अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  २०७६ मंसिर १९ गते १२:१८     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश नं ५ को समन्वयमा भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अध्यक्षता एवं प्रदेश नं ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा बुटवल उपमहानगरपालिकामा सम्पन्न भएको हो ।

मंगलबार आयोजित यस कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मुलुकमा भ्रष्टाचार संस्थागत हुदै जानु गम्भिर विषय भएको बताउँदै गलत गर्ने प्रति निर्मम प्रहार नगरेसम्म स्थिति नसुध्रिने धारणा व्यक्त गरेका छन् ।

उनले “भ्रष्टाचार राज्यको प्रणाली, उपप्रणालीको रुपमा विकसित हुदै गएको छ, जुन गलत हो” भन्दै पछिल्लो समय भ्रष्टाचारको घटना बढेको भन्दा पनि अख्तियारले कारबाहीलाई तीव्रता दिएका कारण घटनाहरु बाहिर आउने क्रम बढेको कुरा व्यक्त गरे ।

माननीय प्रमुख आयुक्तबाट देशमा निर्वाचन प्रणाली निकै खर्चिलो भएका कारण भ्रष्टाचार बढ्दै गएको तथा सार्वजनिक निकाय र सरकारी कार्यालयको कार्यसम्पादन प्रति जनता सन्तुष्ट हुन नसकेको टिप्पणी गर्दै सेवाग्राहीलाई सुशासनको अनुभुति हुने गरी नीति र विधि अनुसार सार्वजनिक निकायले कार्यसम्पादन गर्नुपर्ने कुरा व्यक्त गरेका छन् ।

यसैगरी, उक्त कार्यक्रममा बोल्दै प्रदेश नं ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलले कमी कमजोरी गर्ने जो कोहीले पनि उन्मुक्ति नपाउने तथा राम्रो काम गर्नेले हतोत्साही हुनु नपर्ने अवस्था रहेको बताउँदै निर्माणाधीन विकास निर्माणको काममा काम गर्ने पक्षसँग चित्त नबुझ्ने पक्षले उजुरी हाल्ने परिपाटी रहेको हुँदा विकास निर्माणलाई असर नपर्ने गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउनुपर्ने कुरा बताए ।

त्यसैगरी, माननीय मुख्यमन्त्रीले धनलाई नै बढी महत्व दिने सामाजिक परिपाटीको अन्त्य भएमा भ्रष्टाचार पनि अन्त्य हुने टिप्पणी गर्दै राम्रो कामको प्रशंसा गर्न कोही चुक्न नहुने र उजुरी परेकै कारण अथवा उजुरीको संख्या बढेकै कारण भ्रष्टाचार नै भयो भनेर व्याख्या गर्नु भन्दा कति कारबाहीमा परे भन्ने कुरा मुख्य रहेको बताएका छन् ।

अख्तियारको नेतृत्वप्रति विश्वास बढेको चर्चा गर्दै माननीय मुख्यमन्त्री शंकर पोखरेलले सुशासन प्रबर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अख्तियारको प्रभावकारी भूमिकाको निरन्तरता हुनुपर्ने एवं प्रदेश सरकारको नेतृत्व तहबाट यस कार्यका लागि सबै प्रकारका सहयोग र समन्वय रहने कुरा व्यक्त गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले यस किसिमको अन्तरक्रिया कार्यक्रमले प्रदेश सरकार र स्थानीय तहमा समेत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनमा सचेतना अभिवृद्धि हुनेछ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजन गरिएको बताउँदै सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवालीले अन्तरक्रिया एवं छलफलको मोडरेशन गरेका थिए भने आयोगको तर्फबाट आयोगका सहसचिव कालीप्रसाद पराजुलीले र प्रदेश सरकार, प्रदेश नं ५ को तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव टेक नारायण पाण्डेले प्रस्तुति राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबलका कार्यालय प्रमुख तारानाथ अधिकारीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.