१५० सीसीको बेनेली मोटरसाइकल २ लाख ३० हजारमै, यस्ता छन् विशेषता

  २०७६ मंसिर २७ गते १९:३४     विकासन्युज

जम्मा दुई लाख ३० हजार रुपैयाँमा १५० सीसीको मोटरसाइकल, त्यो पनि ‘बेनेली’ को, विश्वास गर्नुहुन्छ ? एउटा इटालियन ब्राण्डको मोटरसाइकलको मूल्य त्यति मात्र पर्नु वास्तवमै आश्चर्य लाग्दो कुरा हो । आज हामी चर्चा गर्दैछौं ‘टिएनटि १५’ को ।

बेनेलीको नेपालका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले टिएनटि १५ लाई केहि महिना अघि नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

टिएनटि १५ को डिजाइनको कुरा गर्नु पर्दा यो स्लिम लुकिङ्ग मोटरसाइकलको डिजाइन अरु ठूला बेनेली बाट प्रभावित भएको हो । झट्ट हेर्दा टिएनटि ३०० को जस्तो देखिने यसको हेडलाइट हामीले निकै आकर्षक रहेको पायौं । त्यसैगरी यस मोटरसाइकलको ट्याङ्क एक्स्टेन्सन प्यानल्स, सेम कलरमा रहेको वेली प्यान, स्प्लीट सिट्स र तल्लो साइडमा जडित बल्कि एग्जस्टले यस मोटरसाइकललाई थप एग्रेशिभ एवं स्पोर्टि बनाएको छ, जसले हरकोहिलाई मोटरसाइकल कुदाउँदा गर्वको महशुस गराउने छ ।

आम नेपालीले हिजोका दिनसम्म मोटरसाइकल किन्ने योजना बनाउँदा उसको प्राथमिकतामा कुनै इण्डियन अथवा जापनिज ब्राण्ड पर्ने गथ्र्यो । अन्य इन्टरनेशनल ब्राण्डको मोटरसाइकल त कसले पो किन्न सकोस् र । तर इटालियन ब्राण्ड बेनेलीले टिएनटि १५ बजारमा ल्याएदेखि भने उक्त कुरा एकादेशको कथा भइसकेको छ ।

बेनेली टिएनटि १५ मा जडान गरिएको इञ्जिन १४८ सीसीको सिङ्गल-सिलिण्डर एयर-कुल्ड इञ्जिन हो जसले १२.०६ बीएचपीको पावर र त्यसैगरी ११ एनएमको टर्क प्रदान गर्दछ । ५-स्पिड गियरबक्सले ट्रान्समिशन ड्यूटीको काम गर्ने यस मोटरसाइकलमा फ्युल-सप्लायरको काम भने कार्बुरेटरले गर्दछ ।

यस मोटरसाइकलमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश गरिएको छ जसमा स्पीडोमिटर, ओडोमिटर, ट्रिपमिटर, क्लक, फ्युल-गज, गियर-इन्डिकेटर लगायतका कुराहरु सजिलै हेर्न सकिन्छ ।

१७ इञ्चको अलोए व्हिल्स लगाइएको यस मोटरसाइकलका दुवै टायरहरु ट्युवलेस छन् भने अगाडिको चक्कामा डिस्क ब्रेक र त्यसैगरी पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । यो ब्रेकिङ्ग १५० सीसीको मोटरसाइकलमा नराम्रो मानिँदैन । बजारमा हाल यो मोटरसाइकल ब्ल्याक, व्हाइट र रेड गरी ३ कलर अप्सनहरुमा उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकल ११० केएमपीएच प्लसको स्पिडसम्म कुद्न सक्छ र त्यसैगरी ५० प्लसको माइलेज दिन्छ भनी दावी गरेको छ ।

१६ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको यस मोटरसाइकलको लम्वाइ २०४० मिलिमिटर, चौडाइ ७८० मिलिमिटर र त्यसैगरी उचाइ भने १०७० मिलिमिटर छ । त्यसैगरी, यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने व्हिलबेस चाहिँ १२६० मिलिमिटर छ ।

बेनेली टिएनटि १५ अन्य ब्राण्डका १५० सीसीको मोटरसाइकलहरु भन्दा अत्यन्त कम मूल्यमा बजारमा आएको हुनाले कम्पनीले सो मोटरसाइकलले राम्रो पकड जमाउनेछ भनि विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.