एनएमबि बैंकका अध्यक्ष पवनको टिप्पणी-‘ग्लोबल आइएमई र जनता बैंकको मर्ज डरलाग्दो’

  २०७६ मंसिर २० गते १३:५२     विकासन्युज

काठमाडौं । साँघुराे हलमा खचाखच मानिसको उपस्थिति थियो । कतिसम्म भने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बस्ने सिट पाएनन् ।

ग्लोबल आईएमई र जनता बैंकबीच मर्ज भई एकिकृत कारोबार गर्ने कार्यक्रमको यहि भिडमा जिम्मेवार व्यक्तिको भनाई आयो- ‘यो मर्ज डरलाग्दो छ ।’

बोल्ने व्यक्ति कच्चा खेलाडी थिएनन् । बलिया र पाका ।

उनले फ्लोरबाट चिच्याएका थिएनन् । मञ्चमा उभिएर बोलेका थिए । आयोजकले वक्ता अथितिको रुपमा निम्त्याएका थिए ।


उनी थिए- हालै स्थापना भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यान । उनी एनएमबी बैंकमा अध्यक्ष पनि हुन् ।

‘म ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनको टिमलाई बधाई दिन्छु । तर यो डरलाग्दो मर्ज हो । २४ अर्ब रुपैयाँ लगानी भनेको ठूलो पैसा हो’ गोल्यानले भने । हल चकवन्न रह्यो ।

कुरो यतिमा सीमित रहेन् । उद्घाटन कार्यक्रमलाई बैंकर्स ज्ञानेन्द्र प्रसाद ढुंगानाले पनि सम्बोधन गरे, नेपाल बैंकर्स संघको अध्यक्षको हैसिएतमा ।

उनले मर्जलाई मलजल गर्दै भने- ‘चन्द्रप्रसाद ढकालले चाहेमा सक्नु हुन्छ । अझ २/३ वटा वाणिज्य बैंक मर्ज गराउनुहोस् । त्यसपछि बजार साइजमा आउँछ ।’ उनको भनाईमा धेरैले ताली बजाएर समर्थन गरे ।

नेपाल चेम्बेर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मर्ज भएर बैंक ठूलो भएको, धेरै नाफा कमाएको तर ऋणीले सस्तो व्याजमा कर्जा नपाएको बताए ।

जवाफमा गभर्नर चिरञ्जीवि नेपालको तपाई कुन कुन बैंकको प्रमोटर हो भनेर सोधे । ‘यति डेभलपमेन्ट बैंक हो कि सांग्रिला डेभलपमेन्ट बैंकमा तपाईलाई बोर्डमा देखेको थिए । तपाई आफै बैंकर्स, आफै व्यापारी । दोहोरो लाभको कुरा नगर्नुहोस्’ गभर्नर नेपालले अलि झोक्किएरै भने ।

‘हिजोसम्म नेपाली बैंकर्सको लगानी क्षमतामा प्रश्न थियो । अब ठूला बैंक आए । ठूलो लगानी पनि हुन्छ’ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने-‘ठूलो बैंक भएपछि लागत घट्छ । त्यसको लाभ उपभोक्ताले पाउँछन् भन्नेमा म आशावादी छु । अब साना, मझौला र ठूला व्यवसायीले पनि सस्तो व्याजमा कर्जा पाउनेमा म विश्वस्त छु ।’


शेखरको भनाईमा अर्थमन्त्री युवराज खतिवडाले असमति जनाए । ‘बैंकर्सहरुले साढे १० प्रतिशत व्याजमा डिबेञ्चर जारी गर्दा तपाईहरु खुशी हुने, अनि साढे ९ प्रतिशत व्याजमा कर्जा माग्ने काम नगर्नुहोस् ।’

बैंकले लिने दिने व्याजमा असन्तुलन हुँदा संस्था संकटमा पर्ने अनुभव सुनाए । ‘म पनि एउटा वित्तीय संस्थाको सञ्चालक समितिमा थिँए । निक्षेपकर्तालाई १३ प्रतिशत व्याज दिने र १२.५ प्रतिशतमा कर्जा हुन थाल्यो । नमिल्ने काम भएको थियो । त्यो संस्था अहिले अस्तित्वमा छैन’ अर्थमन्त्रीले आफू सञ्चालक भएको संस्थाको नाम खुलाउन चाहेनन् ।

चलाउन नजान्ने मान्छेले चलाउन खोज्दा धेरै बैंक तथा वित्तीय संस्थाले अस्तित्व गुमाएको बताए । आफू गभर्नर हुँदा विश्व बैंकले ६५ वटा बैंक तथा वित्तीय संस्था खारेज गर्नु पर्ने सुझाव दिएकोमा आफूले मर्जरको बाटो राेजेको पनि उनले स्मरण गरे ।

सम्बन्धित समाचार

‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’, आजबाट ग्लाेबल आइएमई नेपालकाे सबैभन्दा ठूलाे बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.