‘२५० ड्युक’ र ‘२५० एनके’ मा कसको पल्ला भारी ? भिन्नता चाहिँ यस्ता छन्

  २०७६ पुष ८ गते ९:३४     विकासन्युज

काठमाडाैं । हाल नेपाली बजारमा २५० सीसी मोटरसाइकल सेग्मेन्टमा आफूलाई अब्बल तुल्याउन धेरै मोटरसाइकलहरुले प्रतिष्पर्धा गरिरहेको पाइन्छ । तर पनि पर्फमेन्स ओरियन्टेड मोटरसाइकलको उपनाम पाएका दुई मोटरसाइकल ‘केटिएम २५० ड्युक’ र ‘सिएफ मोटो २५० एनके’ ले भने आफ्नो सेग्मेन्टमा छुट्टै पहिचान बनाएका छन् । एग्रेशिभ लुक्स भएका कारणले नै यी प्रिमियम मोटरसाइकलहरु विशेषगरी युवा पुस्ताका माझ चर्चित रहेको छ भन्दा फरक पर्दैन ।
आज हामी भने यी दुवै बाइकहरुका विशेषता र साथै यिनीहरुका बीच रहेका विभिन्न भिन्नताहरुका वारेमा चर्चा गर्नेछौं जसबाट तपाईंलाई ती दुईमध्ये कुनै एक चयन गर्नुपर्ने अवस्थामा पक्कै सहयोग पुग्नेछ ।

इञ्जिन

२५० ड्युकमा २४९.२ सीसी सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले २७ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । २५० एनकेमा भने २४८.८ सीसी सिङ्गल सिलिण्डर इञ्जिन समावेश गरिएको छ र यस इञ्जिनले ३० बीएचपीको पावर र २४ एनएमको टर्क उत्पादन गर्दछ । यी दुवै बाइकहरुमा ६–स्पिड गियरबक्स दिइएको छ ।

डाइमेन्सन

२५० ड्युकको सिट हाइट ८३० मिलिमिटरको छ भने २५० एनकेको चाहिँ ७९५ मिलिमिटरको रहेको छ । त्यसैगरी २५० ड्युकको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने २५० एनकेको चाहिँ १५० मिलिमिटर छ । २५० ड्युकको कर्ब वेट १४९ के.जी. छ भने २५० एनकेको चाहिँ १५१ के.जी. रहेको छ । त्यसैगरी २५० ड्युकको फ्युल ट्याङ्क क्यापासिटी १३.४ लिटरको छ भने २५० एनकेको चाहिँ १२.५ लिटरको रहेको छ ।

ब्रेक र सस्पेन्सन

उपरोक्त दुवै मोडेलहरुका दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने डुअल–च्यानल एबीएस पनि दुवै मोटरसाइकलमा समावेश छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा दुवै बाइकमा अगाडितर्फ अपसाइड डाउनफर्क र पछाडितर्फ भने मोनोशक जडान गरिएको छ ।

टप स्पिड र माइलेज

दुवै मोटरसाइकलको इञ्जिन क्षमता एउटै भएको हुनाले दुवैले लगभग उस्तै टप स्पिड र माइलेज प्रदान गर्दछन् । २५० ड्युकले १५० केएमपीएच प्लसको टप स्पिड प्रदान गर्दछ भनी केटिएमले दावी गरेको छ भने २५० एनकेले चाहिँ १४५ केएमपीएच प्लसको टप स्पिड प्रदान गर्दछ भनी सिएफ मोटोले दावी गरेको छ । त्यसैगरी केटिएमका अनुसार २५० ड्युकले ३० केएमपीएल प्लसको माइलेज प्रदान गर्दछ भने २५० एनकेले चाहिँ ३५ प्लसको माइलेज प्रदान गर्छ भनी सिएफ मोटोले दावी गरेको छ ।

अन्य

२५० ड्युकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश छ भने २५० एनकेमा चाहिँ टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल समावेश रहेको छ । त्यसैगरी २५० ड्युकमा एमआरएफ कम्पनीको टायरहरु प्रयोग भएको छ भने २५० एनकेमा चाहिँ सिएसटि कम्पनीको रेडियल टायर प्रयोग भएको छ ।

मूल्य

केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले नेपाली बजारमा २५० ड्युकको मूल्य छ लाख ४० हजार रुपैयाँ तोकेको छ । त्यसैगरी सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले चाहिँ नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.