सामाजिक सञ्जालमार्फत १७ बैंकबाट पौने १५ करोड ठगी गर्ने गिरोह पक्राउ

  २०७६ मंसिर २५ गते १५:४२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रकम लुट्ने लुटेराहरूमध्ये तीन जनालाई प्रहरीले आज बुधबार सार्वजनिक गरेको छ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी विदेशी ह्याकरहरूले करोडौं रकम लुटेका थिए । गत असाेजमा उनीहरुले ४१ जनाभन्दा बढी नेपालीहरुलाई एजेन्ट बनाएर कृषि विकास बैंक र पानस रेमिटबाट सिस्टम ह्याक १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका हुन् ।

पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन् । उनीहरूले १७ वटा बैंकमा कारोबार गरेको देखिएको छ । उनीहरूले गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिक्नेहरु पक्राउ पर्ने समूहकै रहेको भेटिएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो ।

लुटेराहरूले नविल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, प्रभु, सिद्धार्थ बैंक अफ काठमाण्डू, सनराइज, सिटिजन्स, माछापुच्छ्रे, एसबिआई, एनबी, ग्लोबल, एनआईसी एशिया, लक्ष्मी र एनएमबी बैंकबाट कारोबार गरेका थिए । ह्याक र ठगी गरिएको रकम नेपालका एजेण्टहरू प्रयोग गरी १५ देखि २० प्रतिशत कमिशन दिएर विभिन्न माध्यमबाट भारत पठाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नेपाली एजेण्टहरूलाई उक्त कार्य गर्नको लागि विभिन्न बैंकमा खाता खोल्न लगाएको र एउटै एजेण्टबाट ६ वटा भन्दा बढी बैंक खाताबाट कारोवार भएको देखिएको छ । प्रहरी यस अघि १० जना यस्ता कारोबारीलाई मुद्दा हालेको थियो । अहिले तीन जना थपिएका १३ जना पुगेका छन् । अनुसन्धानको क्रममा प्रहरीले विभिन्न २९ जनालाई शंकाको दायरामा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.