सीएको कार्यक्रममा अर्थमन्त्रीदेखि अख्तियारका प्रमुखसम्मको गुनासो लेखापरीक्षकसँग नै

  २०७६ पुष ६ गते १३:३९     विकासन्युज


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याउनुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपराधको दायर बढिरहेको भन्दै नियन्त्रणको चुनौती रहेको बताए ।

अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे  ।

‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ, कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन,’ मन्त्री खतिवडाले भने ।

प्रविधिको उपलब्धता तथा नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि डा. खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने धारणा राखे ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्, भ्रष्टचार नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री खतिवडाले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट् संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने प्रमुख आयुक्त घिमिरेको भनाइ छ ।

लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए।‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने ।

महालेखापरीक्षक टंकमणि शर्माले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए । अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रीकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे ।

अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको शर्माको भनाइ छ । अन्तर्राष्ट्रिय तहमै सम्पत्ति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने घिमिरेको भनाइ छ ।

नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले व्यवसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए । उनले नियमनकारी निकायहरुको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे । उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रबर्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए ।

‘व्यावसायिक नैतिकता प्रबर्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ, त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ,’ अध्यक्ष आचार्यले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव प्रदीप कोइरालाले लेखापरीक्षकले गरेको लेखापरीक्षणमा अनुसन्धान गर्ने निकाय ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहहरुमा भ्रष्टाचार बढिरहेको र त्यसमा धेरै विवरण लेखापरीक्षण भैसकेको कागजात पनि भेटिएको उल्लेख गरे ।

लेखापरीक्षकले लेखापरीक्षणका क्रममा त्रुटी भेटिए पनि त्यसलाई विस्तृत अनुसन्धानका लागि सुझावका रुपमा प्रस्तुत नगर्ने प्रवृत्ति रहेको पनि जानकारी दिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नामको कोर्सअन्तर्गत ४० जनालाई तालिम दिइसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.