उत्कृष्ट कलाकारलाई सम्मान गर्दै १७ औँ हस्तकला मेला समापन

  २०७६ मंसिर १७ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्यभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हाे ।

मेलाको अवसरमा आयोजना गरिएको दुई विधाका प्रतियोगिता अन्तर्गत विजयी कलाकारहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पुरस्कृत गरेका हो । परम्परागत विधा अन्तर्गत तामा तथा पित्तलका भाँडाकुडा बनाउनेमा प्रकाश ताम्राकारले प्रथम हुँदै ५० हजार नगद पुरस्कार प्राप्त गरे, भने विशाल ताम्राकारले द्धितीय हुँदै नगद ३० हजार प्राप्त गरेका छन् । त्यस्तै चन्द्रबहादुर ताम्राकारले तृतीय हुँदै नगद २० हजार प्राप्त गरे ।

त्यस्तै, समसामयिक विधाअन्तर्गत फरक क्षमता भएकाबीचको चित्रकला प्रतियोगिताका उत्कृष्ट कलाकारलाई पनि पुरस्कृत गरिएको छ । यस विधामा प्रथम हुनुभएका राघब पोख्रेललाई नगद ५० हजारसहित पुरस्कृत गरियो भने द्धितीय लक्ष्मीभक्त भासिमालाई ३० हजार नगदसहित पुरस्कृत गरियो त्यस्तै रश्मी आमात्य तृतीय भइ नगद २० हजार प्राप्त गरे ।

अन्य पुरस्कृत हुनेहरुमा उत्कृष्ट प्यभिलियनतर्फ फेयर ट्रेड समूह नेपाललाई नगद रु एक लाखसहित पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट स्टलतर्फ नेपाल हस्तकला उत्पादक संघ काठमाडौंलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट वस्तु उत्पादनतर्फ पहिलो, दोस्रो र तेस्रोलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा आरबी ह्याण्डस् क्राफ्टका रामजी सुनारले नगद २० हजारसहित प्रथम पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली डी कलेक्सनका मीनु बज्राचार्यले नगद १५ हजारसहित दास्रो पुरस्कार प्राप्त गर्नु भएको थियो जसलाई कल्पाना क्राफ्टले प्रायोजन गरेको थियो । तृतीय पुरस्कार भने अल्लो लेडीब्याग उत्पादक रीतु सौगातलाई नगद १० हजारसहित पुरस्कार प्रदान गरिएको थियो जसलाई एभरेष्ट फेशनले प्रायोजन गरेको थियो ।

सोही अवसरमा प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दुबै विधाका गरि ३१ जना सहभागी भएका थिए  । विशेषगरि परम्परागत कला तथा बस्तुहरुको जगेर्ना गर्नुका साथै फरक क्षमताभएका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.