दुई वर्षपछि त्रिभुवन विमानस्थलबाट वार्षिक ९० लाख यात्रु ओहोरदोहाेर गर्छन् : राजन पोखरेल

  २०७६ मंसिर २१ गते १६:५०     विकासन्युज

आज डिसेम्बर ७, अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस । सन् १९९४ देखि विश्वभर अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाउन थालिएको छ । सञ्चार र प्रविधिमा आएको विकासले संसारलाई सानो गाउँ बनाइदिएको छ, शब्द, आवाज र दृष्यमार्फत । आफै यात्रा गरेर संसार देख्न, अनुभूति गर्न र मज्जा लिन भने हवाई उड्डयनले संसारलाई सानो गाउँ जस्तै सहज बनाईदिएको छ । नेपालमा पनि हवाई सेवाको प्रयोगकर्ता बढ्दै गएका छन् । साथै, हवाई सेवा विस्तार, सुरक्षा र गुणस्तरको बारेमा पनि सर्बसाधारणको चासोको विषय बन्दै गएको छ । यस क्षेत्रको मुख्य सेवा प्रदायक र नियामक दुबै भूमिकामा रहेको नागरिक उड्डयन प्राधिकरणले के कस्तो काम गर्दै छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत विकासन्युजका लागि सन्ताेष राेकायाले नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग गरेको विकास वहस ।


करिब तीन दशकदेखि नागरिक उडड्यनको क्षेत्रमा काम गरिरहनु भएको छ । नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी समालेको पनि ५ महिना भइसकेको छ । तपाईको नेतृत्वमा हाल के के काम भईरहेका छन् ?

नागरिक उडड्यन क्षेत्र भनेको निरन्तर सुधार गर्दै जाने कुरा हो । मैले छुट्टै केही ल्याएर ठ्याक्कै देखाउने कुरा भन्दा पनि हामीले अन्तर्राष्ट्रिय नागरिक उडड्यन कुन तरिकाले गइरहेको छ, त्यो लाइनमा हामी जानु पर्ने हो । सन् १९९८ मा उडड्यन प्राधिकरण स्थापना भयो । २० वर्षको अवधिमा हवाई क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ ।

हामी नियामक पनि हौं । एयर ट्राफिक सेवा पनि प्रदान गर्छौं । एयरपोर्ट पनि चलाउँछौ र बनाउँछौं पनि । त्यसैले यो सबै काम गर्ने भन्दा पनि नियामकले नियामक मात्र भएर बस्नुपर्छ, सेवा प्रदायकले सेवा प्रदान गर्नुपर्छ भनेर यस संस्थालाई दुईटा बनाउने तयारीमा छौं । सोही बमोजिम एउटा नागरिक उडड्यन प्राधिकरण ऐन र अर्को हवाई सेवा प्राधिकरण ऐनको मस्र्यौदा तयार गरेर मन्त्रालयमा पठाइसकेका छौं । त्यो ऐनको रुपमा आईसकेपछि अहिलेको एउटा संस्था अन्तराष्ट्रिय मापदण्ड अनुसार दुई वटा बन्छ ।

दोस्रो कुरा हामीले विमानस्थल सञ्चालनमा पनि नयाँ मोडालिटीमा जानुपर्छ भन्ने अवधारणा ल्यायौं । जस्तै अहिले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यसलाई यथास्थितिमा सञ्चालन गर्ने भन्दा पनि अन्तराष्ट्रिय ख्याती प्राप्त संस्थालाई आवद्ध गराएर अथवा उनीहरुलाई लामो समयसम्म भाडामा दिएर सञ्चालन गर्ने भन्ने कन्सेप्ट हामीले ल्यायौं । सोही बमोजिम नेपाल सरकारसमक्ष प्रपोजल दिएर हामीले जर्मनको म्युनिक एयरपोर्टसँग सहकार्य गरी विमानस्थल सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । सोही बमोजिम म्युनिक एयरपोर्टसँग हाम्रो वार्ता अगाडि बढिरहेको छ ।

अर्को हामीले नागरिक उडड्यन तालिम संस्था स्थापना गरेर नयाँ अवधारणामा जानेकी भन्ने सोचिरहेका छौं । अहिले प्राधिकरणले सञ्चालन तालिम विभागलाई ट्रेनिङ इन्स्टिच्यूटको रुपमा लैजाने, त्यसमा अरु स्टेकहोल्डरलाई पनि सहभागि गराउने र हवाई क्षेत्रमा आवश्यक पाइलटदेखि सबै प्रकारको जनशक्ति तयार गर्न काम गर्ने सोचका साथ अगाडि बढेका छौं ।

त्यस्तै, विभिन्न ठाउँमा विमानस्थल निर्माणदेखि स्तरवृद्धिसम्म काम भईरहेको छ । पोखरा एयरपोर्ट पनि दुर्त गतिमा निर्माण भइरहेको छ । त्रिभुवन विमानस्थलको पनि अवस्था जिर्ण थियो । त्यसको पनि स्तरोन्नती गरिरहेका छौं । त्यसको पुर्नउद्धार गरेपछि रनवेमा चिरा पर्यो, पानी आयो भन्ने गुनासा आएका छैनन् । यहि डिसेम्बर भित्रै हामी रनवे र ट्याक्सीवेको निर्माण सम्पन्न गर्दैछौं । अहिले जसरी जहाज आकाशमा होल्डिङ भइरहेको अवस्था छ, स्तरवृद्धिसँगै त्यसमा सुधार हुन्छ ।

हवाई कुटनीतिमा पनि धेरै देशसँग समझदारी भएको छ । यसले पनि अन्तराष्ट्रिय हवाई सेवामा सहजिकरण गरेको छ । म्यानमारसँगको रुट बन्द हुने अवस्था थियो उनीहरुसँग वार्ता भएर फेरी त्यो सुचारु भएको छ । हाम्रो हवाई सेवा उडानको क्षेत्रमा राम्रो सुधार भएको छ ।

यूरोपियन यूनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचिमा राखेको धेरै वर्ष भयो । यसलाई हटाउन के कस्ता प्रक्रियाहरु भइरहेका छन् ?

उनीहरुमा नेपालमा धेरै हवाई दुर्घटना हुन्छ, नेपालमा हवाई सेवा प्रदायक संस्था पनि एउटै छ, नियामक निकाय पनि एउटै छ भन्ने परेको छ । हामीले ती धेरै जसो कुराहरु सुधार गरिसकेका छौं । नेपालका हवाई दुर्घटना दर पनि धेरै घटाइसकेका छौं । दुर्घटना रोकिन्छ भनेर ग्यारेन्टी गर्न सक्दैनौं । दुर्घटना कसैले पनि रोक्न सक्दैन तर न्युन गर्न सकिन्छ । यसमा एयरलाइन्स अपरेटरहरुको पनि उतिकै भूमिका छ । त्यसैले यो प्रतिबन्ध खोल्नका लागि समय समयमा वार्ताहरु भइरहेका छन् । आशा गरौं यो छिट्टै नै खोलिन्छ ।

पहिले नेपालमा विमान असुरक्षित मानिन्थ्यो । पछिल्लो समयमा हेलिकप्टरको पनि दुर्घटना बढ्न थालेका छन्, यसको कारण के होला ?

हो, वास्तवमा त्यो बढेको हो । अन्तर्राष्ट्रिय नागरिक उडड्यनको सन्दर्भमा हेर्दा हेलिकप्टर र हवाई जहाज दुर्घटना फरक मानिन्छ । हेलिकप्टर आफैमा कम्प्लेक्स सिस्टम हो । अन्तराष्ट्रिय स्तरमा यसको दुर्घटना एकदमै उच्च छ । तर विदेशमा भन्दा पनि नेपालका दुर्घटना उच्च छ । हाम्रो जुन भौगोलिक अवस्था छ यसमा पनि भर पर्ने कुरा हो । धेरै ठूला पहाडहरुमा गएर रेस्क्यु गर्नुपर्ने अवस्था छ । यति ठूला पहाडहरु अन्य देशमा छैनन् । हाम्रा संरचनाहरु नै जोखिमपूर्ण छन् । तर हामीले सञ्चालन त गर्नु पर्यो । उहाँहरुको अड्केको कुरा हवाई सेवा प्रदायक र नियामक एउटै संस्था हुनु भएन भन्ने हो । त्यसतर्फ हामी अगाडि बढि नै रहेका छौं ।

प्राधिकरणलाई नियामक र सेवाप्रदाय अलग अलग बनाउन कति समय लाग्छ ? अलग अलग संस्था बन्दा अहिलेको क्यानको जनशक्ति र भौतिक संरचना बाँडिन्छ वा छुट्टै जनशक्ति तयार हुन्छ ?

यसको ऐन क्याविनेटमा गएको छ । यो छिट्टै होला भन्ने हामी अपेक्षा गरौं । यसलाई छुट्याउन हामीलाई त्यति समस्या हुँदैन ।

एउटै संस्थाबाट प्राधिकरण र सेवा प्रदायक संस्था सिर्जना गर्दा पछि दुई संस्थाबीच शक्तिको द्वन्द्व हुने अवस्था हुन्छ नि ?

यिनी दुई संस्थाको काम आ-आफ्नो हुन्छ । प्राधिकरणले नियमन गर्छ भने सेवा प्रदायक संस्थाले विमानस्थलको व्यवस्थापन गर्ने, विमानस्थलको सञ्चालन गर्ने लगायतका अन्य सेवा प्रदायक कार्यहरु गर्नेछ । दुवै निकायले ऐन बमोजिम नै काम गर्नु पर्ने हुन्छ । आ-आफ्नो अधिकार प्रयोग गर्ने हो । यसमा कुनै शक्तिको द्वन्द्व हुँदैन । अहिले सुरुमा हामीले कर्मचारीहरुलाई पनि सन्तुष्ट पार्नै पर्छ । यो क्रमिक रुपमा हुने कुरा हो । कर्मचारीले पनि कसरी जानुपर्छ भनेर बुझि सकेका छन् । उहाँहरुलाई पनि विकल्प छ । उहाँहरु आफ्नो योग्यता क्षमता अनुसार जता पनि बस्न सक्नुहुन्छ । त्यसैले हामीले यो बाटो रोजेका हौं ।

अब नेपाल भ्रमण वर्ष २०२० पनि सुुरु हुँदैछ । नेपाल आउने पर्यटकको लागि एउटा मात्र सुविधा छ हवाई जहाजमा यात्रा गर्नु । यो अवस्थामा विदेशी पर्यटकलाई प्रोत्साहित गर्न तथा नेपालसँगको कनेक्टीभिटी बढाउन के कस्ता प्रयास भइरहेका छन् ?

हामीले हाम्रो भौतिक पूर्वाधारहरुको क्षमता वृद्धि गर्ने हो । हामी एयरपोर्टको पनि सञ्चालक भएको नाताले उडान गर्नका लागि आउने डिमाण्ड छ त्यसलाई सहजिकरण गर्ने काम पनि हाम्रो हो । हामीले हाम्रो विमानस्थलको भौतिक संरचना सुधारतफै धेरै काम गरिरहेका छौं । हामीले गुरुयोजना नै बनाएर अगाडि बढाइरहेका छौं । अन्तराष्ट्रिय उडानतर्फ जहाज पार्किङ विस्तार गरेका छौं । त्यस्तै हामीले टर्मिनलको पनि विस्तार गरेका छौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो सीमित क्षेत्र छ । हामी त्यहाँ धेरै गर्न सक्दैनौं । त्यो सीमित जग्गामा मात्र सकेजति भौतिक संरचना बनाउने हो । धेरै काम सम्पन्न हुने अवस्थामा छन् । यो अवस्थामा हामीले धेरै विमानस्थल सुधार गरेका छौं । पश्चिममा धनगढीदेखि पूर्वमा चन्द्रगढीसम्मका विमानस्थलमा स्तरोन्नती गर्ने काम गरेका छौं । यसले हवाई सेवाको सुनिश्चितता वृद्धि हुन्छ ।

नेकोन एयर, विवि एयर, फ्लाई यति, बुद्ध लगायत नेपालका निजी क्षेत्रका हवाई सेवा प्रदायक विदेश गए, तर असफल भए । हिमालय एयरले पनि राम्रो गर्न सकेको छैन । नेपाली एयरलाईन्सले अन्तराष्ट्रिय बजारमा किन प्रतिस्पर्धा गर्न सकेनन् ?

हवाई सेवा भनेको प्रतिस्पर्धाको विजनेस हो । विश्वका ठूला–ठूला र चर्चित हवाई कम्पनी पनि बन्द भएका छन् । जस्तै जेट एयरवेयजकै कुरा गरौं, त्यो भन्दा पहिला किङफिसर पनि बन्द भयो । अहिले एयर ईण्डियालाई पनि भारत सरकारले बिक्रीमा राखेको छ । त्यो दुई पटक प्रयास गर्दा पनि बिक्री हुन सकेको छैन । जति अन्तर्राष्ट्रिय कनेक्टीभिटी राम्रो भएको हवाई कम्पनीहरु पनि बन्द भएका छन् ।

नेपाल वायुसेवा निगमको जम्मा चारवटा जहाज छ । हिमाल एयरलाइन्सको तीन वटा छ । उहाँहरुको विदेशी कम्पनीहरुसँग व्यापारीक साझेदारी छैन । त्यसैले उहाँहरुको लागि पनि बजार विस्तार गर्न सजिलो छैन । नेपाली एयरलाइन्सहरुलाई गाह्रो छ । हाम्रो इन्धनको मूल्य बढी छ । अरु देशको तुलनामा हाम्रो देशको इन्धनको मूल्य ४० प्रतिशतले बढी छ । ३० प्रतिशतभन्दा बढी सञ्चालन खर्च इन्धनले ओगटेको हुन्छ । यी सबै कारणले हाम्रा एयरलाइन्सहरुलाई गाह्रो छ । तर पनि उनीहरु सञ्चालनमा छन् ।

नेपालमा स्थापना गरिएका धेरै एयरलाइन्सहरु चल्न नसकेर बन्द भएको अवस्था छ । एयरलाइन्स खोल्ने तर फेरी बन्द हुने अवस्था किन आयो ?

एयरलाइन्सलाई कसरी दिगो गर्ने भन्ने कुरामा हामी कहाँ समस्या पक्कै छ । सरकारको तर्फबाट कतिपय सुविधाहरु दिन पनि सकिएको छैन । विदेशमा एयरलान्सहरुलाई करमा छुट, कस्टम ड्यूटीमा छुट दिएको पाइन्छ, त्यो हामी कहाँ छैन । त्यो सँगै हाम्रोमा सञ्चालन खर्च धेरै महँगो छ । हवाईका पाटपूर्जादेखि मर्मत सम्भारका कामहरु पनि विदेश मै गर्नुपर्छ । यी विविध कारणले वायुसेवा कम्पनीलाई महँगो लागतमा सेवा सञ्चालन गर्नु पर्ने अवस्था छ । त्यहि भएर पनि उनीहरु घाटामा जाने गरेका छन् । अन्तराष्ट्रिय ख्याती प्राप्त कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अर्को समस्या छ । विश्वका धेरै देशमा मार्केटिङ साझेदारी भएको, कनेक्टीभिटी व्यापक भएको कम्पनीहरुसँग नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नुपर्ने कारणले पनि यो अवस्था आएको हो ।

पछिल्ला वर्षहरुमा नेपाली हवाई क्षेत्रको बजार विस्तार कतिको छ ?

पछिल्लो अवस्थामा हवाई कम्पनीहरुले विभिन्न ठाउँमा उडान पनि थपिरहेका छन् । सबैले धेरै राम्रा जहाज भित्र्याएका छन् । यसले पनि हवाई क्षेत्रका विविध गतिविधिहरु बढिरहेको देखाउँछ । हामीले सन् २०१७/०१८ को तथ्याङ्क हेर्ने हो भने डोमेस्टिकतर्फ करिब १५ प्रतिशत ट्राफिक ग्रोथ छ, प्यासेन्जर ग्रोथ छ । अन्तराष्ट्रियतर्फ १२ प्रतिशत ग्रोथ छ । यो उच्च वृद्धिदर हो । विश्वव्यापी रुपमा ७/८ प्रतिशतको बीचमा ग्रोथ भएको पाईन्छ । त्यसले गर्दा हाम्रो बजार विस्तार उल्लेखनिय रुपमा छ । यो वृद्धिलाई धान्नका लागि हामीले समयमै केही निर्णय गर्नु पर्ने हुन्छ । गत वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईतर्फी ७२ लाख यात्रुले यात्रा गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता भनेको ९० लाख हो । २०२१ भित्रै यहि वृद्धिदर कायम रह्यो भने ९० लाख नाघ्छ ।

तपाईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९० लाख क्षमता हो, ७२ लाखले यात्रा गरे भन्नुभयो । थप १८ लाख मानिस ओहोरदोहोर गर्ने ठाउँ बाँकी नै रहेछ तर आकाशमा हवाई जाम किन हुन्छ ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसमको कारणले गर्दाखेरि विमान उडानमा ढिला भईराखेको हुन्छ । बिहान ७ बजे उड्नु पर्ने जहाज ९ बजे उड्नु पर्ने अवस्था आएपछि दिनभर नै ट्राफिक पक्कै हुन्छ । दोस्रो कुरा, हाम्रोमा रनवे ट्याक्सीवेको मर्मत सम्भारको काम भइरहेको थियो । ट्याक्सीवेबाट रनवेमा जानुपर्ने जहाज रनवेभित्रै छिरेर रनवेमै गुडिराख्नु पर्ने भएका कारणले उसले धेरै समय ओगट्यो । बढीमा २ मिनेट ओगट्नु पर्ने रनवे ४ मिनेट लाग्न गयो । यसले गर्दा जहाज होल्ड हुनु पर्ने अवस्था आयो । अहिले ट्राफिक ग्रोथ हाई छ । पार्किङको काम भइरहेको छ । समयमै जहाजले पार्किङमा आउन पाएन । यसले गर्दा जहाज आकाशमै होल्ड गर्नु पर्ने अवस्था रह्यो । विस्तार कार्य सकिएपछि यस्तो समस्या रहदैन ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएको छ । हामीमा हवाई ट्राफिकको समस्या छ । त्यो समयमा यो समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

त्यतिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भार भइरहेका संरचनाहरुको निर्माण गरी सकिन्छ । यसले केही हदसम्म सजिलो बनाउन मद्दत गर्छ तर पुरा समाधान यो चाहिँ होइन । पुरा समाधान भनेकोे हाम्रो निजगढ बनाउनु पर्छ, जुन धेरै ढिलो भइसकेको छ । हामी दुई दशकदेखि कुरा गरिरहेका छौं । यद्यपी यसतर्फ उल्लेखनिय काम हुन सकिरहेको छैन ।

भ्रमण वर्ष २०२० मा विदेशी पर्यटकहरु नेपाल भित्र्याउन हवाईको क्षेत्रमा उनीहरुलाई केही छुट तथा स्किमहरु प्रदान गरिएका छन् की छैनन् ?
हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छुट दिनु पर्ने जस्तो अवस्था लाग्दैन । हामीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको बेलामा खास अवधिसम्म केही छुट दिने केही स्किमहरु नेपाल सरकार समक्ष प्रस्ताव गरेका छौं । नेपाल सरकारले एउटा कार्यदल गठन गरेर एयरलाइन्सबाट केही छुट दिन सकिन्छ की भनेर कुरा भइरहेको छ । त्यसबारे उहाँहरुले अध्ययन गरिरहनु भएको छ । तर मेरो विचारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षित गर्नको लागि भन्दा पनि भैरहवामा आकर्षित गर्न आवश्यक छ जस्तो लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त हामी ट्राफिक बढी भएर आजित छौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने भनिएको छ, यसको प्रक्रिया के भइरहेको छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जुन भवन छ त्यो आफैमा बुटिक खालको छ । त्यसभित्र अलिकति नेपालीपन, नेपालको मौलिकता झल्किने गरी बनाउने काम भइरहेको छ । अहिले विभिन्न मूर्ति राख्ने, पेन्टिङ गर्ने काम भइरहेको छ । केही काम मात्र बाँकी छ, यसको धेरै काम भइसकेको छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिइएका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण प्रक्रिया के कस्तो भइरहेको छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८५ प्रतिशत पुगिसकेको अवस्था छ । अब दुई तीन महिनाभित्रै सबै इक्विमेन्ट इन्स्टल हुन्छ । यदि यहि गतिमा काकम भयो भने मार्चसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल तयार भइसकेपछि त्यसको प्रमाणिकरण गर्नुपर्ने हुन्छ । अपरेसन टेष्ट गर्नु पर्ने हुन्छ । ती सबै काम सम्पन्न गरिसकेपछि हामी टेष्ट ल्याण्डिङ गर्छौं । दोस्रो, पोखरा विमानस्थलको २०२१ को जुनमा सम्पन्न हुने लक्ष्य हो । २०२० को डिसेम्बरमै सम्पन्न हुने हिसावले काम भइरहेको छ । निजगढ विमानस्थल बनाउन जर्मनको ज्युरिक विमानस्थलले इच्छा व्यक्त गरेको छ । त्यसतर्फ लगानी बोर्डले काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.