प्रविधियुक्त पथमा लम्किएकी सुकीर्ति, जसले ल्याउँदैछिन् नेपालमा ‘पार्क इजी’ सिस्टम

  २०७६ मंसिर २५ गते १३:२६     सुनिता पुडासैनी

काठमाडौं । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ अथवा भनौं जब मान्छेमा केही गर्ने इच्छाशक्ति हुन्छ न उसलाई कसैले रोक्न सक्छ नत छेक्ननै । उसको काम सफल होस् वा असफल तर उसको काम गर्ने दृढ चाहनाले भने उसलाई निरन्तर काममा उत्प्रेरित गर्छ । उसले आफ्नो काम गर्ने पाटो र बाटो पृथक रोज्छ पनि ।  त्यस्तै केही पृथक केही नयाँ र प्रविधियुक्त काम गर्न रुचाउने महिला उद्यमी हुन् काठमाडौं थापाथलीकी सुकीर्ति शर्मा ।

समाजमा बसेर केही पृथक काम गर्ने चाहना सुकीर्तिको सानै उमेर देखिको हो । वि.सं.२०४२ साल जन्मिएकी उनी सानैदेखि घरकी प्यारी थिइन् । हुने विरुवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि नै कक्षाकोठामा जेहेनदार विद्यार्थी भनेर चिनिन्थिन् । बुवा पाइलट भएकै कारण उनलाई पनि पाइलट बन्ने इच्छा नभएको होइन । तर, उनको पेन्टिङ तथा ड्रइङप्रतिको रुचीले उनलाई अर्कै बाटोतर्फ मोड्यो ।

उनका बुवा आफ्नै काममा व्यस्त हुन्थे तर , त्यहि माहोलमा पनि उनको पढाइ गज्जवको थियो । उनले वि.स २०५८ सालमा राम्रै अंकका साथ एसएलसी पनि पास गरिन् । घरमा छोरीले राम्रै अंकका साथ एसएलसी परिक्षा उत्तीण गरेसँगै खुसियाली छायो ।  आइएस्सी विश्व निकेतनमा बढ्न शुरु गरेसँगै घरमा विवाहको कुरा चल्न थालेको थियो । ‘म सानैदेखि ड्रइङमा रुचि राख्थेँ’ उनी भन्छन्, मलाई इञ्जिनियर पढ्ने उत्कर्ष जागी सकेको थियो ।’

सुकीर्तिले दुईवर्षे आइएस्सी पनि राम्रै अंकका साथ पास गरिन् । उनलाई अब १८ वर्ष लाग्यो । घरमा उनको विवाहको कुरा चल्न थाल्यो । बुबा र आमाले विवाहको गर्न ल्याउनु भएसँगै सो कुरा टार्न नसकि विवाह गरिन् ।

१८ वर्षको उमेरमा विवाह

कलिलो उमेर । भर्खर १८ वर्ष पुगेकी सुकीर्तिलाई विवाहको प्रस्ताव आयो । अवस्था अनुसारको व्यवस्थामा रमेको समाजको अगाडि उनले त्यो प्रस्तावलाई नकार्न सकिनन् । पाइलट पढेका उनका बुवाले त्यही समाजका अगाडि छोरीको ढिलो विवाह गर्छु भन्ने शाहस निकाल्न सकेनन् । ‘उमेरले परिपक्क थिएनँ, आमाले विवाह गर्नुपर्छ भन्नुभयो, विवाह गरेँ ।’ उनको सहमतिसँगै २०६० सालमा उनको श्रवण खनालसँग विवाह भयो ।

विवाह गरेपछि पढ्नु हुन्न भन्ने मानसिकता आम मानिसहरुमा व्याप्त थियो त्यति बेला । त्यो उनको जीवनमा पनि लागु भयो । उनले विवाह गरेसँगै अध्ययन पनि रोकियो । ‘विवाह भएको एक वर्षपछि अब त केही गर्नु पर्छ भन्ने कुरा महशुस भयो’, उनले भनिन्, त्यसपछि म काठमाडौं इन्जिनियरिङ्ग कलेजमा सिभिल इन्जिनियरिङ्ग पढ्न शुरु गरेँ,घरका अन्यले कुनै मतलब गरेनन् तर श्रीमानको सल्लाह बमोजिम अध्ययनमा निरन्तरता दिएँ ।’

एउटा घर सुन्दर र सम्वृद्ध बनाउनका लागि महिलाको हात अपरिहार्य हुन्छ भन्ने भनाई आम जगतले गुनगुनाउँदै आएको छ । हो त्यस्तै, सुकीर्तिले पनि आफ्नो अध्ययन सँसगै घरको काम र जिम्मेवारी कहिल्यै भुलिनन् ।

निर्माण व्यवसायको यात्रा

सुकीर्तिका श्रीमानको पृष्ठभूमी निर्माण व्यवसाय क्षेत्रको रहेको थियो । घरका अन्य सदस्यहरु निर्माण क्षेत्रमै काम गर्ने भएकै कारण उनले पनि काममा सघाउन सुरु गरिन् । बिहान कलेज सकेर दिउँसो निर्माण क्षेत्रमा हेर्न जाने उनको दैनिकी पनि सुरु भयो । इञ्जिनियरीङ पढ्दै गरेकी उनले काममा जाने मौका पाएसँगै केही सहजता पनि भयो । उनलाई आफ्नो पढाइको साथसाथै प्रयोगात्मक रुपमा आफुलाई स्थापित गर्न सहज वातावरण सिर्जना भयो ।

निर्माण क्षेत्रमा लामाे समयदेखि व्यवसाय गर्दै आएका उनका ससुराबुबा माधव खनाललाई समेत उनले सहयोग गर्न थालिन् । हाल एमके निर्माण सेवाले काम गर्दै आएको पनि ४० वर्ष भइसकेको छ । समयलाई व्यवस्थापन गर्दै प्रयोगात्मक कामका रुपमा काम गर्दै गएको उनी बताउँछिन् । जब उनको इन्जिनियरिङ्ग पनि सकियो, पढाइ सकेको तीन महिनापछि उनले इन्जिनियरिङ्ग परामर्शदाताको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकमा काम शुरु गरिन् ।

जागिरभन्दा पनि आफैले केही व्यवसाय गरेर काम दिने उनको चाहना सानैदेखिको थियाे । ‘साथीहरु विदेशमा सेटल थिए’ उनले भनिन्, मलाई विदेश जाने रहर कहिल्यै जागेन, बरु आफ्नै केही व्यवसाय स्थापना गरेर त्यसैमा काम गर्ने योजना बनाएँ’। त्यससँगै उनले ३४ वर्षको उमेरमा एउटा कम्पनी स्थापना गरेकाे उनी बताउँछिन् ।

आफ्नै वि बिल्ड कम्पनी स्थापना

उनले २०७४ सालमा वि बिल्ड कम्पनी स्थापना गरिन् । कम्पनी स्थापना गरेसँगै उनले विभिन्न भवनहरुको डिजाइनिङ र पुर्ननिर्माणको काम पनि सुरु गरिन् । नेपालको अधिकांश सरकारी तथा नीजि क्षेत्रमा कामको क्षमता भन्दा पनि आफ्नो मान्छेलाई राख्ने प्रवृतिका कारण पनि आफ्नै निर्माण कम्पनी राख्ने योजना बनाएको उनी बताउँछिन् । काम गर्दै जाँदा उनले धेरै अनुभवहरु बटुलिन् । धेरै व्यवसायीहरुसँग उनको घुलमिल भयो । निर्माणको क्षेत्रमा उनले धेरै ज्ञान र जानकारी हासिल गरिन् ।

नियमित रुपमा उक्त वी बिल्ड कम्पनीमा करिब एक सय जनाको संख्यामा श्रमिक रहेका छन् भने ५ जना इन्जिनियरले काम गर्दै आएका छन् । ‘वि बिल्ड’ ले भवन निर्माणको काम गर्दै आएको छ । हाल सुकीर्ति नयाँ प्रविधियुक्त पार्किङ सेवा काठमाडाैंमा स्थापित गर्ने तयारीमा छिन् । अब सुकीर्तिको कम्पनी वि बिल्डमार्फत नेपालमा पनि बहुतले पार्किङ (पार्किङ इजी) बनाउने भएको छ । ‘अब काठमाडौंमा पार्किङ व्यवस्थित हुनेछ’, मेरो प्रयासले देशले नयाँ पार्किङको सेवा लिनेछ ।’

के हो पार्क इजी ?

सरल तरिकाले पार्किङ गर्न सकिने प्रविधियुक्त प्रणाली नै पार्क इजी हो । पार्क इजी सिमित ठाउँमा धेरै गाडी अटाउने गरी तलातलाको निर्माण गरिएको हुन्छ । स्टिलबाट बन्ने यस्तो पार्किङ एउटा लटमा दुईवटा मात्र गाडी अटाउने क्षेत्रफलमा तलातला गरी १२, १६ वा २० वटा सम्म पार्क गर्न सकिने संरचना तयार गरिन्छ । यो विश्वमा प्रख्यात पार्किङ प्रणाली हो । यस्ता स्टिल संरचनाको आयु ५० वर्ष भन्दा पनि बढी हुने उनी बताउँछिन् ।

चिनियाँ कम्पनी लुथाइडासँग मिलेर उनले यो प्रविधि नेपालमा भित्र्याउन लागेकी हुन् । लुइडा त्यहि कम्पनी हो जसले लामो समयदेखि मेक्सीको इरान, थाइल्याण्ड, सिंगापुर, साउदी अरेबिया, जिब्राल्टार, रुस, पोल्याण्ड, कोरिया, चीनमा बहुतले पार्किङ प्रणाली विकास गर्दै आएको छ ।
उनी आफै नै जमिन लिजमा लिएर पार्किङ सिस्टम निर्माणको तयारी गरिरहेकी छन् ।

पार्किङमा एउटा गाडी अट्ने युनिट तयार पार्न १० हजार डलर लागत लाग्ने उनी बताउँछिन् । सुरुमा यो प्रणाली खर्चिलो भएपनि दिर्घकालिन रुपमा नाफामूलक हुन्छ । उनले हाललाई १२ देखि १६ तला सम्मको भर्टिकल पार्किङ बनाउने स्वीकृति पाएकी छिन् ।

महिला उद्यमीका लागि निर्माण क्षेत्रमा चुनौती

समाजमा छोरीले केहि गर्नै सक्दैनन् घरको कामका लागि मात्र हो भन्ने मानसिकता भएकाहरुका लागि सुकीर्ति एक उदाहरण बनेकी छन् । सफलताको पछाडि तितो यर्थाथता लुकिरहेको हुन्छ । यो त्यहि यर्थाथ जिन्दगीलाई पार गर्दै आज एक सफल निर्माण व्यवसायीको रुपमा उनी स्थापित भएकी छन् ।

कार्यक्षेत्रमा केटीले पनि याे काम गर्न सक्छन् र भन्ने जस्ता कुरा आउनुका साथै सम्मप्रति ठेस पुराउने प्रवृत्ति रहेकाे छ । हरेक क्षेत्रला ठूलो निर्णय गर्दा जानकारी नदिने, आफ्नो दक्षताप्रति तल्लो स्तरका व्यक्तिले प्रश्न उठाउने जस्ता कार्यहरु हुने गर्दछन् । खास त निर्माण सम्बन्ध सम्झौता गर्नलाई पनि हिचकिचाउने खालको संस्कार अधिकं मात्रा रहेको छ ।

यतिमात्र नभई महिला उद्यमीको कार्यशैलीप्रति महिलाले नै खुट्टा तान्ने प्रवृति रहेको छ । अझै महिला उद्यमीको कुरा गर्दै गर्दा दशकौंसम्म हेपिनु पर्ने अवस्था रहेको हुँदा महिलाले एकआपसमा सम्मान गरेर अगाडी बढ्दा उत्तम उनको बुझाइ छ ।

सार्क चेम्बरमा केन्द्रिय सदस्यका रुपमा सक्रिय शर्मा पछिल्लो समय नेपाल महिला उद्यमी महासंघमा पनि आवद्ध छिन् । देशमा आफ्नो लगनशिलता प्रस्तुत गरी आगामी दिनमा भवन निर्माणदेखि व्यवस्थित पार्किङ्गका लागि एवंम महिलाका हक अधिकार र कामप्रति समानता ल्याउने उनको प्रयास जारीे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.