१० रुपैयाँ लिएर काठमाडौं छिरेकी निमी, जो अर्बौं सम्पतिकाे मालिक्नी बनिन्

  २०७६ मंसिर १९ गते १३:३९     सुनिता पुडासैनी

काठमाडाैं ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ उद्देश्य र संघर्ष विनाको मान्छेले सफलता प्राप्त गर्न सक्दैन भन्ने आशय यो वाक्यांशले प्रष्ट झल्काएको छ । यो वाक्यांश आफैमा गहन र वजनी छ ।  बुझ्नेहरुका लागि यसले नै जीवनको संघर्ष सिकाउँछ । मान्छेलाई उत्प्रेरणा जगाउँछ यो वाक्यांशले । पसिना कर्मसँग सम्बन्धित विषय हो, मान्छेको सफलता वा असफलतालाई निर्धारण गर्ने कर्मको महिमालाई उत्तिबेलै कवितामार्फत सबैमा प्रेरणा प्रदान गरेका देवकोटाकै वाक्यांशसँग सम्बन्धित छ सोलुखुम्बुकी निमी शेर्पाको जीवन कहानी ।

सोलुखुम्बुको जुनवेशीमा वि.स २०१६ सालमा जन्मिएकी निमी एक सफल पर्यटन व्यवसायीका नामले परिचित छन् । उनी सफल पर्यटन व्यवसायीमात्र होइनन् महिलाको पक्षमा दह्रो वकालत गर्ने एक सक्षम नारी पनि हुन् । जो अहिले नेपाल शेर्पा महिला संघको प्रमुखको रुपमा काम गरि रहेकी छन् ।  गरिबलाई सहयोग गर्ने, आवाजविहीनहरुको आवाज बन्ने र उत्पीडित महिलाहरुलाई सकेसम्म सहयोग गर्ने भावनाकी उनी एक प्रखर वक्ता पनि हुन् ।

समाजको अगाडि केही गरेर देखाउनु पर्छ भन्ने मानसिकता उनले सानैदेखि बोकिन् । शैक्षिक योग्यतामा उनले औपचारिक शिक्षा भने लिन सकिनन् तर उनलाई अंग्रेजी बोल्न भने त्यति गाह्रो लाग्दैन । उनी सजिलै अंग्रेजी फरर बोल्न सक्छिन् । ‘त्यो समयमा छोरीलाई पढाउनु हुन्न भन्ने थियो’ उनले भनिन्, महिलाले केही गर्न सक्दैनन् भन्ने पितृसत्तात्मक समाज सहन नसकेर १३ वर्षको उमेरमा काठमाडौं आएँ ।

१० रुपैयाँ लिएर काठमाडौंमा

निमी शेर्पा १३ वर्षकी थिइन् । अहिलेको समयमा १३ वर्षको छोरी घरबाट बाहिर लगाउन सायद जो कोहीले  पनि मान्दैन । १३ वर्षको बालिकाले पनि त्यति आँट गर्दैन । तर निमीलाई भने उनको १३ वर्षले छेकेन । उनी १३ वर्षकै उमेरमा घर छोडेर काठमाडौं आइन् । उनी वि.स २०२९ सालमा १० रुपैयाँ लिएर गाँउबाट काठमाडौंमा भागेर आएको बताउँछिन् । ‘त्यो समयमा १० रुपैयाँ पनि धेरै मानिन्थ्यो’ उनी भन्छिन्, १० रुपैयाँ लिएर काठमाडौं आएँ, काठमाडौंमा आफन्तको डेरामा बसेँ ।’

आफ्नै बुबाले छोरा नभएको भन्दै आमालाई गरेका ती व्यवहारले सानै उमेरदेखि आफुलाई केही बुझ्न उत्प्रेरित गरेको उनी सुनाउँछिन् । गाइडकै काम गरेर जिविकाेपार्जन गर्ने संस्कारमा हुर्केकी निमीले विद्यालय भने जाने अवसर प्राप्त गर्न सकिनन् । १०/१२ वर्षके उमेरमा नै छोरी घरमा राख्ने जात होइन अब विवाह गर्नुपर्छ भन्ने कुरा घरमा सुनेपछि उनले घर छाडेर काठमाडौं आइन् ।

मध्यवर्गीय परिवारमा जन्मेकी निमी शेर्पाको बुवा सगरमाथा चढ्ने पर्वतारोहीहरुको सहयोगीको रुपमा काम गर्थे । पितृसतात्मक समाजमा हुर्किएकी उनलाई समाजले गर्दै आएको व्यवहार भने कत्ति पनि मन पर्दैनथ्यो । निमीका बुवाले दुई विवाह गरेका थिए । उनी भने जेठी आमाबाटकी छोरी । सानै उमेरदेखि आफ्नै घरमा घरेलु हिंसा देख्दै आएकी निमीले प्रतिकारको माध्यम प्रयोग गरिन् । त्यो थियो उनको काठमाडौं भागेर आउने योजना ।

काठमाडाैंमा आफन्तको घरमा बस्दै गर्दा उनलाई केही नराम्रो व्यबहार गरेको महसुस भयो । त्यसले पनि उनको मनस्थितीलाई कमजोर बनायो । त्यो व्यवहारले उनलाई केही गर्न उत्प्रेरित बनायो । यो सँगै उनले एउटा कार्पेट फ्याट्रीमा काम गर्न थालिन् ।

कार्पेट फ्याक्ट्रीले जुराएको प्रेम

१३ वर्षकै उमेरमा उनले काठमाडौंमै एक कार्पेट फ्याक्ट्रीमा काम गर्न सुरु गरिन् । काम सुरु गरेसँगै उनी एक्लै बस्न थालिन् । ‘ती दिनहरु क्या दिक्दार लाग्थे, उनले विकास न्युजसँग भनिन्’, एक्लै भएपछि साथीको पनि आवश्यकता पर्दो रहेछ, कार्पेट फ्याक्ट्रीमै काम गर्दा सोलुखुम्बुकै लाक्पालुर्गु शेर्पासँग भेट भयो ।

जो पर्यटकहरुको गाइडको रुपमा काम गर्थे । उनै लाक्पालुर्गुसँग मेरो उठबस् बढ्यो । ‘उनीसँग भेट भएको एक वर्षपछि उनले मसँग विवाहको प्रस्ताव राखे, मलाई पनि काठमाडौं जस्तो ठाउँमा एक्लै बस्न गाह्रो भएपछि १४ वर्षकै उमेरमा उनीसँग विवाह गरेँ ।’ उनले भनिन् ।

श्रीमानको ट्रेकिङ्ग गाइडको काम, उनको भने कार्पेट फ्याक्ट्री उनले त्यो काम छोड्ने योजना बनाइन् । निमीले एक वर्षदेखि कार्पेट फ्याक्ट्रीमा गर्दै आएको काम पनि छोडिन् । उनका श्रीमान ट्रेकिङ्ग गाइड रहेकै कारण उनले पनि आफ्नो श्रीमानसँगै जानका लागि गाइडलाई चिया नास्ता बनाउने काम सुरु गरिन् । अब सुरु भयो उनको पर्यटन क्षेत्रको यात्रा ।

पर्यटन क्षेत्रको यात्रा

निमी शेर्पा हिमालकी छोरी हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि सोलुखुम्बुमै पर्छ । घरको अगाडी ठडिएको सेताम्य हिमालहरुमा चिप्लेटी खेल्नु उनको सानैदेखिको रहर हो । आफ्नै जिल्लामा बसेर केही गर्ने  सोच भएकी उनी समाजको व्यवहार र साँघुरो सोचका कारण काठमाडौं छिरेको बताउँछिन् ।

श्रीमानसँगै हिडडुल भएपछि उनले पनि पर्यटन क्षेत्रको समग्र विषयहरु बुझ्ने मौका पाइन् । उनकाे पर्यटकहरुलाई बाटो देखाउने, हिमाल चढ्ने काम पनि तिब्र रुपमा अघि बढ्यो । निमीसँग सगरमाथामा चढ्ने नेपालकै पहिलो महिला पासाङ्ग ल्हामु शेर्पासँग यात्रा गरेका अनुभवहरु पनि धेरै छन् । त्यो दौरानमा उनले पर्यटन क्षेत्रको धेरै ज्ञान हाँसिल गरिन् ।

पर्यटन क्षेत्रको ज्ञान पाएसँगै उनले आफ्नै पर्यटन व्यवसाय सुरु गर्ने योजना बनाइन् । उनले वि.स २०५३ मा ट्रेकिङ्ग व्यवसाय सुरु गरिन् । यो अवधिसम्म आइपुग्दा उनका दुख.सुख हाँसो रोदनका क्षणहरु अनगिन्ती छन् । ‘परिश्रम गर फलको आश नगर’ वाक्यांश निमीले कहिल्यै भुलिनन् ।

यो वाक्यांशलाई आत्मसाथ गर्दै उनी अगाडि बढि रहिन् । संघर्षविना फलको आशा गर्नेले पवृतिको कारण धनी धनी नै र गरिब गरिबीमा नै रुमल्लिएको उनले बताइन् । नेपालको अर्थतन्त्रमा पर्यटनले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनी बताउँछिन् ।

हाल उनी महिला हिंसामा परेका महिलाको लागि सीप तथा तालिम प्रदान गर्दै आएकी छन् । १२ वर्ष अगाडि शेर्पा महिला संघको शुरुवात गरी आपत विपतमा परेका महिलाका लागि उनी काम गर्दै आएकी छन् । जब मानव जीवनमा केही गर्ने इच्छा शक्ति हुन्छ उसले काम गर्दै जाँदा सफल बन्छ भन्ने उदाहरण निमीको जीवन कहानीबाट छर्लङ्ग हुन्छ ।

पर्यटन क्षेत्रबाट उनले उल्लेख्य कमाएकी छन् । पर्यटन क्षेत्रले नै उनको श्रीसम्पती जोडिएको छ । अहिले उनको काठमाडौंमै दुइवटा घर छन् । आफ्नै ट्रेकिङ एजेन्सी छ । ‘पर्यटनबाट पनि धेरै कमाउन सकिन्छ’, उनी भन्छिन् मानिसले धैर्य गर्न सक्नुपर्छ, मैले त्यो समयमा धैर्य नगरेको भए हालको अवस्था हुने थिएन, पर्यटनबाटै अर्बौंको सम्पती बटुलेकीछु ।’ उनले भनिन् । हाल उनका छोरा पनि टुरिजम पढ्दै गरेका छन् । उनी भन्छिन्, गर्न सके पर्यटनमा धेरै अवसरहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.