नेपाल मध्यम मानव विकास सूचकाङ्कमा, अझै ३४ प्रतिशत जनसंख्या बहुआयामिक गरिब

  २०७६ मंसिर २४ गते १६:२८     विकासन्युज

काठमाडौं ।  नेपाल मानव विकास सूचकाङ्कमा १४७ औं स्थानमा रहेको छ । सन् २०१८ मा नेपालको सो सूचकाङ्क ०.५७९ रहेको छ । सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार १ सय ८९ देशमध्ये नेपाल १४७ औँ स्थानमा देखिएको हो ।

नेपाल मध्यम मानव विकास सूचकाङ्कमा समावेश भएपनि दक्षिण एसियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन् । यूएनडिपीले अति उच्च मानव विकास सूचकाङ्क, उच्च मानव विकास सूचकाङ्क, मध्यम मानव विकास सूचकाङ्क र न्यून मानव विकास सूचकाङ्कमा विभाजन गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचकाङ्क औषतमा ०.५२ प्रतिशतले बढेको छ । सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकाङ्क ०.३८० बाट ०.५७९ पुगेकोे थियो । शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ ।

नेपालको सन् २०१८ को ०.५७९ को मानव विकास सूचकाङ्क मध्यम मानव विकास समूहका देशको औसत ०.६३४ भन्दा न्यून छ र दक्षिण एसियाली देशको औसत ०.६४२ भन्दा कम छ । दक्षिण एसियाको सन्दर्भमा, मानव विकास श्रेणी २०१८ र केही हदसम्म नेपाली जनसङ्ख्यासँग समानता राख्ने अफगानिस्तान र श्रीलङ्काको मानव विकास सूचकाङ्क श्रेणी १७० र १७१ मा समावेश छ ।

प्रतिवेदनमा असमानता समायोजन मानव विकास, सूचकाङ्क मानव विकास सूचकाङ्क र देशभित्रको मानव विकास उपलब्धिको आधारभूत गणना रहेको यूएनडिपीले जनाएको छ । सूचकाङ्कले देशको जनस्तरमा विद्यमान मानव विकास वितरणभित्र असमानताको अवस्था उजागर गर्छ ।

असमानता समायोजन मानव विकास सूचकाङ्क मुख्य गरी असमानता छुट दिने मानव विकास सूचकाङ्क हो । असमानताका कारण मानव विकासमा देखिने ‘नोक्सानी’ मानव विकास सूचकाङ्क र असमानता समायोजन मानव विकास सूचकाङ्कबीचको अन्तरले प्रस्तुत गर्ने प्रतिवेदनमा उल्लेख छ ।
असमानता समायोजन मानव विकास सूचकाङ्क १५० देशमा गणना गरिन्छ । श्रीलङ्काको असमानताका कारण १२.१ प्रतिशत नोक्सानी देखाएको छ । मध्यम मानव विकास सूचकाङ्क देशको औसत नोक्सानी २५.९ प्रतिशत रहेको छ भने दक्षिण एसियाका लागि २५.९ प्रतिशत छ । नेपालको भने मानव असमानता नोक्सानी २४.९ प्रतिशत बराबर रहेको छ ।

बहुआयामिक गरिबी सूचकाङ्क मानव विकास सूचकाङ्क सन् २०१० देखि शुरु भएको हो । त्यसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर समेटिन्छ । स्वास्थ्य र शिक्षाका आयाम दुई–दुई सूचकमा आधारित हुन्छन भने जीवनस्तरमा छ आयाम रहन्छन् । नेपालमा ३४ प्रतिशत जनसंख्या बहुआयामिक गरिब छन् भने २२.३ प्रतिशत जनता बहुआयामिक गरिबीप्रति संवेदनशील भनेर वर्गीकरण गरिएको छ । नेपालमा अभावको आयातन ४३.६ प्रतिशत छ जो बहुआयामिक गरिबीमा रहेका व्यक्तिले अनुभूत गरेको औसत अभाव अङ्क रहेको यूएनडिपीको प्रतिवेदनमा समावेश छ ।

प्रतिदिन १.९० अमेरिकी डलर क्रय शक्ति अनुपातभन्दा न्यून अवस्थामा जीवनयापन गरिरहेका जनसंख्यालाई बहुआयामिक गरिबीका रुपमा लिइन्छ । आय गरिबीको रेखाभन्दा माथि रहेका जनसंख्याले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा अभाव सामना गर्न पुगेका छन् । त्यस्तै जन्मदरको औषत आयु १६.१, विद्धमान शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ ले वृद्धि भएको छ ।

प्रतिवेदन सार्वजनिकको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले समानता बढाउन आम्दानी पनि बढ्नुपर्ने बताए । मानव विकास प्रतिवेदनले समाजका फरकफरक आयामलाई समेटने भन्दै उनले समानता समृद्धिसँगै आउने भएकाले त्यसका लागि स्रोतको समान वितरणदेखि नीतिगतरुपमा सुधार एवम् सहकार्यसमेत जरुरी रहेको बताए ।

नेपालमा हरेक वर्ष जसो गरिबी एक प्रतिशतका दरले घट्दै आएको भन्दै विकासित देशले अन्य देशको गरिबी तथा असमानता घटाउनका लागि के कस्तो प्रयास गरेका छन् भन्ने विषय पनि महत्वपूर्ण रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.