१० हजार मानिसलाई रोजगारी दिने लक्ष्य लिएको छु- उद्योगपति राजेश अग्रवाल

  २०७६ पुष ६ गते १९:२९     विकासन्युज

भारतमा ग्राजुएट पास गरेपछि २०४९ सालदेखि व्यवसायमा प्रवेश गर्नु भएका राजेश अग्रवाल भैरहवाबाट उदाएका सफल उद्यमी हुनुहुन्छ । व्यवसायमा प्रवेशपछि करिव २० वर्षसम्म परिवारिक रुपमा चलेका राइसमिल, दाल उद्योग, तेल उद्योग, कपडा उद्योग विस्तारमा बिताउनु भएका अग्रवाल पछिल्लो ७ वर्षदेखि ठूला उद्योग निर्माण र विस्तरमा जुट्नु भएको छ । यस अवधि अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रेटो जस्ता निर्माण सामाग्री उत्पादन गर्ने ठूला उद्योगमा लगानी गरिरहनु भएको छ । उद्योग, व्यापार र सेवा क्षेत्रमध्ये सबै भन्दा कठिन व्यवसायको रुपमा उद्योगलाई लिइन्छ नेपालमा । राजेश अग्रवाल यस्ता व्यवसायी हुनुहुन्छ, जसको लगानी उद्योगमा मात्र छ । व्यापारमा शुन्य छ भने सेवा क्षेत्रमा नगन्य छ । ‘वेल्थ फर्मेशन एण्ड इम्प्लोइमेन्ट क्रियशन’ बाट मात्र देशको विकास हुन्छ भन्ने सोचका साथ कम्तिमा १० हजार मानिसलाई रोजगारी दिने लक्ष्यका साथ अगाडि बढिरहनु भएका अग्रवालसँग गरिएको विकास वहस पस्केका छौं यस पटक ।


तपाई उद्योगमा सफल देखिनुहुन्छ तर व्यवसायिक संघ संस्थामा देखिनुहुन्न, किन ?

पहिला म भैरहवा उद्योग संघमा सदस्य थिए । अहिले छैन । म काममा खुशी हुने मान्छे । म धेरै समय उद्योगमा हुन्छ । म काठमाडौंमा बेलाबखत मात्र पुग्छु ।

तपाईको व्यवसायिक यात्रा कहाँबाट शुरु भएको हो ?

एसएलसी नेपालबाट पास गरे । ग्राजुएशनसम्मको शिक्षा भारतबाट लिएँ । २०४९ सालमा बुबाले गर्दै आएको व्यवसायमा प्रवेश गरेँ । त्यतिबेला हाम्रोमा दाल मिल, राईस मिल थिए । हाम्रा उत्पादन नेपालमा मात्र बिक्री हुने गरेको थियो । जब म व्यवसायमा प्रवेश गरे, तब मुसुरोको दाल श्रीलंका, बंगलादेश निर्यात गर्न थालेँ । त्यसपछि तेल मिल राख्यौ । त्यसपछि सोयविनको मस्यौरा बनाउने मिल राखेँ । त्यसपछि मैदा मिल राखे । त्यसपछि आयल रिफाइनर मिल राख्यौ ।

एउटा फुटवेयर इन्डष्ट्रिज छ एक्सन पोलिमर, जसले मिलानो ब्राण्डको जुत्ता, चप्पल उत्पादन गर्छ । इटाली प्रविधिमा आधारित यो उद्योगमा ४० करोडभन्दा बढी लगानी भएको छ । साढे तीन सय मानिसले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट भन्ने उद्योग छ जसले विभिन्न किसिमका बोटल तथा पानीको जार उत्पादन गर्छ । जापानिज प्रविधिमा आधारित यो उद्योगमा करिव २२ करोड लगानी भएको छ ।

१५ वर्षअघि मलाई लाग्यो यो देशको विकासले गति लिन्छ । विकास निर्माणका काम शुरु हुन्छ । सडक, पुल, एयरपोर्ट, नहर, जलविद्युत, शुरुङ मार्ग, ठूला भवन जस्ता निर्माण क्षेत्रले गति लिन्छ । त्यसैले निर्माण सामाग्रीहरु सिमेन्ट, स्टिल, कंक्रीट, जस्तापाता लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खोल्नुपर्छ भन्ने लाग्यो । आय स्रोत बढेपछि मानिसले एक किलोको सट्टा दुई किलो खाँदैन । खाद्यन्यको बजार विस्तार सीमित मात्रामा हुन्छ तर निर्माण सामाग्रीको माग उच्च हुन्छ भनेर मैले निर्माण सामाग्रीको उद्योग खोल्ने निर्णय गरँे । २००४ मा पहिलो पटक सिद्धार्थ सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । त्यो ग्राण्डिक उद्योग थियो । त्यसपछि म साझेदारीमा ठूला उद्योगहरु निर्माणमा लागे ।

साझेदारीमा सञ्चालित ठूला उद्योगहरु कुन कुन हुन् ?

सन् २००८ मा म क्लिङकर उद्योग खोल्ने निर्णयमा पुगेँ । पहिला २०० टन क्षमताको भीएसके प्रविधिको उद्योग खोल्ने तयारी गरेँ । त्यतिबेला व्रिज सिमेन्टको तर्फबाट मनोज केडियाले पनि २०० टनको र सुप्रिम सिमेन्टको तर्फबाट पशुपति मुरारकाले पनि २०० टनको क्लिङकर उद्योग लगाउने योजना बनाउनु भएको रहेछ ।

हामीलाई के लाग्यो भने भीएसके प्रविधि पुरानो हो, केही वर्षभित्र काम लाग्दैन । रोटरी क्लिंक प्लान्ट लगाउनुपर्छ । हामी तिनै जना मिलेर ७०० टन क्षमताको क्लिाङकर उद्योग लगाउने निर्णयमा पुग्यौ । ७०० टन क्षमताको उद्योगलाई विस्तार गर्दै अहिले ३००० टन क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छौं । हाल स्थापित कम्पनीहरु मध्ये अर्घाखाँची सिमेन्ट नेपालको दोस्रो ठूलो कम्पनी रहेको छ । यो उद्योगमा शुरुदेखि लगभग १० अर्ब लगानी भईसकेको छ ।

तीन वर्षअघि निर्माण सामाग्रीको माग वार्षिक १५/२० प्रतिशतले बढ्दै गएको थियो । त्यतिबेला त १०/१० महिनामा सरकार परिवर्तन हुन्थ्यो । जब बहुमतको सरकार बन्यो तब हामीलाई लाग्यो कि अब निर्माण सामाग्रीको माग वार्षिक ३० प्रतिशतभन्दा उच्च दरमा वृद्धि हुन्छ । अबको दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै माथि पुग्छ भन्ने मेरो आकलन थियो । त्यही आकलनमा हामीले निर्माण सामाग्री उत्पादनमा जोड दियौ । यहि क्रममा नेपालकै सबैभन्दा ठूलो स्टील उद्योग ‘श्री स्टील’ उद्योग लगाएका छौं । यसको उत्पादन क्षमता वार्षिक २ लाख ५० हजार टन छ । यसमा करिव २ अर्ब लगानी छ ।

सिमेन्ट, डण्डी उद्योग लगाएपछि हामीले एशियन कंक्रिटो उद्योग लगायौं । पेभर, व्लक, स्लाव, कर्व स्टोन, इटा, होलोब्लक लगायत निर्माण सामाग्री उत्पादन गर्ने यस उद्योगमा पनि करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भईसकेको छ । यसको उत्पादन क्षमता दैनिक ५०० टन छ । सडक, सडक पेटी, पुल, नहर बनाउनदेखि घर बनाउनसमेत उपयोगि उत्पादनहरु हामीले शुरु गरेका छौं ।

व्यापार र सेवाको क्षेत्रमा लगानी कति छ ?

व्यापार र सेवाको क्षेत्रमा मेरो लगानी छैन । पढेर आएपछि मेरो मनमा के आयो भने यो देशमा जन्मिएपछि मैले केही काम गर्नुपर्छ । मरेर लाने केही होइन । हामीले कमाएको सम्पत्ति पनि यहि देशमा छोडेर जाने हो । अहिले मसँग जति पैसा हुन्छ, मेरो बुबा, बाजेसँग त्यति पैसा थिएन । तर उहाँहरुको नाम थियो, इज्जत थियो । बुबा, बाजेको नाम लिएर बजारमा जाँदा आज भन्दा २५ वर्ष अघि पनि २५/३० करोड पैसा पत्याउथे मान्छेले । बुबा बाजेले आर्जन गरेको त्यो ख्यातिमा मैले केही थप योगदान गर्नुपर्छ, गुणस्तरीय सामान उत्पादन गरेर नाम राख्नुपर्छ भन्ने थियो । त्यहि भएर मैले जापानी प्रविधिमा पेट उद्योग, इटाली प्रविधिमा मिलानो, जर्मन प्रविधिमा कंक्रिटो उद्योग लगाएको छु । रोजगारी सिर्जनाले नै देशको गरिबी निवारण हुन्छ । १० हजार मान्छेलाई रोजगारी सिर्जना गर्ने मेरो चाहाना छ । तर अहिले कठिन परिस्थित छ ।

तपाइको लगानी रहेका उद्योगमा कति जनाले रोजगारी पाएका छन् ? १० हजार मानिसको लागि रोजगारी सिर्जना गर्ने तपाईको लक्ष्यबाट तपाई डगमगाउनु भएको हो ?
अर्घाखाँची सिमेन्टमा प्रत्यक्ष रुपमा ५०० जनाले रोजगारी पाएका छन् । श्री स्टील उद्योगमा २४० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । एशियन कंक्रिटोमा १०० जनाले रोजगारी पाएका छन् । एक्सन पोलिमरमा साढे तीन सय जनाले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ सिमेन्ट, अरु रिफाइनरी उद्योग लगायत सबैमा गरि करिब १५ सय मानिस पेरोलमा छन् । करारमा काम गर्नेको संख्या पनि जोड्ने हो भने ३००० भन्दा बढीले जागिर पाएका छन् । अहिले नै १० हजार जनाको लागि रोजगारी सिर्जना गर्न सकिएको छैन । तर मेरो जीवनको लक्ष्य १० हजार मानिसलाई रोजगारी सिर्जना गर्नु हो ।

प्रविधिको प्रयोगसँग जनशक्तिको प्रयोग कम हुँदैछ । १० हजारलाई रोजगारी सिर्जना सम्भव छ अब ?

पुरानो प्रविधि प्रयोग गरी वार्षिक ५० हजार टन स्टील उत्पादन गर्ने कम्पनीमा ३०० जना कर्मचारी छन् भने हामीले नयाँ प्रविधिको प्रयोग गर्यौं, वार्षिक २ लाख ५० हजार टन स्टील उत्पादन गर्छौ तर २५० जनाले मात्र रोजगारी सिर्जना गरेको छ । यसको अर्थ हामीले जनशक्तिको अप्टिमम प्रयोग गरेका छौं । प्रविधिको प्रयोग नगरी एक जनाले दिनमा ५० वटा इँटा बनायो र एउटा इँटाको २ रुपैयाँ पायो भने १०० रुपैयाँ मात्र कमाउँछ । तर प्रविधिको प्रयोग गर्यो उसले दिनमा २००० इँटा बनायो भने प्रति इँटा ५० पैसा पाउँदा पनि १००० रुपैयाँ कमाउँछ । हामीले श्रमिकको आय वृद्धिमा पनि ध्यान दिनुपर्छ । यूरोपमा श्रमिकले प्रतिघण्टा १० डलर कमाउँ छ भने हामीले दिनभर काम गरेको ५०० रुपैयाँ दिएर उनीहरुको जीवनस्तर उकास्न सकिदैन । त्यसैले प्रविधिमा आधारित उद्योगको विकल्प छैन । धेरै रोजगारी सिर्जना गर्न हामीले उद्योगको संख्या वृद्धि गर्दै जानुपर्छ ।

निर्माण सामाग्रीको बजारमा मन्दी आएको छ । यो बेलामा कम्पनीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

निर्माण सामाग्रीमा मात्र होइन, अरु क्षेत्रमा पनि मन्दी आएको छ । मैले हालै नेपालको ठूलो मदिरा उद्योग चलाईरहेका उद्यमीसँग भेटेको थिए । उहाँले भन्नु भयो कि मदिरा उपभोग ५० प्रतिशतले घटेको छ । यसको अर्थ हो उपभोक्तासँग खर्च गर्ने पैसा कम भईरहेको छ । हिजो हप्तामा दुई पटक रेस्टुरेन्ट जाने मान्छे अब हप्तामा १ पटक मात्र जान थाले । यस्तो बेलामा हामीले पनि खर्च कम गर्ने हो । जसको उत्पादन लागत कम हुन्छ उ नै हो मन्दीको बेलामा टिक्ने उद्योग । हामी धैर्यपूवक आफूलाई समालेका छौं । हुनसक्छ सरकारको अहिलेको नीतिले ५÷६ महिनापछि राम्रो नतिजा दिनसक्छ । सरकारले केही कुरा व्यवस्थित गर्न खोजेको छ जुन बजारमा एडजस्ट नभएको पनि हुनसक्छ ।

उद्योग विस्तारमा नयाँ योजना के छ ?

तपाईसँग तीन वटा बच्चा छन् । उनीहरुलाई आवश्यक पोषण नै खुवाउन सक्नु भएन, उनीहरु कुपोषणबाट ग्रसित छन् भने के तपाई चौथो बच्चा जन्माउनु चाहानुहुन्छ ?

के तपाईका उद्योगहरुमा कुपोषणको खतरा छ ?

एस । आजको दिनमा खतरा छ । हामीले बजारमा माग वृद्धि गर्न सकेनौं भने धेरै उद्योग सखाप भएर जाने खतरा छ । हामीले कसरी आर्थिक गतिविधिलाई बढाउने भनेर सबैले सोच्ने बेला भएको छ ।

तपाईलाई हामीले एक सफल उद्यमीको रुपमा लिन सक्छौं । तपाईको व्यक्तिगत चाहाना र अभिलाशाहरु के के छन् ?

उद्योग चलाउनु मेरो नशा हो । कसरी रोजगारी सिर्जना गर्ने र गरिबी घटाउन सहयोग गर्ने भन्ने मेरो चाहाना हो । त्यसबाहेक मेरो व्यक्तिगत चाहाना केही पनि छैनन् । म पारिवारिक मान्छे हु । मलाई हरेक दिन कुनै पनि हालतमा १० बजे सुत्नुपर्छ । विहान ५ बजे उठ्छु । दुई घण्टा मर्निङ वाक गर्छु । १०० प्रतिशत शाकाहारी हुँ । मलाई हरियो तरकारी अनिवार्य चाहिन्छ । घरमा दुई थरीभन्दा बढी तरकारी बनाउन दिन्न । मेरो जीवन सामान्य छ ।

तपाईसँग उद्योग चलाउने तिब्र इच्छाशक्ति देखिन्छ । यसलाई कुन तत्वले ड्राइभ गर्दोरहेछ ?

त्यो तत्व भनेको मेरो ब्लड (रगत) नै हो । मेरो बाजे, बुबा सबैले उद्यमशिलता नै गर्नुभयो । बाजेको भन्दा बुबाले ठूलो विजनेश बनाउनु भयो । बुबाको भन्दा मैले ठूलो बनाए । मलाई विश्वास छ छोराले अझ ठूलो बनाउने छ । ऊ पनि लण्डनबाट एमबीए सकेर नेपाल आएको छ । श्री स्टीलको सबै काम उसले हेरिरहेको छ । यो उद्योग बनाउदा देखिन नै उ यसमा सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.