अब बैंकमा गएर पैसा डिपोजिट गर्ने दिन सकिए, स्मार्टकार्ड नेपालले ल्याउँदैछ दुई स्मार्ट प्रडक्ट

  २०७६ मंसिर १८ गते १७:०५     विकासन्युज

रमेश दियाली स्मार्ट कार्ड नेपाल र सोसाइटी डेभलपमेण्ट फाउण्डेसनका संस्थापक हुन् । सानैदेखि केही नयाँ र पृथक किसिमको काम गर्नु पर्छ भन्ने मानसिकता भएका उनी अहिले आइटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्त गर्ने प्रणालीको साहरामा भर्चुलअ सर्भिसको विजनेसमा लागेका छन् । स्मार्ट कार्ड नेपालमार्फत अब केही सातामै उनी स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट बजारमा ल्याउँदैछन् । संखुवासभा खाँदबारी घर भएका उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक र दुबईबाट आईटी विषयमा प्रोफेसनल कोर्ष अध्ययन गरे । सानैदेखि सुचना प्रविधिमा रुचि भएका उनै दियालीसँग अब बजारमा आउन लागेको प्रडक्ट ‘स्मार्ट कार्ड र स्मार्ट वालेट’मा केन्द्रित रहेर विकासन्युजका लागि सन्तोष रोकायाले बिकास बहस  गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएकाे बिकास बहस  :

नेपालको वित्तीय क्षेत्रलाई सुरक्षित र सहज बनाउन सुचना प्रविधीको अवस्था कस्तो छ ?

वित्तीय क्षेत्रलाई अगाडि बढाउनका लागि सुचना प्रविधिको भूमिका एकदमै महत्वपूर्ण छ । पछिल्लो समय सुचना प्रविधिबिना वित्तीय क्षेत्र अगाडि बढाउन सम्भव नहुने अवस्था आइसकेको छ । सबैको पहुँचमा सुचना प्रविधि पुग्नु जरुरी पनि छ । सबै ठाउँमा आईटी मात्र पुगेर हुँदैन आम जनमानसमा वित्तीय चेतना हुन पनि आवश्यक छ । जब मानिसमा आइटीको चेतना हुन्छ तव उसले प्रबिधियुक्त वित्तीय कारोबार गर्न थाल्छ । उसले आफ्नो आर्थिक कारोबारलाई सहज ढंगले अघि बढाउन सक्छ ।

मैले स्मार्ट कार्ड नेपाल स्थापना गर्नुपर्छ, वित्तीय र आइटी सेक्टरलाई मध्यस्त गर्ने प्रणालीका रुपमा स्मार्ट कार्ड नेपाललाई विकास गर्नुपर्छ भन्ने यो मानसिकता र अवधारणा कसरी बनाउनु भयो ?

हामीले आजभन्दा पाँच वर्ष अगाडि स्मार्ट कार्ड नेपालको स्थापना गरेका हौं । अब केही हप्तामा नै हाम्रो प्रडक्ट बजारमा लिएर आउँदैछौं । यो प्रडक्ट नेपालमा मात्र नभएर विश्वमा नै नयाँ प्रडक्डका रुपमा लिएर आउँदैछौं । स्मार्ट कार्ड नेपाल एउटा कम्पनी हो । हामीले ल्याउने प्रडक्ट प्रिपेड स्क्य्राच कार्ड हो । त्यो एनसेल र एनटीसीको रिचार्ज कार्ड जस्तै हुन्छ । उक्त कार्ड हामीले विभिन्न फाइनानसियल ट्रान्जेक्सनका लागि प्रयोग गर्छौं । म वाणिज्य क्षेत्रको मान्छे नभएपनि आइटी क्षेत्रको मान्छे हुँ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सिमित मानिसहरुको पहुँचमा मात्र वित्तीय क्षेत्रको पहुँच छ । बैंकिङ कारोबार गर्ने मान्छेहरुको संख्या अत्यन्तै कम छ । यो आर्थिक स्थिती र जनचेतनाको कमिले हो । अर्को के छ भने मान्छेहरु सँग पैसा भएपनि उनीहरुले बैकिङ कारोबार नगरेको अवस्था छ । यसको मुख्य समस्या बैकिङ पहुँच नपुग्नु हो ।
उनीहरुमा कारोबारको चेतना नहुनु पनि अर्को समस्या हो । त्यसले गर्दा मैले के सोचे भने कसरी सवै सर्वसाधारण सम्म वित्तीय पहुँच पु¥याउन सकिन्छ भनेर अनुसन्धान गरेँ । त्यस्तो खालको काम सिर्जना गरें । त्यहि अवधारणालाई खेलाउँदै यो खालको प्रडक्ट बनायो भने नेपालमा राम्रो हुन्छ भन्ने सोचेँ । सबै मानिसहरु वित्तीय पहुँचमा आउन सक्छन् भन्ने सोचेँ । यो कन्सेप्ट मैले २०७० सालमा बनाएँ । कन्सेप्ट बनाएसँगै यसलाई कसरी बजारमा जाने कुन निकायले यसलाई मनिटरीङ गर्छ भन्ने कुनै थाहा थिएन । त्यसपछि हामी नेपाल राष्ट्र बैंक समक्ष गयौं । अहिले हामीले राष्ट्र बैंकबाट लाइसेन्स पनि लिइसकेका छौं ।

मैले यो स्मार्ट कार्ड कन्सेप्ट ल्याउनुको मुख्य कारण भनेको मान्छेले बैंक खातामा भएको पैसा जसरी पनि मोविलाइज गर्छ । खातामा पैसा जम्मा गरेपछि र एटिएमबाट पैसा झिक्छ । अहिले विश्वमा धेरै खर्च गर्ने विकल्पहरु मात्र छन् । अहिले जन्मेका सबै सेवाहरुले खर्च गर्ने बाटो मात्र देखाइरहेका छन् । तर हामी त्यो भन्दा फरक किसिमका छौं । हामी डिपोजिट गर भनेर उत्प्रेरणा जगाउँछौं । हाम्रो स्क्य्राच कार्ड भन्ने वित्तिकै डिपोजिट गर्ने हो । हाम्रो कम्पनीले कार्ड प्रडक्ट गर्छ । बैंकले त्यसलाई भेरिफाई गर्छ । हामी विभिन्न नेटवर्क द्वारा मार्केटमा पठाउँछौं । बजारमा ग्राहकले त्यो कार्ड खरिद गर्छ र नेपाल भरि रहेका बैंक तथा वित्तीय संस्थाको खातामा त्यो कार्ड मार्फत डिपोजिट गर्न सक्छ । उसले आफ्नो क्यास बराबरको कार्ड किन्छ । त्यो कार्डलाई स्क्य्राच गरेर मोबाइल एप्लिकेसन मार्फत आफ्नो कुन बैंक हो, बैंक छनोट गर्छ । आफ्नो खाता नम्बर र नाम र त्यो रिचार्ज कार्डमा भएको पिन नम्बर राख्छ । त्यो प्रक्रियाबाट उसले आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सक्छ ।

गाउँघरमा सानो सानो आर्थिक कारोबारका पैसाहरु धेरै हुन्छन । खल्तीमा पाँच सय, हजार भएपनि त्यो हराउँन वा खर्चहुन सक्छ । तर यो कार्ड भयो भने सानो अमाउन्ट पनि बैकिङ च्यानलमा आउने भयो । त्यो सहज हुन्छ । मान्छेहरुले चाहेको रकम जम्मा गर्न सक्ने भए । यो २४ सै घण्टा सुचारु हुन्छ । यसको लागि शनिबार भएपनि फरक पर्दैन । अझ शहर क्षेत्रमा पनि मानिसहरुले हिडेर बैंकसम्म पुग्नु प¥यो । गाडीमा जानु प¥यो जाम हुन्छ । बैंकमा गएर पनि भौचर भर्नु प¥यो । धेरै समय लगाएर मान्छेले पैसा जम्मा गर्ने पालो पाउँछ । यो सबै झमेलाबाट मुक्त गराउन अब स्मार्ट कार्डको आवश्यकता हामीले महसुस ग¥यौं । अब प्रयोगकर्ताले बैंक सम्म पुग्नु पर्दैन । आफ्नो खाता वा साथीको खातामा उक्त कार्ड मार्फत तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।

विश्व एक ‘ग्लोवल भिलेज’का रुपमा विकास भइसकेको अवस्था छ । आमसर्वसाधारण पनि सुचना प्रविधिमा रम्न थालि सकेका छन् । तर नेपालको सन्दर्भमा हेर्ने हो भने अझैं धेरै मानिस आईटीको पहुँचमा छैनन् । नेपाल जस्तो पुरै आइटीमा विकास नभएको देशमा तपाईले ल्याएको अवधारणा कतिको सम्भव छ जस्तो लाग्छ ?

यो सम्भव छ । विश्वको ट्रेण्ड हेर्ने हो नेपालका मानिसहरु मनोरञ्जन र सुचना प्रविधि ग्रहण गर्ने कुरामा अगाडि नै छन् । पछिल्लो समय नेपालीहरु आइटीमा छिट्टै नै अगाडि बढेको अवस्था छ । नेपालमा उत्पादन नभएपनि उपभोगका रुपमा अगाडि छन् । त्यसले गर्दा यो समय भनेको एकदम राम्रो हो । नेपालमा सत–प्रतिशत आइटी विकास गर्न पाँच दश वर्ष लाग्छ त्यसका लागि ग्रामिण क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नु प¥यो । सरकारी र प्राइभेट क्षेत्रबाट पहल गर्नु प¥यो । त्यसले गर्दा अझै समय लाग्छ । अहिले सुरु ग¥यो भने त्यो समयसम्मका लागि एकदमै राम्रो हुन्छ । ग्रामिण तथा बिकट क्षेत्रमा आइटीको पहुँच पनि हुँदैन त्यसैले विशेषगरि त्यस्ता ठाउँका लागि हामीले यो स्मार्ट कार्ड प्रविधि फोकस गरेका छौं । अहिले हामी आन्तरिक अभ्यासमा छाैं ।

तपाईले अब केही हप्तामै स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट लन्च गर्दैछौं भन्नुभयो । यो स्मार्ट कार्ड र स्मार्ट वालेट भनेको के हो ? आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने ?

स्मार्ट कार्ड र स्मार्ट वालेट हाम्रा दुईटा प्रडक्ट हुन् । स्मार्ट कार्ड भनेको प्रि–पेड स्क्य्राच कार्ड हो जुन मोबाइलको रिचार्ज कार्ड जस्तै हो । हामी त्यो रिचार्ज कार्डबाट बैंक खातामा पैसा जम्मा गर्न सक्छौं । मोबाइलको रिचार्ज कार्ड झैं हुने स्मार्ट रिचार्ज पेपरबेसमा रहेको छ । एउटै कार्डबाट विविध वित्तीय कारोबार गर्न मिल्ने रिचार्ज कार्ड बनाइएको छ । रिचार्ज कार्ड १ सय, ५ सय, १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार मूल्यमा रहेका छन् । स्मार्ट रिचार्ज कार्डहरु कम्पनीका डिस्ट्रिब्युटरमार्फत सहजै पाउने व्यवस्था रहेको छ । अब स्मार्ट वालेट भनेको डिजिटल पेमेण्ट गेटवे हो । हाम्रो आफ्नै स्मार्ट कार्डबाट फण्ड लोड गर्ने र स्मार्ट वालेट मार्फत मल्टिपल पेमेन्ट गर्न सकिन्छ । वालेटमा पैसा राख्ने हाम्रो आफ्नै रिचार्ज कार्ड हुन्छ । त्यसले गर्दा यो पनि एउटा सहज माध्यम बन्न सक्छ ।
स्मार्ट कार्डबाटै डोमिस्टिक रेमिटेन्स गर्न सकिन्छ । जस्तै काठमाडौंबाट पोखराको मान्छेलाई दश हजार पैसा पठाउनु प¥यो भने हामी रेमिटेन्स एजेन्सी कहाँ गइरहनु पर्दैन । पसलबाट १० हजार बराबरको रिचार्ज कार्ड किनेर त्यही रिचार्ज कार्डको पिन हामी पोखराको साथीलाई पठाउन सक्छौं । अनि उसले त्यो नम्बर लगेर स्मार्ट कार्डको डिलर वा कार्डसँग सम्बन्धित बैंकहरुको मा गएर पैसा झिक्न सक्छ ।

आईटीमा पूर्ण कन्भर्ट नभइसकेको नेपाल जस्तो देशमा तपाईले ल्याएका सेवा विस्तार गर्न के कतिको चुनौती देख्नुहुन्छ ?

चुनौती त धेरै छन् । सर्वप्रथम त मानिसहरुलाई यो सम्बिन्ध बुझाउन गाह्रो छ । कसैले पनि झट्टै विश्वास गर्दैनन् । मैले यो कम्पनी स्थापना गर्ने समयमा पनि त्यस्ता समस्याहरु झेलि सकेका छु । सुरुमा त स्मार्ट कार्डबाट बैंकमा पैसा जम्मा गर्न सकिन्छ र भन्ने कसैले पनि विश्वास गरेनन् । जब मैले काम गर्दै गएँ । सिस्टमहरु बनाएँ । टेस्ट गरेर देखाएँ । बल्ल उनीहरुले विश्वास गरेर यो लेवल सम्म पुगेका छौं । अब अहिलेको समयमा त्यस्तो गाह्रो छैन । हामी सजिलै सँग काम गर्न सक्छौं ।

तपाई सोसाइटी डेभलपमेण्ट फाउण्डेसनको पनि संस्थापक हुनुहुन्छ । त्यो किन स्थापना गरियो ? त्यसको कार्यहरु के-के हुन् ?

यो पनि नेपालको फरक किसिमको र एक नयाँ संस्था हो । यो एउटा गैर नाफामुलक कम्पनी हो । हामी कम्पनी रजिष्ट्रारमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध छौं त्यासैगरी आन्तरकि राजश्व कार्यालयमा पनि आवद्ध छौं । यो एउटा अनलाईन क्राउड फण्डिङ कम्पनी हो । मान्छेहरुलाई विभिन्न कार्यका लागि फण्डको आवश्यक हुन्छ । त्यो फण्ड मान्छेले कसरी जुटाउँछ त्यो एकदमै गाह्रो छ । विश्वमा क्राउडफण्डिङको अभ्यास धेरै पहिले देखिको हो । नेपालमा अहिले सम्म एक पनि क्राउडफण्डिङ प्लटफर्म छैन । यसको जरुरत नेपालमा पनि छ । त्यही भएर नेपालमा पनि हामीले यसको आवश्यकता महशुस गरेर गत साल स्थापना ग¥यौं ।

यसले मान्छेहरुलाई के समस्या छ । के कामका लागि पैसा चाहिएको हो । त्यसको बारेमा विस्तृत प्रजेक्ट प्रपोजल चाहिन्छ । त्यसको समाधानको बाटो के हुन्छ भनेर फोकस गरेर एउटा मुख्य प्रपोजल तयार बनाउनु पर्ने हुन्छ । त्यो प्रपोजल उनीहरुले हाम्रो अनलाइन प्लाटफर्ममा सबमिट गर्नुपर्ने हुन्छ । त्यो भइसकेपछि त्यो प्रोजेक्ट कतिको उचित छ भनेर हामीले भेरिफाई गर्छौं । त्यसपछि हामी त्यसलाई अनलाईन प्लेटफर्ममा लाइभ गर्छौं । त्यसपछि विश्वभरि रहेको डोनरहरुले उक्त प्रोजेक्टमा डोनेसन गर्छन् । त्यो सबै रकम पार्दर्शि हुन्छ । अहिले हामी त्यसको क्षेत्रमा काम गर्दै आएको छौं ।

तपाई जस्ता धेरै युवाहरू स्वदेशमै केही गर्न चाहन्छन् । त्यस्ता युवाहरुलाई तपाई कस्तो सल्लाह सुझाव दिनुहुन्छ । युवाहरु कसरी आत्मनिर्भर बन्न सक्छन् ?

मेरो पनि आफ्नै संघर्षका पाटाहरु छन् । म आफैले पनि विदेशमा धेरै कुराहरु भोगेको छु । हामी नेपालीहरु जति विदेश गएर दु.ख गर्छौं । विदेश गएपछि मान्छेले दायाँबायाँ गर्नै पाउँदैन । ऊ काम गर्नै मात्र व्यस्त हुन्छ । नेपालमा पनि त्यसरी काम गर्नु प¥यो । कसैले पनि उसलाई अनुशासन सिकाउने हईन । उसले आफैले त्यो किसिमको वातावरण सिर्जना गर्न सक्नु प¥यो । अठोट लिएर काम गर्नु पर्छ । दोधारे भयो भने कहिल्यै पनि काम हुँदैन । एउटै लक्ष्य लिएर काम गर्नु प¥यो । निरन्तर काममा लागि रहनु प¥यो । तब मात्र मान्छेले लक्ष्य भेटाउन सक्छ । गरे नेपालमै प्रसस्त सम्भावनाहरु छन ।

पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दो छ । यता सरकारले युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेको छ । युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न के गर्नु पर्ला जस्तो लाग्छ ?

व्यक्तिले आफुले मात्र केही गर्छु भनेर हुँदैन । त्यसका लागि काम गर्ने वातावरण सिर्जना हुनु प¥यो । सरकारी क्षेत्रबाट पनि एक किसिमको सहानुभुति हुनु प¥यो । सरकारी क्षेत्रबाट प्रदान हुने विभिन्न सेवाहरु सरकारले दिलाउनु पर्ने हुन्छ । कतिपय अवस्थामा सरकारी निकायबाटै पाउनु पर्ने अनुदान, सहुलियतपूर्ण कर्जाका कुराहरुमा वास्तविक पाउनु पर्ने युवाहरुले पाएका हुँदैनन् । योजना आउँछ तर त्यो योजना युवाहरु सम्म आइपुग्दा तुही सकेको हुन्छ । त्यसले गर्दा पनि यो समस्या परिरहेको अवस्था छ । नपाउने मान्छेले पाएर अपचलन पनि भएको अवस्था छ ।

आगामी योजनाहरु के–के छन् ?

सर्वप्रथम त मैले यि दुई ड्रिम प्रोजेक्ट सफल पार्नु पर्नेछ । यो राम्रो सँग चलाउनु छ । यो सफल भएपछि वित्तीय क्षेत्रमा नै एउटा ड्रिम प्रोजेक्ट छ । त्यसपछि म त्यसको काम गर्न थाल्छु ।