चार महिनामा देशको अर्थतन्त्रः विदेश जाने बढे, रेमिटान्स घट्यो

  २०७६ पुष २ गते १८:११     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा आयात र रेमिटान्स दुबै घटेको छ । आयात करिब ७ प्रतिशतले घटेको छ भने रेमिटान्स आप्रवाह २.३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्ममा ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पहिलो ४ महिनामा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ । एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा कमी आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा कमी आएको छ ।

चालु आर्थिक वर्षको ४ महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले की आएर ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । चार महिनामा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो ।

विदेश जाने बढे, रेमिटान्स घट्यो

रेमिटान्स (विप्रेषण आप्रवाह) २.३ प्रतिशतले घटेर ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

मूल्यबृद्धि झण्डै ६ प्रतिशत

गत कात्तिकमा मूल्यबृद्धि ५.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यबृद्धि ४.१५ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ ।

गत कात्तिकमा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यबृद्धि भएको छ । अघिल्लो वर्षको कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मूल्यबृद्धि थियो ।

निर्यात २४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ४ महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले बढेको छ । यो अवधिमा ३६ अर्ब २८ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

तर, चीनतर्फको निर्यात ६ प्रतिशतल र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आन्तरिक कर्जा खुम्चियो

चालु आर्थिक वर्षको ४ महिनामा कुल आन्तरिक कर्जा २.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.१ प्रतिशतले बढेको थियो ।

निक्षेप ३.१ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.६ प्रतिशतले बढेको थियो ।

गत कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको थियो ।

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।

५ प्रतिशतले बढ्यो कर्जा

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.५ प्रतिशतले बढेको थियो ।

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.२ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ८.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ६.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र ओभरड्राफ्ट कर्जा ०.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.