नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ मा यस्ता छन् विशेषता, पहिलो ग्राहक सौरभ ज्योती

  २०७६ पुष ४ गते १९:३७     विकासन्युज

काठमाडाैं । यात्री मोटरसाइकल्सले आफ्नो पहिलो मोडेल ‘प्रोजेक्ट जिरो’ लाई नेपाली बजारमा अनावरण गरेको छ । यात्री मोटरसाइकल्सका संस्थापक असिम पाण्डे हुन् भने उनी लगायतकायुवा इञ्जिनियरहरुको समूहले उक्त बाइक निर्माणका लागि खोज र अध्ययन गर्ने काम सन् २०१७ बाट नै शुरु गरिसकेको थियो ।

अनावरण गरिएसँगै ‘प्रोजेक्ट जिरो’ नेपालमा पूर्ण रुपमा निर्माण भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल बन्न पुगेको छ । क्याफे रेसरको डिजाइनमा आधारित भएको यो मोटरसाइकल शहरी क्षेत्रलाई लक्षित गरेर बजारमा ल्याइएको हो । बुधवार अनावरण गरिएको प्रोजेक्ट जिरोको पहिलो ग्राहक भने ज्योती ग्रुपका निर्देशक सौरभ ज्योती बनेका छन् ।

यस्ता छन् प्रोजेक्ट जिरोका विशेषता

कम्पनीका संस्थापक असिम पाण्डेका अनुसार प्रोजेक्ट जिरोमा आधुनिक टेक्नोलोजी र प्रिमियम मेटेरियलहरु समावेश गरिएको छ ।यस मोटरसाइकलमा ३० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ४२ बीएचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस बाइकले फुल चार्जमा २३० किलोमिटरको रेञ्ज समेत प्रदान गर्छ भनी कम्पनीले दावी समेत गरेको छ । यस बाइकले प्रदान गर्ने पावर फिगरलाई चर्चित बाइक ड्युक ३९० को पावरसँग तुलना गर्न सकिन्छ ।

कम्पनीले यस बाइकमा कार्वन फाइबरको पार्ट्सहरु प्रयोग गरेको छ जुन मेटल पार्ट्सभन्दा दह्रो मानिन्छ र त्यसैगरी यसले बाइकको तौललाई न्यून पनि राख्दछ ।

कम्पनीले उक्त बाइकको आधिकारिक लञ्च र मूल्यको बारेमा भने हाल केही पनि जानकारी दिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.