बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र

  २०७६ मंसिर २१ गते १४:५६     विकासन्युज

मुस्ताङ। दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको ११० किलोमिटर सडकमा सातवटा प्याकेज छन् ।

म्याग्दीको गलेश्वर–नारच्याङ पुल, मुस्ताङको कोवाङ–जोमसोम र चराङ–छोसेर खण्डको सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले समयमा काम नगर्दा चीनको सिमाना कोरला नाका जोड्ने सडक अलपत्र परेको छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रका लागि निर्माण कम्पनीहरुसँग पहिलो चरणमा भएको सम्झौताको म्याद मङ्सिर १५ गते सकिएको छ । जोमसोम–कोरला सडकको पनि तेस्रो पटक थपिने म्याद आगामी असारमा सकिँदै छ ।

गलेश्वरदेखि नारच्याङ पुलसम्मको १९ किलोमिटर, कोवाङदेखि जामसोम १९ किलोमिटर र चराङदेखि छोसेर २५ किलोमिटर सडकको काम ठप्प भएको छ । गलेश्वर–नारच्याङ पुल खण्डको सडक कालोपत्र गर्न ठेक्का शर्मा–युनाइटेड जेभीले लिएको थियो । कोवाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । कोशी एन्ड न्यौपाने जेभीले छ महिनादेखि रोकिएको सडकको काम अझै अघि बढाएको छैन ।

सुरआती चरणमा कोशी एन्ड न्यौपानेले तीव्र गतिमा अघि बढाएको भए पनि पछिल्लो अवस्थामा काम रोकिएको हो । मुस्ताङको मार्फादेखि टुकुचेसम्म ग्राभेल पूरा गरेपछि व्यवसायीले काम नगरेकाले सडक अलपत्र परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताए।

व्यवसायीको लापरवाही र सम्बद्ध कार्यालयका प्राविधिक तथा कर्मचारीको बेवास्ताले आयोजनाको बजार क्षेत्रका सडकमा काम हुन नसकेको उहाँले बताए । सडक निर्माणमा भएको ढिलाइले जोमसोम, मार्फा, पुथाङलगायत बजार क्षेत्रमा अन्य विकासका पूर्वाधारको काम गर्न गाउँपालिकालाई अप्ठ्यारो परेको अध्यक्ष थकालीको भनाइ छ ।

कम्पनीले कोवाङदेखि जोमसोम खण्ड करिब ६२ करोड र चराङदेखि छोसेर खण्ड करिब रु २६ करोडमा सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार साबिक कम्पनीले तल्लो खण्डमा ५० र उपल्लो खण्डमा ६२ प्रतिशत काम गरेको छ ।

गलेश्वर–नारच्याङ पुल खण्डको काम पनि करिब ५० प्रतिशत भएको छ । कोशी एन्ड न्यौपानेकै नाम हटाएर साबिक कम्पनीको नाम सप्तकोशी एन्ड जलाधार कन्सट्रक्शन राखिएको परियोजना प्रबन्धक सहदेव गौतमले जानकारी दिनुभयो । उनले कोशी एन्ड न्यौपानेले थालेका सबै काम अब नयाँ कम्पनीले सञ्चालन गर्ने बताए ।

जोमसोम–कोरला सडकको छोसेरदेखि कोरला नाकाको २४ नं गेटसम्मको सडक ११ मिटर फराकिलो र ग्राभेल गर्ने काम एक वर्षअघि नै सकिएको थियो । जोमसोमदेखि छुसाङसम्मको सडक स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.