डा.खनाल र शिवाकोटी गभर्नरका बलिया क्याडर, सेबाेनमा ढुंगाना र डा.अधिकारी लाइन मिलाउँदै

  २०७६ मंसिर २७ गते १४:१३     विकासन्युज

काठमाडौं । पछिल्लो समय वित्तीय क्षेत्रका दुई नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड(सेबाेन)को दुई महत्वपूर्ण पदका लागि बलिया आकांक्षीहरू शक्ति केन्द्र रिझाउने काममा लागिपरेका छन् ।

कार्तिक १ गतेबाट खाली रहेको सेबाेन अध्यक्ष पदका लागि सरकारले आवेदन माग गरेसँगै उनीहरूले शक्ति केन्द्र धाउने काम गरिरहेका हुन् । सेबाेन अध्यक्षकाम लागि आठ जना आकांक्षीले आवेदन दिइसकेका छन् भने गभर्नर पदका लागि लाइन लागेर बसिरहेका छन् । राष्ट्र बैंकमा गभर्नर र सेबाेनमा अध्यक्षको पद शक्तिशाली र महत्वपूर्ण मानिन्छ । यी दुबै कार्यकारी प्रमुखको पद हो ।

यद्यपि यी दुबै नियामक निकायमध्ये अझ आकर्षक मानिने राष्ट्र बैंक गभर्नर पदका लागि बलिया दावेदारका रुपमा अर्थ सचिव डा.राजन खनाल र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी देखिएका छन् । त्यस्तै सेबाेन अध्यक्षमा आवेदन दिएका आठमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र सेबाेनका उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारी बलिया दावेदारका रुपमा देखिएका छन् ।

बोर्ड अध्यक्षमा अर्का दावेदार बोर्ड कै कार्यकारी निर्देशक निरज गिरी हुन् । उनी डा. रेवतवहादुर कार्की बोर्डका अध्यक्ष हुने बेलामा समेत पछिल्लो प्रतिस्पर्धीका रुपमा रहेका थिए ।

अर्थ सचिवको हैसियतले हाल राष्ट्र बैंक सञ्चालक समेत रहेका खनाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निगाह छ भने डेपुटी गभर्नर शिवाकोटीलाई राष्ट्र बैंक बुझेका खास पात्रका रुपमा लिइएको छ । डा.खनाललाई प्रम ओलीले राष्ट्र बैंकको गभर्नर बनाउने बचन समेत दिइसकेको कुरा बाहिर आएको छ । अर्का बलिया दावेदार शिवाकोटी प्रम तथा अर्थमन्त्री डा. युवराज खतिवडाको गृह जिल्लाकै हुनुका साथै बैंकिङ क्षेत्र बुझेका बलिया दावेदार मानिदै आएका छन् ।

डा. खनाल हाल नेपाल सरकारको विशिष्ट श्रेणी(सचिव) मा कार्यरत छन् । आगामी माघ २२ गतेबाट उनले अवकास पाउँदैछन् । वि.सं २०४९ मा सरकारी सेवामा प्रवेश गरेका डा. खनालले ‘नेपालको कर नीति’ मा विद्यावारिधी गरेका छन् ।

प्रधानमन्त्रीको नजिक मानिने शिवाकोटी आफू लामो समयदेखि यहि क्षेत्रमा कार्यरत भएकोले राष्ट्र बैंक राम्रोसँग बुझेको र यस क्षेत्रमा राम्राे  गर्न सक्ने विश्वासका अघि बढेका छन् । शिवाकोटी २०४४ साल चैत ७ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् । अहिले उनी राष्ट्र बैंकमा सिनियर डेपुडी गभर्नर भएर कार्य सम्पादन गरिरहेका छन् ।

राष्ट्र बैंक गभर्नरका लागि अर्का बलिया दावेदारका रुपमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पनि लिइन्छ । अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडा र प्रमले समेत रुचाइएका खास पात्र हुन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडालाई सफल गभर्नर बनाउन अधिकारीको बलियो हात रहेको बताइन्छ ।

डेपुटी गभर्नरबाट अवकाश पाएपछि अधिकारीलाई ओली नेतृत्वको सरकारले लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो । उनी सीईओ बनेपछि सुस्त बनेको लगानी बोर्डले गति लिन थालेको छ । ठूला लगानी भित्र्याउने महत्वपूर्ण पोष्टमा अधिकारी भएकाले उनलाई आउटपुट निस्कने गरी त्यहिको कार्य सम्पादन गर्न लगाउने तयारी सरकारले गरेको बुझिएको छ ।

उता सेबाेनमा भिष्मराज ढुंगाना सबैभन्दा बलिया देखिएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । अहिले उनलाई बोर्ड संचालकमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको छ । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रयोजनले ढुंगानालार्ई बोर्डमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको हो । ढुंगाना पनि राष्ट्र बैंक गभर्नरमा क्याडर नमिल्ने भएपछि सेबाेन सम्हाल्न तयार देखिएका हुन् ।

सेबाेन अध्यक्षका अर्का बलिया दावेदार डा.अधिकारी प्रचण्डका नातेदार समेत हुन् । धितोपत्र बजारकै विषयमा विद्यावारिधी गरेका अधिकारीले बामदेव गौतमदेखि बिष्णु पौडेल र महेश बस्नेतसम्म पुगेर आफ्ना लागि अनुकुल वातावरण बनाइदिन आग्रह गरिरहेका छन् । बोर्ड अध्यक्षमा अर्का दावेदार बोर्डकै कार्यकारी निर्देशक निरज गिरी हुन् । उनी पनि बाजी मार्ने दौडधूपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.