बीमा समितिले ‘हस् हजुर’ भन्दा ४० वटा बीमा कम्पनीलाई अनावश्यक आर्थिक भार

  २०७६ मंसिर २४ गते १०:५१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदा बीमा कम्पनीहरुलाई अनावश्यक आर्थिक भार थपिनुको साथै टाउको दुखाउने तनाव थपिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै नियामक निकायलाई निर्देशन दिदै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारात्मक कार्यमा सहयोग गर्ने भनेको छ । मन्त्रालयले भ्रमण वर्ष २०२० सँग सम्बन्धित र असम्बन्धित सबै निकायलाई यस्तो निर्देशन दिएको पाइएको छ ।

मन्त्रालयको असम्बन्धित निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदै ४० वटा बीमा कम्पनीलाई अनावश्यक आर्थिक भार पर्नेगरी ४ बुँदे निर्देशन दिएको छ ।

समितिले सबै बीमा कम्पनीलाई अबदेखि गरिने पत्राचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको छ । यो निर्देशन पालना गर्न सबै बीमा कम्पनीले नयाँ लेटरप्याड प्रिन्ट गर्नु पर्ने र त्यसले अनावश्यक रुपमा लाखौ रुपैयाँ आर्थिक भार थप्ने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

‘बीमा कम्पनीहरुको पत्रमा नेपाल भ्रमण वर्षको लोगो छापेर थप एक जना पनि विदेशी पर्यटक नेपाल आउनेवाला छैन । सरकारी अधिकारीहरुले कमन सेन्स पनि प्रयोग नगरी जारी गरेको निर्देशनले ४० वटा बीमा कम्पनीलाई आर्थिक भारको साथै अनावश्यक झन्झट थप्ने काम गरेको छ’ उनले भने ।

बीमा समितिले बीमा कम्पनीहरुको वेवसाइटमा पनि नेपाल भ्रमण वर्षको लागो राख्न, नेपाल भ्रमण वर्षको सचिवालयमा लिङ्क दिन पनि निर्देशन दिएको छ । त्यस्तै, बीमा कम्पनीहरुले प्रकाशन गर्ने बुलेटिन वा स्मारिकामा नेपाल भ्रमण वर्षको प्रचार प्रसारमा सहयोग पुग्ने लेख, रचना र प्रचार समाग्री प्रकाशित गर्न निर्देशन दिएको छ ।

‘प्रचार प्रसारको काम सञ्चार माध्यमको हो । बीमा कम्पनीको काम बीमा गर्ने हो’ बीमा कम्पनीलाई नेपाल भ्रमण वर्षको काम लगाउनु भनेको अत्यन्तै अनप्रोफेशनल कार्य हो’ अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले भने । ‘हामीले विदेशी पर्यटकको बीमा गर्न कानुनले दिँदैन । पर्यटकले विदेशमा नै बीमा गरेर नेपाल आउनुपर्छ’ उनले भने ‘विदेशी पर्यटन नेपाल आएपछि उनीहरुलाई बीमा कम्पनीले दिने सेवा केही पनि हुँदैन ।’

बीमा समितिले संस्थागत सुशासन निर्देशिकामा बीमा कम्पनीहरुलाई कुनै पनि नाममा उपहार दिन रोक लगाएकोमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने नाममा भने उपहार दिन निर्देशन दिएकोमा बीमा कम्पनीहरु चकित भएका छन् ।

बीमा समितिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिन, विदेशी मञ्जमा बक्तव्य दिनुपर्दा भ्रमण वर्षको जानकारी दिन, नेपालमा हुने अन्तराष्ट्रिय स्तरका कार्यक्रममा भ्रमण वर्षको प्रवद्र्धन डेस्क राखी प्रचार सामाग्री दिएको निर्देशन भने व्यवहारिक भएको बीमा कम्पनीहरुको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.