बाहिरिँदै राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक, अब क-कसले पाउँछन् कामु ?

  २०७६ मंसिर १८ गते १३:५९     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशकहरू घरबिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका चार कार्यकारी निर्देशकहरूमध्ये सुनिल उदास र सरिता भट्ट अधिकारी यहि मंसिर २१ गतेदेखि घर बिदामा बस्दैछन् । २१ गते शनिबार परेकोले उनीहरू मंसिर २० गते शुक्रबारबाटै घरबिदामा बस्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

उदास र अधिकारीको कार्यकाल पुस २१ मा सकिने भएपछि कार्यकाल सकिनुभन्दा एक महिना अघि उनीहरू घरबिदामा बस्दै छन् । हाल सुनिल उदास वित्त कम्पनी सुपरीवेक्षण विभाग प्रमुख छन् भने भट्टले विदेशी विनियम व्यवस्थापन विभाग प्रमुखको भुमिका निर्वाह गर्दै आएकी छिन् ।

अर्का द्वय कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ पनि पुस पहिलो साताबाट घरबिदामा बस्दैछन् । निरौला र श्रेष्ठ माघ पहिलो साताबाट ३० वर्षे कार्य अवधि सकिएर अनिवार्य अवकाशमा परेका हुन् । हाल निरौला राष्ट्र बैंकका प्रवक्ता हुन् भने उनले मुद्रा व्यवस्थापन विभाग प्रमुख भएर कार्यभार सम्हालिरहेका छन् । श्रेष्ठ कर्पोरेट प्लानिङ विभाग प्रमुखको रुपमा कार्यरत छन् ।

भट्ट र उदास वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए भने निरौला र श्रेष्ठले सोही वर्ष माघमा राष्ट्र बैंक प्रवेश गरेका हुन् । अनिवार्य अवकास पाउनु अघि राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरु सामान्यतया एक महिना अघिदेखि घरबिदामा बस्ने चलन छ । सोही अनुसार उनीहरु घरबिदामा बस्न लागेका हुन् ।

यसअघि गत जेठमा ५ कार्यकारी निर्देशकले अवकास पाएका थिए । कार्यकारी निर्देशकहरू नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले गत जेठ २५ मा राष्ट्र बैंकबाट अवकाश पाएका हुन् । अर्को कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले जेठ १० नै अवकाश पाएका थिए । जेठदेखि माघसम्मको यो नौ महिनाको अवधिमा राष्ट्र बैंकबाट नौ जना कार्यकारी निर्देशक बाहिरिने भएका छन् ।

कार्यकारी निर्देशकहरु घरबिदामा बस्ने भएसँगै नेपाल राष्ट्र बैंकले रिक्त हुने पदका लागि निर्देशकहरूलाई कायम मुकायम कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिने तयारी गरेको छ । वरिष्ठ निर्देशकले नै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने राष्ट्र बैंकले जानकारी दिएको छ ।

कार्यकारी निर्देशकहरु बिदामा हुँदा वा अनुपस्थित हुँदा सोही विभागका वरिष्ठ निर्देशकहरुले कामुको जिम्मेवारी स्वतः पाउने राष्ट्र बैंककाे अभ्यास छ । त्यसैअनुसार जिम्मेवारी दिने तयारी राष्ट्र बैंकले गरेको छ । तर, बढुवाका लागि भने आन्तरिक रुपमा कार्यसम्पादन मूल्याङ्कन समिति बन्ने र त्यसको सिफारिस अनुसार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.