टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा कल गर्नु नपर्ने, अब वेबसाइटबाटै थाहा पाइने

  २०७६ पुष ६ गते १५:१३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो ।

नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (पीइसटीएन इन्क्वाइरी सिस्टम) सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.