आयातित ढाकाले बजार लिएपछि पाल्पाली ढाका उद्योग धरापमा

  २०७६ पुष ९ गते १३:४३     सुशीला रेग्मी

बेझाड । पाल्पाली ढाकाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा राम्रो ख्याति कमाएको छ । हातले बुनेका असली पाल्पाकै ढाका कपडाका उत्पादन ग्राहकको रोजाइमा पर्छ । तर पछिल्लो समय पाल्पामा ढाका उत्पादन व्यवसाय धरापमा परेको छ ।

तानबाट उत्पादन गरिएका असली ढाका खरिदका लागि आन्तरिक मात्र नभई विदेशी पर्यटकको आकर्षण रहेका बखत बाहिरबाट मेशिनमा उत्पादित ढाका जिल्लामा भित्रन थालेपछि यहाँको ढाकाको व्यवसाय सङ्कटमा आएको सम्बद्ध व्यवसायी बताउँछन् ।

जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले यहाँ उत्पादन हुने ढाकाका सामग्री उपहारका रुपमा लैजाने गर्छन् । कुनै समय पाल्पामा ३५/४० वटा ढाका उद्योग सञ्चालनमा रहेका थिए । ती उद्योगमा करिब छ हजारले रोजगारी पाएका थिए । तर अहिले मुस्किलले आठ/नौ वटा ढाका उद्योग सञ्चालनमा छन् । त्यसमा करिब २५० जनाले मात्र रोजगार पाएका छन् ।

हाते तानबाट उत्पादन गरिने ढाका गुणस्तरीयताको हिसाबले राम्रो मानिने गरिन्छ । बाहिरबाट तयारी ढाका जिल्लामा आउन थालेपछि पाल्पाली ढाका उद्योग सङ्कटमा पर्दै गएका हुन् ।

विसं २०१५ मा स्व. गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि यसको पाल्पामा शुरुआत भएको थियो । महर्जनका श्रीमती पूर्णमाया महर्जनका अनुसार त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो ।

छिटो बुनिने हुँदा पछिल्लो समय पाल्पाली ढाका हातेतानभन्दा पनि मेशिनबाट चल्ने जेकार्ड हाते तानमा बुन्ने गरिन्छ । विसं २०१५ मा तानसेनमा हाते तान शुरु गरे पनि विस्तारै यसको मेहनतअनुसारको आम्दानी हुन छाडेपछि जेकार्डबाट बुन्न थालिएको महर्जनले बताए ।

“यहाँ उत्पादन गरिएको ढाका ३६ जिल्लामा माग भई पठाइयो, कमाई राम्रै भइरहेको थियो, अहिले बाहिरबाट आयातित ढाकाले गर्दा यहाँको उत्पादन कम हुन थालेको छ, तैपनि उद्योग बन्द हुन भने दिने छैन”, उनले भने ।

पाल्पा जिल्लाको राम्रो पहिचान बोकेको ढाका हिजोआज उत्पादन कम हुँदा उद्योग नै सङ्कटमा पर्न थालेपछि रोजगारी नै बन्द हुनेमा धेरैको चिन्ता छ भने अर्कोतर्फ जिल्लाकै पहिचान मेटिने चिन्ताले पिरोलेको छ ।

पाल्पाको पहिचान झल्कने ढाका कपडा उद्योगलाई बचाइराख्न प्रदेश सरकारसँग समन्वय भइरहेको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताए । “जिल्लाको राम्रो पहिचान बोकेको ढाका स्वदेशमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा प्रख्यात छ, यसको संरक्षणमा उद्योग वाणिज्य सङ्घ लाग्नेछ, ढाकाको पहिचान मेटिन दिने छैनौ” उनले भने ।

पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कोशेली तथा मायाको चिनोका रुपमा ढाका कपडा, ढाका कपडाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ ।

यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले पनि खोजीखोजी ढाका कपडा तथा यसबाट उत्पादित सामग्री लैजाने गर्छन् । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको अभिलेखमा १९ वटा ढाका उद्योग दर्ता भए पनि हाल मुस्किलले आठ÷नौ वटा उद्योग सञ्चालनमा छन् ।

देश तथा विदेशमा प्रख्याति कमाएको ढाका र करुवाले जिल्लाको पहिचान बढाएको छ । पाल्पा नाम सुन्नेबित्तिकै जो कसैलाई पनि ढाका र करुवाको स्मरण हुने गर्दछ । जिल्लाकै गौरव र विकासमा ठूलो टेवा पु¥याएको छ ढाका र करुवाले । ढाका र करुवाकै कारण यहाँ दिनहुँ थुप्रै पर्यटक भित्रने गर्दछन् । यहीँ ढाका कपडा र करुवाकै कारण पाल्पाको देश तथा विदेशमा प्रख्याति बढ्दै गएको छ ।

यहाँका महिलाको आयस्रोतका माध्यम नै ढाका पसल बनेको थियो । ढाका कपडाको व्यापारबाट जिल्लाका हजारौँ मानिसलाई रोजगारीको गर्ने अवसर मिलेका बखत बाहिरबाट सामान भित्रन थालेपछि रोजगारी नै खोसिन थालेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्याउन नसके लोप हुनेमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् ।

तानबाट ढाका कपडा बुनेर यहाँका धेरै महिला स्वरोजगार बने । घरखर्च चलाउन छोराछोरीलाई पढाउन आर्थिक अभाव झेल्दै आएका जिल्लाका ग्रामीण भेगका महिलाका लागि पाल्पाली ढाका कपडा बुन्ने एउटा राम्रो रोजीरोटीको माध्यम भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा राज्यले विशेष ध्यान पुर्याउनुपर्ने माग स्थानीयवासीको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.