अर्थमन्त्री भन्छन्ः पहाड फोर्नुपर्नेछ, संसद सहयोग गरिदिनु पर्यो

  २०७६ पुष ३ गते १४:०४     विकासन्युज

फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणको लागि आवश्यक काम गर्न संसदको सहयोग मागेका छन् । व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा मन्त्री खतिवडाले संसदको सहयोग मागेका हुन् ।

समितिले चालु आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा पहिलो चौमासिक अवस्थाबारे अर्थमन्त्रीसहित सरोकारवाला मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो । सो छलफलमा मन्त्री खतिवडाले विकास निर्माणको लागि नदीजन्य पदार्थको प्रयोगले मात्रै नपुग्ने भएकोले पहाड फोर्नुपर्ने र त्यसको लागि संसदको सहयोग आवश्यक हुने बताए ।

छलफलमा विकास निर्माणमा सक्रिय मन्त्रालयहरुका अधिकारीहरुले नदीजन्य पदार्थको प्रयोगमा समस्या उत्पन्न भएकोले विकास आयोजनाहरुलाई समयमै अघि बढाउन बाधा पुगेको धारणा राखे । वातावरणीय प्रभाव जस्ता विषयले नदीजन्य पदार्थको प्रयोगमा समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ ।

छलफलमा मन्त्री खतिवडाले ठूलो परिमाणमा विकास निर्माणका कामहरु गर्नुपर्ने भएकोले नदीजन्य पदार्थले मात्रै नपुग्ने बताए ।

‘हामी एकैचोटी ठूलो परिमाणमा विकास निर्माणका कामहरु गरिरहेका छौं, यस्तो कार्यको लागि नदीजन्य पदार्थले मात्रै पुग्दैन, पहाडै फोर्नुपर्ने हुन्छ, यसका लागि संसदले पनि आवश्यक सहयोग गरिदिनु पर्यो,’ मन्त्री खतिवडाले भने ।

सरकारले ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल मार्ग जस्ता ठूला परियोजना अघि सारेकोले त्यसको कार्यान्वयनका लागि ठूलो परिमाणमा निर्माण सामाग्री आवश्यक पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.