चीनको यूनान प्रान्त नेपालमा लगानी गर्न ईच्छुक

  २०७६ पुष ११ गते १६:१९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चिनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरो को नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो।

उक्त भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालमा औषधि उद्योगका क्षेत्रमा रहेको सम्भाव्यता अध्ययन गर्न भ्रमण भएको स्पष्ट पारिएको थियो ।

बैठकमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रधानले नेपालमा यससमयमा लगानीका लागि सबैभन्दा उपयुक्त समय भएकाले चिनियाँहरूलाई लगानीका लागि आग्रह गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको प्रधानले पाए । दुवै देशका सम्माननीय राष्ट्रपतिज्यूहरूबाट भएको आपसी औपचारिक भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप मजवुद हुनाको साथै लगानीको वातावरणमा समेत सहयोग पुगेको उनले बताए ।

प्रतिनिधिमण्डलका नेता एवं चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङले नेपालको विकासमा सहयोग गर्न आतुर रहेको बताए । यस पटकको भ्रमण नेपालमा औषधि उद्योग क्षेत्रमा सहकार्यका सम्भाव्यता अध्ययन गर्न भएको स्पष्ट पार्दै फर्केपछि त्यस विषयमा थप छलफल गरी परियोजना ल्याउने धारणा चिरोङले राखे ।

भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडा, पूर्व कार्यकारिणी समिति सदस्य प्रदीपमान वैद्य, महासंघको सदस्य संघ संस्था प्रतिनिधिहरू, चीनसंग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.