अपराधमा विदेशी नागरिकको संलग्नता बढ्दो, वर्कपर्मिटमा काम गर्नेको तथ्यांक छैन राज्यसँग

  २०७६ पुष १३ गते १४:३९     सुनिता पुडासैनी

सांकेतिक फोटो

काठमाडौं । पछिल्लो समय अपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्नता बढ्दो क्रममा छ । नेपालमा पर्यटक भीसामा आउने र यहीँ बसेर गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकको संख्या बढ्दो क्रममा देखिएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष गैरकानुनी कार्यमा संलग्न ८ सय ५७ जना विदेशी नागरिक पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३७ जना र आर्थिक वर्ष २०७३/७४ मा ५ सय ५५ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

विदेशी नागरिकले नेपालमा आएर गैरकानुनी कार्य गर्ने गरेपनि आधिकारिक रुपमा कति विदेशीले नेपालमा लामो समय बस्छन् भन्ने यकिन तथ्यांक राज्यको कुनै पनि निकायसँग छैन । केही विदेशी नागरिक नेपालमा लुकेर काम गर्ने तथा गैरकानुनी काममा समेत संलग्न हुने गरेको पाइएको छ ।

विदेशी नागरिकले वर्क पर्मिट नलिई नेपालमा कुनै पनि प्रकारको काम वा पेशा व्यवसाय गर्न पाउदैनन् । नेपालमा काम गर्नको लागि वर्क पर्मिट दिने जिम्मेवारी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पाएको छ ।

तर, विभागसँग पनि अहिले कति विदेशी नागरिकले वर्क पर्मिट पाएर काम गरिरहेका छन् भन्ने छैन । कसैले श्रम स्वीकृति माग्न आए दिने गरेको विभाग अहिले कति विदेशी नागरिक काम गरिरहेका छन् भन्ने तथ्यांक दिन भने सक्दैन ।

विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्याय कुन वर्ष कति विदेशीले श्रम स्वीकृति (वर्क पर्मिट) पाए भन्ने तथ्यांक मात्रै रहेको बताउँछन् ।

‘कुन वर्ष कति विदेशीले वर्क पर्मिट प्रश्नमा सूचना अधिकारी उपाध्यायले भने ।

विभागका अनुसार गत मंसिर मसान्तसम्ममा १ हजार ६० जना विदेशी नागरिकले वर्क पर्मिट लिएका छन् । यो संख्या नयाँ वर्क पर्मिट लिने र नवीकरण गराउने सम्मको हो ।

गत साउनमा नयाँ र नवीकरण गरी वर्क पर्मिट लिने विदेशीको संख्या २ सय ४१ छ । यस्तै भदौमा ३ सय ४२ जना, असोजमा १ सय ५८ जना, कात्तिकमा १ सय ७१ जना र मंसिरमा १ सय ४८ जना विदेशीले नयाँ वर्क पर्मिट तथा नवीकरण गराएका छन् ।

अहिले नेपालमा कार्यरत विदेशी नागरिकको संख्या यति नै हो त भन्ने प्रश्नमा विभागका अधिकारीहरु जवाफ दिन सक्दैनन् । उनीहरु आफै ‘वर्क पर्मिटट लिएकाहरु केही उनीहरुकै देश गइसके होलान्, केही काम गर्दै होलान्, वा अन्य अवस्था पनि हुन सक्छ’ भन्ने विभागका अधिकारीहरुको भनाइ छ ।

बढ्दै अपराधको ग्राफ

नेपालमा पर्यटक भीसामा आउने र गैरकानुनी कार्यमा संलग्न हुने विदेशीको संख्या बढ्दो छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापाका अनुसार विदेशी नागरिकहरु अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसार जस्ता गैरकानुनी कार्यमा संलग्नता बढ्दो छ ।

यस्तो गैरकानुनी कार्यमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिकालगायत देशका नागरिकको संलग्नता बढी देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले अघिल्लो साता मात्रै शंकास्पद गतिविधि गरेको अभियोगमा एकैपटक १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भीसामा नेपाल आएर लुकेर बस्ने तथा वर्क पर्मिट लिएर बसेकाहरु पनि गैरकानुनी क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.