काठमाडौं-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै, लाखौँ नेपाली लाभान्वित हुने

  २०७६ पुष १४ गते १२:१२     विकासन्युज

क्यानबेरा । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।

अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका उनले बताए ।

अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले जानकारी दिएका छन् ।

अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउँछन् । साथै, सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.