विद्युत प्राधिकरणले पहिलो चौमासमा गर्यो १३ अर्ब ३१ करोड खर्च, लक्ष्यभन्दा २ प्रतिशत बढी

  २०७६ मंसिर २६ गते १८:०४     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पहिलो चौमासमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणले गरेको याे अवधिमा खर्च लक्ष्यभन्दा २ प्रतिशतले बढी हो । प्राधिकरणले चालु आवको यो समयसम्म १३ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

चालु  आर्थिक वर्षकाे  पहिलाे चाैमासिकमा नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाको  वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको जनाएको हाे ।  प्राधिकरणका अनुसार प्राधिकरण द्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

यसरी हेर्दा लक्ष्य राखेभन्दा २० कराेड खर्च भएकाे छ । ती आयोजनाहरुको भौतिक प्रगति भने ८६ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने बताए ।

प्राधिकरणले चालु आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ  । विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।

यस अवधिमा प्राधिकरणका र निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ । समीक्षा अवधिमा प्रसारण लाइनतर्फ ६ आयोजनाको एक सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सात वटा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएका छन् भने आठ वटाको स्तरोन्नति गरिएको छ ।

सहायक कम्पनीमार्फत ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा दुई अर्ब ४६ करोड बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा एक अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.