सहुलियत व्याजमा ऋण दिने सरकारको घोषणा, बैंकले ऋण नदिएपछि विदेश फर्कने तरखरमा युवा

  २०७६ पुष १५ गते १५:४५     सुनिता पुडासैनी

काठमाडौं । सरकारले व्याज अनुदान लिएर कार्यान्वयनमा ल्याएको सहुलितपूर्ण कर्जा कार्यक्रमबाट लक्षितवर्गले फाइदा लिन पाएका छैनन् । बैंक वित्तीय संस्थाले कर्जा दिन आनाकानी गरेका कारण कार्यक्रमको प्रभावकारितामा नै प्रश्न उठेको छ ।

विदेशमा काम गरेर फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन भन्दै सरकारले ५ प्रतिशत व्याज अनुदान लिने गरी सहुलियतपूर्ण कर्जा कार्यक्रम संचालन गरिरहेको छ । तर, धेरै बैंक धाउँदा पनि ऋण नपाएपछि विदेशबाट फर्केका युवा पुनः विदेश जाने तयारीमा लागेका हुन ।

बैंकबाट सहुलियतपूर्ण कर्जा लिएर व्यवसायी बन्न चाहनेमध्येका एक हुन् नुवाकोटका मनोज रेग्मी । उनी सन् २०१७ मा विदेशबाट नेपाल फर्केका थिए । सरकारले व्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जा कार्यक्रम संचालन गरेको थाहा पाएपछि ६ महिना अघि निवेदन दिएको भएपनि आफूले ऋण नपाएको रेग्मीले बताए ।

‘नेपालमा जागिर नपाएपछि साउदीमा पुगेर काम गरेँ, सरकारले व्याज अनुदान लिएर कर्जा लिन पाइने र त्यस्तो कर्जा लगानी गरेर स्वरोजगार बन्न सकिने भन्ने सुनेपछि बैंकमा निवदेन दिएँ, तर अहिलेसम्म ऋण पाइएको छैन, बैंकले दिने जस्तो संकेत देखाएन,’ रेग्मीले भने ।

उनी गृहजिल्ला नुवाकोटमा भैसी पालन गरेर काठमाडौंमा दुध ढुवानी गर्ने सोचमा थिए । तर, ऋण पाएनन् । भैसी पालनको लागि चाहिने पुँजी उनीसँग थिएन । त्यसैले उनी अहिले भाडाको गाडी चलाएर गुजारा चलाउँदै छन् ।

‘विदेशमा काम गरेर फर्केकाहरुलाई ऋण दिने कार्यक्रम संचालनमा छ भन्ने सुनेर भैसी पालन गर्ने सोँचमा पुगेको थिएँ, ऋण पाइनँ, यहाँ राम्रो काम पनि पाइदैन, त्यसैले विदेश नै जाने तयारीमा छु, भिसा नआउन्जेलका लागि गाडी चलाएर गुजारा गर्दैछु,’ रेग्मीले थपे ।

रेग्मीले सरकारको पनि लगानी रहेको कृषि विकास बैंक र एनएमबी बैंकमा निवेदन दिएका र पटकपटक पहल गरे पनि ऋण नपाएको वताए । रेग्मीले १५ लाख रुपैयाँ ऋण लिन चाहेका थिए ।

ललितपुरको टिकाथलीका संजय केसी पनि यसैगरी ऋण झिकेर स्वरोजगार बन्ने सोच पाल्ने अर्का व्यक्ति हुन् । वैदेशिक रोजगारीको शिलशिलामा लामो समय कतारमा विताएका केसी बैंकबाट १० लाख रुपैयाँ ऋण झिकेर कपडा व्यापार गर्ने योजनामा थिए ।

‘लामो समय विदेशमा बसियो, अब नेपालमा नै केही गरौं भन्ने सोँच आएको थियो, घर परिवारबाट पनि नेपालमा नै केही गर न भन्ने दबाब थियो, सरकारले विनाधितो र व्याज अनुदान दिएर ऋण पाइने व्यवस्था मिलाएको छ भन्ने सुनेँ, यसैले १० लाख रुपैयाँ ऋण झिकेर कपडा व्यापार गर्छु भनेको पाइनँ,’ केसीले गुनासो गरे ।

उनले सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्यको केन्द्रिय कार्यालय निवेदन दिएका थिए । तर, बैंकले सहुलियतपूर्ण कर्जाका लागि नजिकको शाखामा सम्पर्क गर्न भनियो ।

‘नजिकको शाखाबाट ऋण पाइन्छ भनेर केन्द्रीय कार्यालयबाट फर्काए, नजिकको शाखामा जादा कहिले सम्बन्धित कर्मचारी छैनन् भन्थे, कहिले के भनेर टार्थे, आजित भएर अब फेरि विदेश जानुपर्ला भन्ने तयारीमा छु,’ केसीले भने ।

केसीले आफूसहित ४ जनाले विनाधितो ऋणका लागि निवेदन दिएको भएपनि कसैले पनि ऋण नपाएको गु्नासो गरे ।

ओखलढुगांका लाक्पा शेर्पा अनुभव पनि उस्तै छ । उनले वैदेशिक रोजगारीबाट फर्किदा नै काठमाडौंमा सहुलियत कर्जाको फारम भरेर गएका थिए । तर, उनले फाराम भरेको लामो समय भएपनि उनले पनि कर्जा पाएनन् । यसरी निवेदन दिनेमध्ये धेरै कर्जा नपाएको उनीहरुको भनाइ छ ।

सरकारले ल्याएको विनाधितो कर्जा पाइने नीतिअनुसार विदेशमा काम गरेर फर्केका १८ हजार ७ सय ६७ जना आवेदन दिए छन् । यसमध्ये १७ हजार ७ सय ३७ पुरुष र ८ सय ९३ महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.