली रहेका छन् । कार्य समिति सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, रिलायबल लाइफ इन्स्योरेन्सका सिइओ नारायण बावु लोहनी, ज्योति लाइफका डेपुटी सिइओ प्रकाश विक्रम खत्री, सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल र युनियन लाइफ इन्स्याेरेन्सका सिइओ मनोज कुमार कर्ण रहेका छन् ।

नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरू हावी हुँदै गएपछि जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन भएकाे बीमकहरूकाे भनाइ छ । २ वर्षअघिसम्म १७ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनी थिए । त्यतिबेला नेपाल बीमक संघकाे नेतृत्व जहिले पनि निर्जीवन बीमा कम्पनीबाट चुनिदा जीवन बीमा कम्पनीहरू उक्त संस्थाबाट क्रमशः निस्क्रय बन्दै गएका  थिए । पछिल्लाे २ कार्यकालमा नेपाल बीमक संघकाे कार्यसमितिमा  जीवन बीमा कम्पनीकाे प्रतिनिधित्व शुन्य थियाे ।

पछिल्लाे समय एक पटक १० वटा जीवन बीमा कम्पनी खुलेपछि जीवन बीमा कम्पनीकाे संख्या १९ वटा भएका छन् । निर्जीवन बीमा कम्पनीकाे संख्या २० वटा छ । पुर्नबीमा कम्पनी एउटा छ ।

जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीकाे भूमिका धेरै फरक भएकाे र जीवन बीमा कम्पनीहरूकाे साझा सवालमा मिलेर काम गर्न अलगै संस्था खाेल्नु परेकाे जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘जीवन र निर्जीवन बीमा कम्पनीकाे लागि कानुन एउटै भएपनि, नियामक एउटै भएपनि हामीले गर्ने काम, हामीले लिने दाहित्वमा धेरै फरक छ’ अध्यक्ष पाण्डेले भने ‘निर्जीवन बीमा कम्पनीका समस्या अलग्गै हाेलान्, हाम्रा समस्या अलग्गै हुन्छन् । जीवन बीमाकाे क्षेत्रमा हामीले खेल्नु पर्ने भूमिका पनि धेरै फरक हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.