एडीबीले नेपाल चार परियोजनालाई साढे ४० अर्ब ऋण सहयोग

  २०७६ मंसिर २४ गते १७:०७     विकासन्युज

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । एडीबीले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सो ऋण सहयोग उपलब्ध गराउन लागेको हो ।

बैंकले पोखरा–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानी स्वरुप ७ अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि ५ अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन ५ अर्ब ६५ करोड प्रदान गर्न लागेको हो ।

नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्ने सम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ । समारोहमा एडीबीका देशीय निर्देशक मुख्तोरखामुदखानोभ र अर्थ सचिव डा.राजन खनालले हस्ताक्षर गरेका हुन् ।

दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबु खैरनीखण्डलाई चार ‘लेन’ मा विस्तारमा उपयोग गरिनेछ । त्यसैगरी बागमती नदीको सौन्दर्यकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गरिने अर्थ सचिव खनालले बताए ।

खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडीबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे । त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति एडीबीले उल्लेख्यमात्रामा सहायता रकम वृद्धि गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.