आर्थिक संकट देखिएपछि नयाँ उद्याेग खाेल्न बन्द, पुराना उद्योग सबलीकरणमा जाेड

  २०७६ पुष ६ गते १०:०३     विकासन्युज

काठमाडौं । विगत तीन वर्षदेखि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । उच्च आर्थिक वृद्धिदर चलिरहेको बेलामा निजी क्षेत्र निकै तनावमा छ । जतिबेला १÷२ प्रतिशत मात्र आर्थिक वृद्धि थियो त्यतिबेला पनि निजी क्षेत्र यति तनावमा थिएन । व्यवसायिक कारोबार सुस्ताएको छ । राजश्वको वृद्धिदरमा गिरावट आउनाले पनि यसलाई पुष्टि गर्दैछ । सरकारको बजेट कार्यान्वयनमा देखिएको असफलताले विकास निर्माण क्षेत्रमा करिब १५÷२० प्रतिशतको गिरावट आएको व्यवसायीहरु बताउँछन् । सेयर बजारमा देखिएको शिथिलता, आयातमा देखिएको गिरावट, रेमिट्यान्समा आयमा गिरावट, बैकिङ क्षेत्रमा कर्जा र निक्षेप वृद्धि दुबैमा देखिएको सुस्तताले अर्थतन्त्रमा मन्दीको संकेत गरिरहेको छ ।

सरकारी अधिकारीहरु यी सबैं नकारात्मक सूचकहरु अस्थायी भएको बताउँछन् । आखिरी तालमेल कहाँ मिलिरहेको छैन ? युवा उद्यमी प्रवलजंग पाण्डे सुस्पष्ट देखिए । ‘अहिले व्यवसायिक क्षेत्र आर्थिक संकटमा छ । आर्थिक मन्दी आउँदै छ । यसको असर दुई वर्षमा देखिन्छ’ उनले भने ।
नयाँ संविधान जारी भएपछि, लोडसेडिङ कम हुँदै गएपछि, स्थानीय र संघीय निर्वाचन भएपछि निजी क्षेत्रबाट ठूलो लगानी भएकोले पछिल्ला आर्थिक वर्षमा वृद्धि देखिएको उनको विश्लेषण छ । ‘अहिले सरकारले नयाँ नयाँ कानुन ल्याएको छ । लगानीकर्तालाई सरकारले तर्साउने काम गरेको छ । नयाँ लगानी बन्द हुँदा सबै क्षेत्रका कारोबार सुस्ताएको छ’ उनले भने–‘यसको नतिजा देखिन दुई वर्ष लाग्छ ।’

संकट व्यवस्थापन
प्रत्येक वर्ष एउटा नयाँ उद्योग थप्दै जाने प्रवलजंग पाण्डेको संकल्प हो । तर यस वर्ष उनी नयाँ उद्योग खोल्ने पक्षमा देखिएनन् । ‘नयाँ उद्योग लगाउन वातावरण ठिक छैन । संकटको बेलामा भएको उद्योग बचाउनु नै सफलता हुन्छ’ उनले भने–‘हामी पुराना उद्योगलाई सवलिकरण गर्दैछौं । भएका उद्योगमा लगानी थप्दैछौं । उत्पादन क्षमता विस्तार गर्दैछौं ।’

उनले भएका उद्योगमा लगानी थपेको विवरण सुनाए । ‘हिमालयन प्यारेन्टल किनेर लोमस प्यारेन्टलको नाममा चलाईरहेका छौं । करिब १ अर्बमा किनेको यो उद्योगमा करिब ७० करोड रुपैयाँ लगानी थपिएको छ । लोमस फर्मास्यूटिकल्सले हर्मन सेक्सन थपेर हर्मन प्रडक्टसन शुरु गरेको छ । यसमा पनि करिब ३० करोड लगानी विस्तार भएको छ । इन्जेक्टएवल औषधि उत्पादन केही समयमा उत्पादन थाल्ने छौं ।’

‘एक पटकको सिपाही सधैं सिपाही भए जस्तै एक पटकको उद्योगी सधैं उद्योगी भएर अगाडि बढ्न चाहान्छौं’ उनले भने–‘हामीले उद्योग क्षेत्रमा नै लगानी धेरै थपेका छौं ।’

पछिल्लाे समय फार्मा प्याक उद्योग पनि लगाएको उनले बताए । जसले औषधिको प्याकेजिङ सामाग्री उत्पादन गरिरहेको छ । यो उद्योग ६ महिना अघि पाटनमा सञ्चालनमा आएको उनले जानकारी दिए ।

कसमस सिमेन्टको उत्पादन क्षमता ६०० टनबाट १००० टन बनाउन लागेको उनले जानकारी दिए । ‘क्षमता विस्तार कार्य ६ महिनाभित्र सकिदैछ । यसमा थप ३० देखि ४० करोड लगानी हुँदैछ’ उनले भने ।

पाण्डे परिवारले उद्योगबाहेक सेवाको क्षेत्रमा पनि ठूलो लगानी गरेको छ । वित्तीय क्षेत्र अन्तरगत शिखर इन्स्योरेन्स, सिटिजन्स बैंक इन्टरनेशनल, सिभिल बैंक, सिटिजन्स लाइफ इन्स्योरेन्समा ठूलो लगानी गरेका छन् ।

प्रविधिको क्षेत्रमा डाटा हव, पर्यटनको क्षेत्रमा कैशाल हेलिकप्टर, शिक्षा क्षेत्रमा सेमरेक स्कूलमा पाण्डे परिवारको लगानी छ ।

परिवारको मात्र लगानी भएको सबै कम्पनीको नेतृत्व प्रबलका बुबा प्रदिपजंग पाण्डेले गरेका छन् । सिटिजन्स लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि उनी छन् ।

बायाँबाट क्रमशः प्रताव, प्रबल, प्रदिप र प्रज्वल जंग पाण्डे

कसमस सिमेन्टको समग्रमा नेतृत्व प्रवलले गर्छन । उनले लोमस फर्मास्यूटिकलल्सको प्रडक्टको जिम्मा लिएका छन् । बैंकिङमा उनी सिटिजन्ज बैंक इन्टरनेशनलको सञ्चालक हुन् । डाटा हब पनि प्रवलजंग पाण्डे हेरिरहेका छन् । ‘डाटा हवको सेवा विस्तार अगाडि बढाएका छौं । बुटवलमा डाटा रिकभरी सेन्टर बनाएका छौं । अहिले क्लाउड सर्भिस पनि दिएका छौं’ उनले भने ।

कैलाश हेलिकप्टरको प्रबन्ध निर्देशकको भूमिकामा रहेका प्रतावजंग पाण्डे सिभिल बैंकको सञ्चालक पनि छन् । बुबाले नेतृत्व गरेको कम्पनीको वित्तीय मामिलामा प्रतावले सहयोग गर्दै आएका छन् । पुँजी बजार पनि उनले हेर्छन् ।

लोमस फर्मास्यूटिकल्सको कार्यकारी निर्देशकको भूमिकामा रहेका प्रज्वलजंग पाण्डेले सेमरोक स्कूलको पनि नेतृत्व लिएका छन् । पछिल्लो समय उनले होम एप्लाइन्स प्रडक्ट ‘वल्पूल’को व्यापार पनि थालेका छन् ।

सबै कम्पनी नाफामा

देशको आर्थिक वृद्धि पनि सधैं एक नासको हुँदैन । कम्पनीहरुको ग्रोथ पनि नियमित हुँदैन । ‘वृद्धिदर कहिले बढी होला, कहिले कम होला तर हामी सामेल भएका सबै कम्पनी नाफामा छन्, कुनै पनि कम्पनी नोक्सानमा गएका छैनन्’ पाण्डेले भने ।

बजारको विकाससँगै कम्पनीहरुबीच प्रतिस्पर्धा पनि कडा हुने र कमजोर कम्पनीहरु नोक्सानमा जाने जोखिम बढ्ने उनको विश्लेषण छ । ‘विगतमा सबै कम्पनी नाफामा हुने गर्दथे । कोहीले कम नाफा गर्दथे, कोहीले धेरै नाफा गर्दथे । अब हरेक क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । धेरै नाफा गर्ने कम्पनीहरु कम नाफामा जान्छन् । कम नाफामा चलेका कम्पनी घाटामा जान्छन्’ डार्विनको सिद्धान्त सम्झाउदै उनले भने–‘समय सापेक्ष परिवर्तन हुने कम्पनी मात्र बजारमा टिक्न सक्छ ।’

किङफिसर किन डुब्यो, जेट एयरलाईन्स किन डुब्यो, थाई एयरलाईन्स कसरी संकटमा पर्यो ? अरु विमान कम्पनी डुब्दैगर्दा इण्डिगो कसरी सफल भयो ? भन्ने विषयमा आफूले गहिरो अध्ययन गरेको बताउँदै पाण्डेले भने–‘खर्च कटौतिसहितको राम्रो व्यवस्थापन भएका कम्पनी मात्र प्रतिस्पर्धामा टिक्न सक्छ ।’ उद्योग, व्यापार, पर्यटन, हवाई सेवा, बैकिङ, बीमा सबै क्षेत्रमा प्रतिस्पर्धा धेरै भएको अनुभव पनि उनले सुनाए ।

बैकिङ र बीमामा पब्लिक कम्पनी चलाउमा अभ्यस्त पाण्डे परिवार देशको अग्रणी औषधि उद्योग लोमश फर्मास्यूटिकल्स किन पब्लिक कम्पनी बनाउदैनन ? पाण्डे भन्छन्–‘कुनै दिन पब्लिक कम्पनीमा जान्छौं । हामी प्रोफेशनल म्यानेजमेन्टमा विश्वास गर्छौ ।’

निजी क्षेत्र कमजोर हुँदा एकपक्षिय कानुन

हाल दुई तिहाई बहुमतको सरकार छ । सरकारले भटाभट कानुन बनाइरहेको छ । कानुन समयसापेक्ष बनाउनुलाई सबैले राम्रो मान्छन् । तर वर्तमान सरकारले बनाएका कानुन निजी क्षेत्रमैत्री नभएको उनको बुझाई छ ।

सरकारले नयाँ कानुन बनाउँदै गर्दा निजी क्षेत्रको तर्फबाट हुनु पर्ने लविङ हुन नसकेको उनको ठम्याई छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका पाण्डे भन्छन्–‘महासंघले विगत साढे दुई वर्ष राजनीति गरेर, द्वन्द्व गरेर बितायो । यस अवधिका सरकारले धेरै नियम कानुन बनायो । यस बेलामा महासंघले गर्नुपर्ने लविङ गर्न सकेन ।’

आन्तरिक विवादले महासंघ कमजोर भएको र महासंघले उठाएको मुद्दा सरकारले नसुनेको उनको बुझाई छ । ‘महासंघको वार्गेनिङ पावर ज्यादै कमजोर भएको छ अहिले’ उनले भने । महासंघमा सबै व्यवसायी एक भएर अगाडि बढ्नेमा निजी क्षेत्रकाे लबिङ गर्ने क्षमता बलियाे हुने र निजी क्षेत्रकाे माग सरकारले पनि सुन्ने उनकाे भनाइ छ ।

One comment on "आर्थिक संकट देखिएपछि नयाँ उद्याेग खाेल्न बन्द, पुराना उद्योग सबलीकरणमा जाेड"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.