पोहोरको फ्रिज बजेट जोड्दा पूँजीगत खर्च धेरै देखिन्छः अर्थमन्त्री

  २०७६ पुष ३ गते १५:४८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्षको फ्रिज बजेटको हिसाव नगर्दा यो वर्ष पूँजीगत खर्च कम भए जस्तो देखिएको बताएका छन् ।

गत वर्षको बजेटसँग यो वर्षको खर्च तुलना गर्दा खर्च कम भएको देखिएको उनले बताए । प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको चौमासिक अवस्थाका बारेमा भएको छलफलमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

‘गत वर्ष फ्रिज भएको बजेट यो वर्ष खर्च भइरहेको छ, यस्तो खर्चको हिसाव भएको छैन, यो वर्ष विनियोजन गरिएको बजेट मात्रै कति खर्च भयो भनेर हाम्रो संयन्त्रले देखाउँछ, गतवर्षको खर्च र यो वर्षको खर्च तुलना गर्ने संयन्त्र भएको भए यस्तो देखिने थिएन,’ डा. खतिवडाले भने ।

चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको बजेटको अहिलेसम्म करिब २० प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ । खर्च कम भयो भन्दै सरकारको आलोचना भइरहेको छ । यही सन्दर्भमा समितिले अर्थमन्त्रीसहित सरोकारवाला विकासे मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो ।

अर्थमन्त्रीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भएको पूँजीगत खर्चप्रति भने असन्तुष्टि जनाए । खर्च कम भएकोप्रति मन्त्री खतिवडा सन्तुष्ट देखिएनन् । सरोकारवाला मन्त्रालय र निकायका अधिकारीहरु पूँजीगत बजेट खर्च गर्न तर्सिएका कारण खर्च कम भएको उनको दाबी छ । मन्त्री खतिवडाले कानुन र नियमअनुसार काम गर्दा कसैले पनि तर्सिनु र डराउनु नपर्ने उनको भनाइ छ ।

देश संघीयतमा गएपछि निर्माण भएका ३ तहकै सरकारको ध्यान सडक निर्माणतिर मात्रै केन्द्रित भएको भन्दै मन्त्री खतिवडाले गुनासो गरे । अहिले बनेका ७ सय ६१ वटा स्थानीय तह पनि सडक निर्माणमा मात्रै लागेकोले पनि बजेट खर्च कम भएको उनको भनाइ छ । ‘स्थानीय तह, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सडक निर्माणमा मात्रै लागिरहेका छन्, यो प्रवृत्तिका कारण पनि खर्च कम भएको हो,’ मन्त्री खतिवडाले भने ।

अर्थसचिव डा. राजन खनालले पूँजीगत बजेट खर्च कम भएको देखिएपनि भौतिक प्रगति भने सन्तोषजनक रहेको दाबी गरे । भौतिक र वित्तीय प्रगति सँगै जानुपर्ने डा. खनालको भनाइ छ । गत वर्ष भूकम्पपछिको पुनर्निर्माणका लागि एकैचोटी धेरै रकम निकासा भएकोले गत वर्षको तुलनामा कम खर्च भएको देखिएको सचिव खनालले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.