इलेक्ट्रिक सेल्टोस एसयुभिको उत्पादन शुरु गर्दै किया, फुल चार्जमा दिनसक्छ ४०० किलोमिटरको रेन्ज

  २०७६ पुष १० गते ११:०६     विकासन्युज

काठमाडौं । किया मोटर्सले ‘अल–इलेक्ट्रिक सेल्टोस एसयुभि’ को उत्पादन शुरु गर्नेभएको छ । सेल्टोस एसयुभि इभि को निर्माण कार्य अघि बढिसकेको र अब केही महिना भित्रमै यो मोडेललाई अनावरण गर्ने तयारी चलिरहेको कम्पनीले जनाएको छ ।

सेल्टोस इभिमा स्ट्याण्डर्ड सेल्टोसमा प्रयोग भएकै सस्पेन्सन, ब्रेक, बडि प्यानल्स, इन्टेरिअर लगायतहरु प्रयोग गरिनेछन् । तर स्ट्याण्डर्ड सेल्टोस भन्दा केही फरक देखाउन निरो इभि र सोल इभिमा जस्तै गरी यसको स्टाइलिङ्गमा थोरै परिमार्जन भने गरिनेछ ।

सेल्टोस इभिमा किया सोल इभि र हुण्डाई कोना इभिमा भएकै पावरट्रेन समावेश हुनेछ । भारतीय अटो मिडियाहरुले लगाएको अनुमान अनुसार यस कारमा २०४ एचपी इलेक्ट्रिक मोटर र ६४ केडब्लूएचको ब्याट्री जडित हुनसक्छ । पावर उस्तै प्रदान गर्ने भएतापनि सेल्टोस इभिले सोल र कोनाको तुलनामा केही थोरै रेन्ज प्रदान गर्नेछ, कारण हो यसको ठूलो डाइमेन्सन र बढी तौल ।

फुल चार्जमा सेल्टोस इभिले ४०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ भनेर समेत अनुमान गरिएको छ । कियाले उक्त मोडेलको डेलिभरी पहिले कोरियन मार्केटमा गर्नेछ र केही पछि मात्र यसलाई भारत लगायतका देशहरुमा पठाउने छ ।

कियाको नेपालका लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले केही दिन अघिमात्र शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोक्दै सेल्टोस एसयुभि (स्ट्याण्डर्ड) लाई नेपाली बजारमा भित्र्याएको थियो ।

स्मरण रहोस्, किया मोटर्स कोरियाको दोस्रो ठूलो अटोमोवाइल उत्पादन कम्पनी हो जसले सन् २०१५ मा मात्रै आफ्नो ३३ लाख उत्पादनको बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.