हेटौडा राजधानी बनाउने नेकपाको निर्णयले सत्तारुढमै विवाद

  २०७६ पुष १५ गते १८:५४     विकासन्युज

काठमाडौं । प्रदेश ३ को राजधानी हेटौडालाई नै बनाउने सत्तारुढ नेकपाको निर्णयले पार्टीभित्रै विवाद बढाएको छ । मकवानपुर, चितवन, धादिङ र काठमाडौ उपत्यकाका केही सांसद पार्टी निर्णयको पक्षमा देखिएका छन् भने काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, रामेछाप र काठमाडौं उपत्यकाका केही सांसद विपक्षमा देखिएका छन् ।

प्रदेशको नामाकरणका विषयमा भने खासै विवाद छैन । तर, राजधानीको विषयमा भने विवाद धेरै देखिएको छ । राजधानी बनाउनको लागि हेटौडामा पूर्वाधार रहेको र सबैतिरको सडक संजालले जोडिने भएकोले उपयुक्त हुने हेटौडा राजधानी बनाउनु पर्छ भन्नेहरुको तर्क छ । तर, हेटौडाभन्दा उपयुक्त स्थान अन्यत्र पनि भएको भन्ने विपक्षमा रहेका सांसदको मत छ ।

यसअघि मकवानपुर, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुली, नुवाकोट, काभ्रे जस्ता जिल्लामा राजधानी राख्नुपर्ने माग भएपनि प्रदेशसभाले राजधानी तोकेको छैन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरिसकेको छ । केन्द्रमा र प्रदेश ३ मा पनि बहुमतमा रहेको नेकपाले पार्टी संयन्त्रबाटै निर्णय गरेकोले यो निर्णय परिवर्तन हुने सम्भावना भने कम देखिएको छ ।

मकवानपुरका सांसद मुनु सिग्देल पार्टीले निर्णय गरिसकेपछि यसमा विवाद गरिरहनु आवश्यक नहुने वताउँछिन् ।

‘पार्टीले निर्णय गरिसकेको छ, पार्टीले नै पठाएका व्यक्तिहरु सांसद हुनुहुन्छ, त्यसैले नेकपाले गरेको निर्णय परिवर्तन हुदैन, राजधानी हेटौडा नै कायम रहन्छ,’ सिग्देलले भनिन् ।

उपत्यकाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाक्य भने प्रदेशको राजधानी र नाम तय गर्ने अधिकार प्रदेशसभालाई भएकोले पार्टी संयन्त्रले निर्णय लाद्न नहुने वताउँछन् ।

‘प्रदेशसभाले निर्णय गर्ने अधिकार नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीलाई र प्रदेशसभा दललाई निर्देशन दियो, यो प्रक्रिया ठीक भएन, प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै हुनुपर्छ,’ सांसद शाक्यले भने ।

निर्माणाधिन फास्ट ट्रयाक, धरान–चतरा राजमार्ग, हेटौंडा–काठमाडौं सुरुङ मार्गका कारण हेटौंडा सबैतिरबाट जोडिने भएकाले पनि हेटौंडा नै राजधानीको लागि उपयुक्त हुने केही सांसदको तर्क छ । सुरक्षा, भौगोलिक, भौतिक संरचना तथा पर्यावरणीय अवस्थाको कारणले पनि हेटौडाको विकल्प नभएको उनीहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.