हेलिकप्टर जसरी उड्यो मोटरसाइकल, मूल्य ६ कराेड भन्दा बढी (भिडियोसहित)

  २०७६ पुष १२ गते १२:१२     विकासन्युज

काठमाडौं । त्यो समयको कल्पना गर्नुहोस् जब तपाईं एउटा बटनको सहारामा आफ्नो मोटरसाइकललाई हावामा उडाउँदै गन्तव्य सम्म पुग्नुहुन्छ । सडक जाममा परिएको वेला त यस्तो कल्पना झन् कसलाई पो नआउला र ! तर वास्तविक रुपमै त्यस्तो कल्पनालाई साकार तुल्याएको छ फ्रान्सको एउटा कस्टम अटोमोवाइल कम्पनीले, जसको नाम हो ‘ल्याजरेथ’ ।

यहि कम्पनीले निर्माण गरेको एउटा मोटरसाइकल अन्य मोटरसाइकल सरह गुड्न त सक्छ नै साथै हेलिकप्टर जसरी आकासमा उड्न पनि सक्छ । एलएमभि ४९६ नाम दिइएको यस मोटरसाइकलाई कम्पनीले केहि महिना अघि सफलतापूर्वक परिक्षण पनि गरेको थियो ।

यस्ता छन् विशेषता
यस मोटरसाइकलमा चार वटा चक्काहरु रहेका छन् भने मसेराती कारको ५२०० सीसी भि८ इञ्जिन समावेश गरिएको छ । मसेराती आफ्नो अल्ट्रा लक्जरियसका साथै रफ्तार कारहरुका लागि प्रख्यात मानिन्छ । ल्याजरेथ एलएमभि ४९६ को सवै टायरहरुको बिचमा ९६००० आरपीएमको जेट टर्वाइन जडान गरिएको छ ।

यस मोटरसाइकलको सवैभन्दा राम्रो पक्ष भनेको यो राइड मोडबाट फ्लाइ मोडमा प्रवेश गर्न केवल ६० सेकेण्डको मात्र समय लाग्छ । कम्पनीले यसको परिक्षणको समयमा यसलाई एक मिटरको उचाइसम्म उडाएर देखाएको थियो ।

यस मोटरसाइकलको तौल जम्मा १४० के.जी मात्र रहेको छ भने फ्लाइट मोडमा चाहिँ यसले १२० के.जी सम्मको तौल लिएर उड्न सक्ने कम्पनीकाे  दावी छ । पोलिष्टर र कार्वन फाइवरको चेसिसमा निर्माण भएको हुनाले पनि यस मोटरसाइकलको तौल तुलनात्मक रुपमा कम रहेको हो ।

यसरी उड्छ मोटरसाइकल
यस मोटरसाइकलमा जडित हाइड्रोलिक एक्यूएटर्सले चारओटा व्हिल्सलाई माथितर्फ मोडिदिन्छ । त्यसपछि सम्पूर्ण चक्काहरुमा भएको टर्बाइन चालु भएर मोटरसाइकललाई माथितर्फ धकेलिदिन्छ र यो उड्न थाल्छ ।

चेसिसको बिच भागमा समावेश गरिएका थप दुई जेटले मोटरसाइकललाई माथि उड्न थप वल प्रदान गर्छ जसका कारण यसले बढि वजन लिएर पनि उड्न सक्छ ।

कति पर्छ मूल्य ?
कम्पनीले ल्याजरेथ एलएमभि ४९६ को मूल्य ५ लाख ६० हजार अमेरिकन डलर तोकेको छ, नेपाली रूपैयाँमा परिवर्तन गर्दा यसकाे मूल्य ६ कराेड रूपैयाँ भन्दा बढी पर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.