यी हुन् एशियाका १० ठूला कम्पनी, नेपाल टेलिमकभन्दा ६० हजार गुणा ठूला

  २०७६ मंसिर १७ गते १०:५६     विकासन्युज

काठमाडौं । नेपाली शेयर बजारमा ठूला कम्पनी कुन हो भनेर हेर्यौ भने पहिलो नम्बरमा आउँछ नेपाल टेलिकम । नेपाल टेलिकमको बजार पुँजीकरण करिब १ खर्ब रुपैंयाँ छ । पछिल्लो समय बजारले उचाइ लिन नसक्दा यो एक खर्ब भन्दा तल झरेको छ । टेलिमकको यो पुँजीकरण नेपाली अर्थतन्त्रको आकारको करिब ३ प्रतिशत हो । तर, एशियाली शेयर बजार हेर्ने हो भने अवस्था अर्कै देखिन्छ । एशियाका १० ठूला कम्पनीको बजार पुँजीकरण नेपाल टेलिकम करिब १८ हजारदेखि ६० हजार गुणासम्म ठूला रहेका छन् ।

१० ठूला कम्पनीमध्ये एउटा कम्पनी दक्षिण कोरियामा छ । चीनका स्वायत्त राज्यहरु हङकङ र ताइवानमा १÷१ ओटा र बाँकी ७ ओटा कम्पनी चीनमा छन् । भारतका भने कुनै पनि कम्पनी यसमा परेका छैनन् ।

बजार पुँजीकरणका आधारमा एशियाका दश ठूला कम्पनीहरु

अलिबाबा

एशियाली शेयर बजारमा सूचीकृतमध्ये सबैभन्दा ठूलो कम्पनी अलिबाबा हो । चीनको हाङझुमा मुख्यालय भएको अलिबाबा विश्वविख्यात अनलाइन ट्रेडिङ कम्पनी हो । यसको बजार पुँजीकरण करिब ५खर्ब ३६ अर्ब डलर छ । हालको नेपाली विनिमय दरअनुसार यसलाई विनिमय गर्दा यसको पुँजीकरण ६०५०० अर्ब रुपैंया हुन आउँछ । जुन नेपालको अर्थतन्त्रभन्दा करिब १७ गुणा ठूलो हो ।

टेनसेन्ट

एशियली बजारमा दोस्रो ठूलो पुँजीकरण भएको चिनियाँ कम्पनी टेनसेन्ट हो । चीनको शेनझेन शहरमा मुख्यालय भएको यो कम्पनीको बजार पुँजीकरण ४ सय १० अर्ब डलर छ । यो एउटा होल्डिङ कम्पनी हो । यो कम्पनीले देशमा रहेका उत्पादन तथा सेवामूलक उद्योगहरुको स्वामित्व लिने काम गर्छ ।

इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक

यो पनि चीनकै कम्पनी हो । चीनको पेइचिङमा मुख्यालय भएको यो बैंकको बजार पुँजीकरण करिब २ सय ९० अर्ब डलर छ । सन् १९८४ मा स्थापना भएको यो कम्पनी विश्वकै सबैभन्दा ठूलो सरकारी कम्पनी हो । यो कम्पनीमा चीन सरकारको करिब ७० प्रतिशत लगानी छ ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीको बजार पुँजीकरण २ सय ६४ अर्ब डलर छ । यो ताइवानको सिँचु शहरमा १९८७ मा सञ्चालनमा आएको हो । डेढ दर्जन भन्दा बढी निर्माण कम्पनीहरूको स्वामित्व ग्रहण गरेको यो कम्पनीले अहिले करिब ५० हजार कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

सामसुङ

विश्वविख्यात इलेक्ट्रोनिक कम्पनी सामसङ दक्षिण कोरियाली कम्पनी हो । दक्षिण कोरियाको राजधानी सोलमा मुख्यालय भएको यो कम्पनीको बजार पुँजीकरण करिब २ सय ६० अर्ब डलर छ । अहिलेको विनिमयको हिसाबले यो करिब २९ हजार अर्ब नेपाली रुपैंया हो ।

पिङ अन

चीनको शेनझेनमा मुख्यालय भएको यो कम्पनी ३१ वर्ष अघि अर्थात् १९८८ मा खुलेको हो । यो पनि एउटा होल्डिङ कम्पनी नै हो । जसले बैंकिङ, जीवन तथा निर्जीवन बीमा, स्वास्थ्य बीमा जस्ता क्षेत्रका कम्पनीहरूको होल्डिङ गर्छ । यसको बजार पुँजीकरण २ सय १७ अर्ब डलर रहेको छ ।

क्वेइचो

यो पनि अल्कोहल उत्पादन गर्ने कम्पनी चिनियाँ हो । चीनको जुनयीमा मुख्यालय भएको यो कम्पनीसँग ३ ओटा अन्य सहायक कम्पनीको होल्डिङ छ । बजार पुँजीकरण २ सय १० अर्ब डलर अर्थात् करिब २३ हजार ५ सय अर्ब रुपैंयाँ छ ।

चाइना कन्ट्रक्सन बैंक

चीनको ४ ठूला सरकारी बैंकमध्ये यो पनि एउटा बैंक हो । करिब ६० ओटा सहायक कम्पनी रहेको यो बैंक अन्तर्गत करिब साढे ३ लाख कर्मचारी कार्यरत छन् । यसको मुख्यालय चीनको राजधानी बेइजिङ शहरमा छ । यसको बजार पुँजीकरण २ सय ७ अर्ब डलर छ ।

एग्रिकल्चर बैंक अफ चाइना

यो पनि चीनका ठूला ४ बैंकमध्ये एउटा बैंक हो । यो बैंकले आफ्ना ३ दर्जन सहायक कम्पनी मार्फत् करिब साढे ४ लाख व्यक्तिलाई रोजगारी दिइरहेको छ । पुँजी बजारमा यसको पुँजीकरण १ सय ७८ अर्ब डलर छ जुन करिब २० हजार अर्ब रुपैंया हो । यो पनि चीनको पेइचिङमै अवस्थित छ ।

चाइना मोबाइल

हङकङमा मुख्यालय भएको चाइना मोबाइल एशियाको दशौं ठूलो कम्पनी हो । यसको बजार पुँजीकरण करिब १ सय ६० अर्ब डलर छ । कम्पनीले आफ्ना ५० सहायक कम्पनी मार्फत् करिब ५ लाखलाई रोजगारी दिँदै आएको छ ।
एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.