डिजिटल नेपाल निर्माण गर्न सबैले एकजुट हुनुपर्छ : नवराज कुँवर

  २०७६ पुष ११ गते १८:४२     विकासन्युज

यो समय सूचना प्रविधिको हो । बालकदेखि बृद्धसम्म सूचना प्रविधिमै रमाउन चाहन्छन् । पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । सरकारले पनि डिजिटल नेपालको अवधारणा अघि सारेको छ । नेपालमा इन्टरनेटदेखि सफ्टवेरसम्म सम्बन्ध राख्ने कम्पूटर एशोसीएसन अफ नेपाल पनि आम जनमानसलाई प्रविधिमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।  हालै कम्पूटर एशोसीएसन अफ नेपालको नेतृत्व नवराज कुँवरले पाएका छन् । उनै कुवँरसँग नेपालको सूचना प्रविधिको अवस्था, सूचना प्रविधिको विकासमा उनका आगामी योजनाका बारेमा  विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी :
क्यान महासंघ सूचना प्रविधिको व्यवसाय प्रवर्द्दनका लागि कसरी अगाडि बढी रहेको छ ?
व्यवसाय प्रवद्र्धन भन्दापनि हामीले समग्र प्रविधि बजारको हितकालागि काम गर्ने हो । सो कामकालागि आवश्यक रहेको ठाउँमा हामीले काम गर्दै आएका छौँ । विषेश गरेर हाम्रो उदेश्य भनेको ग्रामीण क्षेत्रमा काम गर्ने हो । अहिले ग्रामिण क्षेत्र भनेको डिजिटल रुपमा काम गर्न आवश्यक रहेको क्षेत्रपनि हो । क्यान महासंघले सरकारका लक्ष्य तथा योजनमा सघाउँदै आएको छ । मुख्यतः आवश्यक रहेको ठाउँका विभिन्न किसिमका कार्यक्रमहरु गर्दै हामीले अघि बढी रहेका छौँ । यस वर्ष हामीले उपत्यका बाहिरबाट कामको थालनी गर्ने लक्ष्य लिएका छौँ । सोही लक्ष्यअनुसार मुलुकका २६ ठाउँमा विविध कार्यक्रमहरु हुनेछन् ।
प्रविधिको साक्षरताका लागि के कस्ता कार्यक्रमहरुको आयोजना गर्नु भएको छ ?
अहिलेको युगमा नयाँ पुस्तामा इन्टरनेटको ज्ञान राम्रो छ । सोही कारण नयाँ पुस्तामा भन्दा अघिल्ला पुस्ताकालागि हामीले कार्यकम तय गर्नु पर्छ । अघिल्ला पिढी तथा पछिल्ला पिढीलाई मिल्ने हिसाबले हामीले इन्टरनेटका कार्यक्रम अघि बढाइ रहेका छौँ ।
कार्यक्रमको तय कसरी गर्नु भएको छ,कार्यक्रम सञ्चालनका लागि सरकारसँग समन्वय गर्नु भएको छकि छैन ?
हामीले कार्यक्रम स्थानीयतह,जिल्ला र प्रदेश अनुसार तय भइरहेको छ । जहाँ जस्तो आवश्यकता पर्छ हामी सोही अनुसार काम गर्न तयार छौँ । सरकारसँग समन्वय गर्ने कि नगर्ने भन्ने कुरा अवस्था हेरेर हुन्छ । हामी कतिपय अवस्थामा सरकारी तहसँग मिलेर काम गर्नेछौं भने कतिपय अवस्थामा हामी एक्लैपनि काम गर्नेछौं । विभिन्न आवश्यकता र अवस्थालाई नियाल्दै हामी अगाडि बढ्छौं । हामीलाई जरुरी पर्यो भनेपनि स्थानिय तह, प्रदेश सरकार र संिघय सरकारसँग पनि सहकार्य गरेर काम गर्छौं ।
क्यान महासंघलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन तपाईका आगामी योजना तथा रणनितीहरु के कस्ता छन् ?
नेपालको सूचना प्रविधिको विश्व बजार भन्दा निकै पछाडि छ । विश्व बजारले ४० वर्ष पहिले प्रयोग गरि सकेका सूचना प्रविधि हामी अहिले प्रयोग गर्दैछौं । हामी भने अहिले ती सूचना प्रविधिमा हामी रमि रहेका छौं । सूचना प्रविधिको विकासमा निजी क्षेत्रबाट पनि धेरै विकासका प्रयासहरु भएका छन् ।  निजी क्षेत्रले राम्रा सफ्टवेरको निमार्ण गरेर विदेशमा निर्यात गरेको उदाहरण पनि हामी कहाँ छन् । पछिल्लो समय नेपाल सरकारले सूचना तथा संचार निती २०७२ लिएर आएको छ । त्यसमा भएका राम्रा कुराहरु नै कार्यान्वयन हुन नसकेको अवस्था छ ।
सरकारी नितीमा रहेका राम्रा कुराहरु कार्यन्वयन भएमा सबैलाई फाईदा पुग्छ । हामीले सोही नितीमा रहेका कुरालाई कार्यान्वयन गराउँनुपर्छ भन्ने पक्षमा आवाज उठाउँदै आएका छौँ । सरकारको डिजिटल नेपाल सार्वजनिक निजी साझेदारीमा गर्ने योजना बनाएको छ । त्यसकालागि क्यान महासंघ सहयोगी हुने देखिन्छ । सरकारको योजना र हामीले गर्दै आएको काममा निकै हदसम्म समानता रहेकोे पाईन्छ । सोही कारण पनि सरकालाई हामी सहयोगीसिद्ध हुने कुरामा दुइ मत नहोला ।
तपाईको कार्यकालमा इन्टरनेटको विकासका लागि के गर्नु हुन्छ ?
देशको ग्रामिण क्षेत्रमा इन्टरनेको पूर्वाधार नै पुगि सकेको छैन । इन्टरनेको पूवार्धारको विस्तार गर्ने काम नेपाल सरकारको हो । हामीले सरकारले पूवार्धार विस्तार गर्नुपर्छ भन्दै आएका छौँ । इन्टरनेटको विषयमा छुटाउनै नहुने कुरा भनेको नेपालको इन्टरनेट शुल्क महङ्गो छ । सरकारका नितीमा केही सुधार भएको अवस्थामा इन्टरनेट शुल्कमा हेरफेर हुने हाम्रो अनुमान छ ।
 मुख्यतः मन्त्रालयमा नै एक किसिमको समन्वयको वातावरण छैन । सर्वप्रथम त सरकारी तहमा एक अर्काबीच राम्रो समन्वय हुन आवश्यक छ । सरकारले इन्टरनेटको शुल्कको बारेमा २०७४ सालको मन्त्री परिषद्बाट निर्णय गरेको थियो । त्यसलाई खरिदमा लाग्ने १० प्रतिशत ट्याक्सबाट ५ प्रतिशतमा ल्याएको कुरा छिटो भन्दा छिटो कार्यान्वयन गराउन आवश्यक छ ।
फागुनमा क्यान महासंघले इन्फोटेक मेलाको आयोजना गर्दैछ । यो पटक ग्राहकले नयाँ कुरा के पाउँछन् ?
प्रविधि भनेको आफैमा नयाँ कुरा हो । सोही कारण क्यान इन्फोटेक मेलामा प्रविधिका अन्य समय जस्तै नयाँ प्रविधिको लाभ ग्राहकहरुले उठाउँन पाउने छन् । हामीले नेपाली विद्यार्थीद्धारा बनाएको सफ्टवेरलाई क्यान इन्फोटक मेलामा प्राथमिकता दिने छौँ । हाम्रै देशमा रहेका विद्यार्थीले प्रविधिको क्षेत्रमा गरेको मेहनत सबै समक्ष पुर्याउने हाम्रो उदेश्य रहेको छ ।
देशमा प्रविधिको क्षेत्रमा काम गर्नेहरुको अवस्था कस्तो छ ?
प्रविधिमार्फत काम गर्नेहरु पछिल्लो समय बढ्दै गइरहेका छन् । दिनैपिच्छे तिनीहरुको संख्या पनि बढ्दै छ । देशभर प्रविधिकै क्षेत्रमै कतिले काम गर्छन् त्यसको भने एकिन तथ्याकं अहिलेसम्म राखेको छैन । प्रष्ट रुपमा भन्दा देशको सबैभन्दा धेरै रोजगार सिर्जना गरिरहेको क्षेत्र भनेको प्रविधि हो । साथै, प्रविधिमा रोजगार गर्न चाहनेलाई राम्रो वातावरण छ ।
क्यान इन्फोटेक जनचेतना वृद्धीका लागि कतिको उपयोगी छ ?
मेलामा कतिपय कुराहरु अुनभव गर्नका लागि सहज हुन्छ भने कतिपय कुरा आँखाले देख्न पाउँदा नै राम्रो हुन्छ । डिजिटल नेपाल फेमवर्कमा ई हाटबजार कन्सेप्ट छ क्यान इन्फोटेकलाई ई हाटबजार को रुपमा पनि लिन सकिन्छ । सबै सफ्टवेर एकै ठाउँमा देखिने भएकाले प्रविधिमा विज्ञ,अनविज्ञ सबैका लागि प्रविधि मेला उपयोगी हुनेछ ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
प्रविधिको नकारात्मक र सकारात्मक दुई पाटा हुन्छन् यसलाई सबैले बुझ्न आवश्यक हुन्छ । अर्को, सरकारी तहबाट प्रविधि क्षेत्रलाई सुरक्षित बनाउन पहल गर्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.