विदेशी र नेपाली नागरिकलाई हवाई भाडामा समान मूल्य कायम गर्न कार्यदलकाे सुझाव

  २०७६ मंसिर २२ गते १६:२०     विकासन्युज

काठमाडाैं । सरकारद्वारा गठित कार्यदलले विदेशी र नेपालीलाई हवाई  भाडामा समान मूल्य कायम गर्न निर्देशन दिएकाे छ । कार्यदलले हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सुझाव दिएको हाे ।

कार्यदलले एक प्रतिवेदन तयार पार्दै नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्ने र यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेकाे जनाएकाे छ ।

पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविध विषयमा सुझाव दिन  गठन गरेकाे कार्यदलले हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएकाे छ ।

नेपालमा आन्तरिक वायुसेवा कम्पनीले नेपाली र विदेशीका लागि फरक–फरक भाडा लिन्छन् । विदेशीहरु धेरै महंगो भाडा तिरेर हवाई यात्रा गर्न आकर्षित हुँदैनन् । त्यसकारण उनीहरु बाध्यता नपरेसम्म हवाई यात्रा गर्दैनन् । काठमाडौंबाट सुगम र नजिकका गन्तव्यमा मात्र गएर घुमघाम गरी फर्कने प्रवृत्ति उनीहरुमा हुन्छ । यसले पर्यटन विकासमा नै प्रभाव पार्ने निश्कर्ष कार्यदलको रहेको छ ।

विदेशीका लागि लिने भाडामध्ये ठूलो रकम टूर तथा टिकेटिङ एजेन्सीले लैजाने गरेका छन् । आन्तरिक उडानमा टिकट बेच्दा हवाई कम्पनीले टूर तथा टिकेटिङ एजेन्सीलाई ५० देखि ६० प्रतिशतसम्म कमिसन दिने गरेको भन्दै त्यस्तो कमिसन २० प्रतिशतमा झार्न सुझाव दिइएको छ ।

यस्ता छन् कार्यदलले दिएका सुझाव :

१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चौबिसै घन्टा उडान गर्न दिनु पर्ने ।

२. लिन आवर, नरमल आवर र पिक आवरमा उडान गर्नेहरुका लागि सोही अनुसार स्लट मिलाउँदै एरोनटिक शुल्क निर्धारण हुनु पर्ने ।

३. लिन आवरमा उडान गर्ने वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ तथा ग्राउन्ड ह्यान्डलिङमा विशेष छुटको व्यवस्था गर्नु पर्ने ।

४. आन्तरिक वायुसेवा कम्पनीहरुको कुल जहाज संख्याको ३० प्रतिशत जहाज नेपालगञ्ज, पोखरा र विराटनगरमा राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने ।

५. अन्तर्राष्ट्रिय टर्मिनल भवनको ट्रान्जिट हल, ट्रान्जिट कार्गो यार्ड तथा ड्युटी फ्रि सप सञ्चालनको व्यवस्था मिलाउनुपर्ने ।

६. अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई विमानस्थल भित्रबाटै आन्तरिक विमानस्थलमा जाने र आउने अलग्गै प्यासेजको व्यवस्था गर्नु पर्ने ।

७. केही समय तोकी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई निश्चित वित्तिय उत्पे्ररणाको व्यवस्था गर्ने ।

८. एयरसाइटमा उपलब्ध गराउने सेवाहरुको शुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर छुट तथा न्यूनीकरण गर्ने ।

९. नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई कम्तीमा ३ वर्ष ९पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत० का लागि वित्तीय उत्पे्ररणाको व्यवस्था गर्ने ।

१०. निश्चित संख्या वा फ्रिक्वेन्सीमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई स्वयं ग्राउन्ड ह्यान्डलिङ गर्न दिने र फ्लाइट क्याटरिङ्ग वा इन्जिनियरिङ ह्यांगर, एयरपोर्ट होटल सञ्चालन गर्न चाहेमा सहुलियत दरमा जग्गा लिजमा उपलबध गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.