४ लाखले बढेर ९ लाख भयाे स्वर्ण पुरस्कार राशी, गौरिकाले मात्रै ६५ लाख रूपैयाँ पाउने

  २०७६ मंसिर २५ गते १७:३४     विकासन्युज

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सरकारले स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्याक्ति ४ लाख रूपैयाँ पुरस्कार बढाएको छ । यसअघि सरकारले ५ लाख मात्र दिँदै आएकोमा यो पटक भने बढाएर ९ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।

सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबैभन्दा धेरै पाउने भएकी छन् । प्रधानमन्त्रीले गरेको घोषणामा सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने भएकी छिन् । रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन् । त्यस्तै, उनले ३ कास्य पदक जितेकीले ९ लाख पाउने छिन् ।  यसरी हेर्दा उनले कम्तिमा ६५ लाख पाउने छिन्।

काठमाडौंमा मंगलबार सम्पन्न भएकाे सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.