विदेशी लगानीकर्ताको उदेश्य व्यवसाय हो कि अरु नै छ ? कसरी विश्वास गर्ने ?- पशुपति मुरारका

  २०७६ मंसिर १६ गते १२:१५     विकासन्युज

पशुपति मुरारका, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा औद्योगिकीकरणको इतिहास धेरै लामो छैन । २०३९ सालअघिसम्म नेपालमा एकाध जुटमिल स्थापना भएका थिए । त्यही बेला चामल, तेल र दाल उद्योग खुलेको पाइन्छ । नेपालमा चामल मिलहरुले केही परिमाणमा निर्यात पनि गर्थे । जनकपुर चुरोट कारखाना, सलाइ उद्योग, बिँडी उद्योग पनि सोही बेला खुलेका हुन् । यसको अर्थ नेपालमा उद्योग–धन्दा सुरु भएको ४० वर्ष जति मात्रै भएको छ । यद्यपि छिमेकी मुलुक भारतको तुलनामा नेपाल पहिला आर्थिक उदारीकरणमा गएको हो ।

खास गरेर २०३९ सालमा कच्चा पदार्थ आयातमा भन्सार छुट दिएपछि केही उद्योग फस्टाए । त्यो बेला सरकारले एक प्रतिशतमात्रै भन्सार लिने गरेको थियो । सोही समयमा पाँच वर्षका लागि आयकर पनि छुट दिएको थियो । तर त्यो बेला उद्योग खोल्न लाइसेन्स लिनुपर्ने तथा सामान ल्याउन पनि अनुमति लिनुपर्ने व्यवस्था थियो ।
देश आर्थिक उदारीकरणमा गयो; त्यो बेला उद्योग क्षेत्रमा एउटा चमत्कार नै भयो । २०४६ सालको आन्दोलनपछि निर्वाचित सरकार बन्यो । त्यो सरकारले औद्योगिक क्षेत्रमा क्रान्ति नै ग¥यो । उद्योग खोल्न अनिवार्य लाइसेन्सको प्रावधान पूर्ण रुपमा हटाइयो । त्यहीँबाट औद्योगिक वातावरण बनाउन सुरु भएको हो । त्यही बेला आयात गर्न पनि खुला गरियो ।

त्यसपछि उद्योगहरु फस्टाउने चरण सुरु भएको हो । सुरु–सुरुमा स्वदेशी उद्योगीसँग ठूलो परिमाणमा उद्योग लगाउने क्षमता पनि थिएन । पुँजी पनि थिएन । स–सानो पुँजीबाट उद्योग स्थापना गरेका थिए । त्यसपछि स्टिल, प्लास्टिक, सिमेन्ट लगायत उद्योगहरु विस्तारै थपिँदै गए ।

पहिला उद्योग खोल्न लाइसेन्स लिनुपर्ने प्रावधानले सताएको थियो, पछि उद्योग खोल्न लाइसेन्स नै हुनुपर्ने प्रावधान हटाएपछि धेरै सहज भयो । नेपालमा उत्पादित सामानलाई भारतमा भन्साररहित प्रवेश दिने सम्झौता गरेपछि विदेशी तथा स्वदेशी लगानीकर्ता नेपालमा आकर्षित हुन थाले ।

एकातिर सरकारले आफ्नो प्रक्रियालाई सहज बनाउँदै लग्यो भने अर्कोतिर नेपाली उद्योगीको क्षमता बढ्दै गयो । विदशी लगानी पनि बढ्दै जान थालेको थियो । देशको अर्थतन्त्रले विस्तारै फड्को मार्दै गयो । नेपालीहरु विदेशतिर रोजगारीका लागि गए र त्यहाँबाट उनीहरुले पठाएको पैसाले अर्थतन्त्र विस्तारै उकालो लाग्यो । र मुलुकभित्र विस्तारै एकपछि अर्को गर्दै उद्योगहरु थपिँदै गए ।

देश उदारीकरणमा गइसकेपछि ठूला भनिएका उद्योगहरु सबै स्वदेशी लगानीकर्ताले नै स्थापना गरेका छन् । एयरलाइन्स व्यवसायमा स्वदेशी लगानीकर्ताले एकदमै राम्रो गरेका छन्, बैंकिङ क्षेत्रमा पनि एकाधबाहेक सबै स्वदेशी लगानीकर्ताले स्थापना गरेका हुन् । त्यो क्षेत्र स्वदेशी उद्योगीले राम्रै चलाइरहेका छन् । बैंकिङ क्षेत्रमा प्रयोग भएको प्रविधि, पुँजी, जनशक्तिलगायत सबै आफ्नै छ । स्टिल, सिमेन्ट, प्लास्टिक, चिनी, धागो, कपडा उद्योग, हाइड्रोपावर, स्कुल, अस्पताल, चिया, मिडिया उद्योगलगायत सबैमा स्वदेशी लगानीकर्ताको बर्चस्व छ । स्वदेशी उद्योगीले एक किसिमको छाप नै छाडेका छन् ।

यतिसम्म कि स्वदेशी उद्योगले उत्पादन गरेका कतिपय ब्रान्ड विश्व बजारमा पुगेका छन् । नेपाली उत्पादनले नेपालको शान बढाएका छन् । उदाहरणको रुपमा गोल्डस्टार जुत्ता, वाईवाई चाउचाउ, शेर्पा गार्मेन्ट, हिमालयन जाभालाई लिन सकिन्छ । ती सबै नेपाली ब्रान्ड स्वदेशीले बनाएका हुन् ।

यसबीचमा सशस्त्र द्वन्द्व भयो । त्यो अवधिमा उद्योगहरु जुन गतिमा अघि बढ्नुपर्ने हो, त्यो भएन । र, त्यो बेला विदेशी लगानी आउन ठप्पप्रायः भयो । राजनीतिक अवस्था यस्तो हुँदाहुँदै पनि यहाँसम्म आउँदा निजी क्षेत्रको क्षमता छ है भन्ने प्रमाणित भइसकेको छ । अरुभन्दा हाम्रा निजी क्षेत्रका उद्योगहरु क्षमतावान छन् भन्ने देखियो ।
हो, हामीसँग क्षमता कम छ । देशमा पुँजीको अभाव छ । लगानीयोग्य पुँजी छैन । स्वदेशी लगानीकर्ता जोखिम मोल्न तयार छन् र सक्छन् पनि । प्रविधि पनि भित्र्याउन सक्छन् । लगानी गर्न पनि तयार हुन्छन् । तर पुँजीको अभाव छ । यसले उद्योगी, व्यवसायीलाई ठूलो समस्या बनाएको छ । देशमा प्रविधिको अभाव देखिँदैन, जनशक्तिको पनि खासै अभाव छैन । बजार पनि छ, तर अभावै भनेको पुँजीको हो ।

विदेशी लगानीकर्ता नेपाल आउन चाह्यो भने सबैभन्दा पहिला उसले स्वदेशी उद्योगी, व्यवसायीसँगै देशको वातावरण बुझ्छ । स्वदेशी लगानीकर्ता बलियो भयो भने उसले विदेशी ल्याउन सहयोग गर्छ । देशभित्र उद्योगी छैनन् भने विदेशी लगानीकर्ता आउँदै आउँदैन । हाइड्रो, सिमेन्ट उद्योगमा स्वदेशीकै कारण विदेशी लगानीकर्ता आएका हुन् ।

स्वदेशी लगानीको महत्व

स्वदेशी उद्योगीले उत्पादन गरेको नाफा बाहिर जाँदैन । हामी आफैं बाहिर जान नसक्ने अवस्था भएकाले स्वदेशी पँुजी स्वदेशमै रहन्छ । हामीलाई स्वदेशमै लगानी गरौं भन्ने इच्छा हुन्छ । विदेशी लगानी आयो भने नाफा सबै बाहिर लग्ने हो । उदाहरणको रुपमा खिम्ती जलविद्युत् आयोजनालाई लिन सकिन्छ । उसले यहाँ लगानी गर्यो, नाफा पनि लिएर गयो । त्यति बेला हामीलाई लगानी आवश्यक थियो । नाफा पनि राम्र्रै गर्यो । पैसा सबै लिएर बाहिर गयो । थप लगानी गरेन ।

स्वदेशी लगानीकर्ताले नाफा गरेको अवस्थामा लगानी नेपालमै हुन्थ्यो । बाहिर जाने अवस्था हुँदैन । स्वदेशी उद्योगीलाई आफ्नो देशको माया हुन्छ, जसले गर्दा यहीँ लगानी गरौं भन्ने हुन्छ । र, अर्को कुरा स्वदेशी उद्योगीले सरकारसँग धेरै माग, बार्गेनिङ गर्दैनन् ।

विदेशी उद्योगीले स्वदेशीको तुलनामा बढी माग गर्छन् । र, सरकारले पनि विदेशी लगानीकर्तालाई बढी माया गर्ने गरेको पाउँछौं । उसको कुरा सबैभन्दा पहिला सुनुवाइ हुन्छ । स्वदेशी लगानीकर्ताको कुरा सुनिदैन । जबकि हुनुपर्ने उल्टो हो । म के भन्छु भने– बढी नदिऊँ तर, घटी पनि नदिऊँ ।

विदेशी लगानीकर्ताले सबै नाफा लिएर जान्छ । अर्को विदेशी लगानीमा खुलेका उद्योगको उत्पादन लागत महँगो हुन्छ । उद्योगलाई चाहिने प्रविधि र सामग्री प्रायः विदेशबाटै आउँछ । ठूला ठूला म्यानेजरहरु सबै विदेशबाटै लिएरै आउँछन् ।

त्यसैले मुलुकका लागि स्वदेशी लगानीकर्ता नै फाइदाजनक हुन्छ । यसको अर्थ विदेशी लगानीकर्ता चाहिँदैन भन्न खोजेको होइन । हाम्रो उद्योगको क्षमताभन्दा बाहिरको क्षेत्रमा विदेशी लगानीकर्ता चाहिन्छ, ल्याउनु पर्छ । हवाईजहाज बनाउनुप¥यो भने हामीसँग पुँजी, प्रविधि केही छैन । विदेशी नै ग्ुहार्नु पर्छ ।

यस्तै, पाँच सय मेगावाटभन्दा माथिको जलविद्युत् आयोजना बनाउनुप¥यो भने विदेशीलाई नै बोलाउनुपर्छ । किनकि पैसा उनीहरुसँगै छ । यस्ता कतिपय उद्योगमा विदेशी लगानी चाहिन्छ । तर स्वदेशी लगानीकर्तालाई पनि राज्यले ग्राह्यता दिनुप¥यो भन्न खोजेको हो । नेपाली उत्पादनहरु विदेशी बजारमा पुगिरहेका छन् । त्यो उत्पादन कहाँको हो भन्दा नेपालकै हो । कतिपय ब्रान्डले एम्बेडरको काम गर्छ । जस्तो हिमालयन जाभाले नेपालको कफीलाई परिचित गराएको छ । यस्ता कतिपय ब्रान्डले देशको प्रतिनिधित्व गर्छन् । गोल्टस्टार जुत्ता अन्तर्राष्ट्रिय स्तरमा ब्र्रान्डको रुपमा उपस्थित छ । यस्ता ब्रान्डले धेरै कुरामा सहयोग गरेको हुन्छ ।

र, विदेशी लगानीकर्ता नेपाल आउन चाहेमा सबैभन्दा पहिला उसले स्वदेशी उद्योगी, व्यवसायीसँगै देशभित्रको वातावरण बुझ्ने हो । त्यसैले विदेशी लगानीकर्ता आकर्षित गर्न पनि स्वदेशी लगानीकर्ता बलियो हुनुपर्छ ।

स्वदेशी लगानीकर्ता बलियो भयो भने उसले विदेशी लगानीकर्ता ल्याउन सहयोग गर्छ । देशभित्र उद्योगी छैनन् भने विदेशी लगानीकर्ता आउँदै आउँदैन । हाइड्रोमा स्वदेशी लगानीकर्ताले सुरु गरेपछि मात्रै विदेशी आएका हुन् । सिमेन्ट उद्योगमा पनि त्यस्तै हो । यस्ता उद्योगमा कोही न कोही लोकल साझेदार भएकै छन ।

अर्को महत्वपूर्ण कुरा, स्वदेशी पुँजी स्वदेशमै रहन्छ । हामी जस्ता स्वदेशी लगानीकर्ताले त्यति हाइफाई गर्दैनौं । र, अर्को कुरा विदेशी लगानीकर्ता के के उद्देश्यले आएका छन्, त्यसलाई कसरी विश्वास गर्ने ? उद्योग व्यवसाय मात्रै गर्न आएका छन् कि अरु कुनै उद्देश्य लिएर आएका छन् ?  विदेशी उद्योगी, व्यवसायी आज यहाँ छ भोलि केही गडबड गर्यो भने बाहिर गइहाल्छ । त्यसैले विदेशी लगानीकर्ता भित्र्याउन पनि स्वदेशी लगानीकर्ता चाहिन्छ ।

 

विदेशी लगानीकर्ता के के उद्देश्यले आएका छन्, त्यसलाई कसरी विश्वास गर्ने ? उद्योग व्यवसाय मात्रै गर्न आएका छन् कि अरु कुनै उद्देश्य लिएर आएका छन् ?  विदेशी उद्योगी, व्यवसायी आज यहाँ छ भोलि केही गडबड गर्यो भने बाहिर गइहाल्छ । त्यसैले विदेशी लगानीकर्ता भित्र्याउन पनि स्वदेशी लगानीकर्ता चाहिन्छ ।

जुन क्षेत्रमा स्वदेशी लगानीकर्ताले सफल रुपमा काम गरिराखेका छन्, त्यस्ता क्षेत्रमा विदेशी लगानी आवश्यक हो वा होइन भन्ने सोच्नुपर्ने बेला आएको छ । त्यतिमात्रै होइन, जहाँ विदेशी लगानी आवश्यक हुन्छ त्यहाँ मात्रै लगानी गर्ने गरी छुट्ट्याइदिनु पर्छ । विदेशी लगानीकर्तासँग पर्याप्त मात्रामा पुँजी हुन्छ । उनीहरु केही वर्षसम्म घाटा खाएर पनि व्यवसाय गर्न सक्छन् । तर विदेशी लगानीकर्तासँग स्वदेशी लगानीकर्ताले प्रतिस्पर्धा गर्न सक्दैन । र, स्वदेशी लगानीकर्ता त्यहाँबाट पलायन हुन्छन्, त्यसपछि विदेशी लगानीकर्ताको राज चल्छ ।

स्वदेशी लगानीकर्ताको चुनौती

नेपालमा लगानीका धेरै ठूला चुनौतीहरु छन् । मुलुकमा यसअघि द्वन्द्व थियो त्यसबाट देश मुक्त भयो । त्यसपछि १८–१८ घन्टा लोडसेडिङको समस्या थियो, त्यो सबै हट्यो । मजदुर ट्रेड युनियनको समस्या थियो । त्यो करिब करिब हल भएको अवस्था हो । पहिला लाइसेन्स राज थियो त्यो सबै हट्यो । अहिलेको ठूलो समस्या पुँजीको अभाव नै हो । बैंकहरुसँग लगानी गर्न लगानीयोग्य पुँजी छैन । त्यसैगरी, अहिले कानुनी अड्चन बढ्दै गएका छन् । तीन तहको सरकार अर्को चुनौतीको रुपमा देखापरेको छ ।
उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । अहिले पनि मुनाफाखोरको दृष्टिकोणले हेरिन्छ । त्यो सबैभन्दा ठूलो समस्या हो । अहिले पछिल्लो समय राजनीतिक दल, सरकारी कर्मचारी, आम जनतामा उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा थोरै परिवर्तन त आएको छ । तर जति परिवर्तन हुनुपर्ने हो, त्यो हुन सकेको छैन । सरकारी नियम कानुनको अधीनमा रहेर व्यापार व्यवसाय गरेर कमाइ गरेको छ भने हेर्ने नजरियामा परिवर्तन आउनु पर्छ ।

त्यसैगरी, अहिले उद्योगी व्यवसायका निम्ति कानुनी स्पष्टता नै छैन । अन्तर मन्त्रालयबीच एकआपसमा समन्वय छैन । अदालतमा धेरै बोझ छ । न्याय सम्पादन ढिलो छ ।
सरकारले उद्योगी, व्यवसायीलाई सहज हुनेभन्दा ठूलो मात्रामा मासलाई खुसी पार्ने गरी काम गर्नुपर्छ भन्ने सोच राखेको छ । उद्योगी, व्यवसायीलाई दुःख दिएमा ठूलो मास खुसी हुन्छ भन्ने गरी हेरिन्छ । यसले गर्दा कताकता उद्योगी व्यवसायलाई निरुत्साहित बनाउँछ कि जस्तो लाग्छ ।

त्यसैगरी, सरकारले आर्थिक अपराधलाई नै सबैभन्दा ठूलो अपराध मानेको छ । आर्थिक अपराध गर्नेबित्तिकै जेलमा हाल्न थालियो । मान्छे मारेर गएकालाई जमानतमा छुट वा अन्य केही प्रावधानबाट छुट्न सकिएला । तर आर्थिक अपराध गरेको व्यवसायी छुट्दै छुट्दैन । उद्योगी, व्यवसायीको सबैभन्दा ठूलो बिडम्बना यही हो ।
हामीलाई जमानतमा छुट्ने व्यवस्था नै छैन । भारतमा उद्योगी, व्यवसायीलाई समाउन थाल्यो भने पहिल्यै अग्रिम जमानत लिएर आउँछन् मान्छेहरु । भारतमा उद्योगी, व्यवसायीलाई जेलमा हालेर कारवाही गर्ने परिपाटी एकदमै कम छ । भारतले आफ्नो राजस्व छोड्ने पनि होइन । आर्थिक अपराध गरेको व्यवसायीलाई जेलमा हाल्यो भने राजस्व डुब्न सक्छ । यस्तो प्रावधानले व्यवसायी डुब्ने भएकाले असुल गर्ने तरिका त्यो होइन ।

हामी जस्ता व्यापारीले आफ्नो डिलरलाई घाटा लागेको छ भने त्यसलाई थोरै सहयोग गरेर उकास्नु पर्छ । उसलाई माथि उकास्ने प्रयास गर्छौं पनि । पुरानो, नयाँ सबै पैसा आइहाल्छ भन्ने आस हुन्छ । त्यसैगरी, सरकारले पनि वैकल्पिक उपाय अपनाएर अघि बढ्न सक्छ । तर आर्थिक अपराध गरेका उद्योगी, व्यवसायीलाई जेलमा राख्दा उसको व्यापार, व्यवसाय पनि डुब्ने र राज्यले पाउनुपर्ने कर पनि नउठ्ने सम्भावना हुन्छ ।

अर्को चुनौती भनेको दक्ष कामदारको अभाव हो । अहिले दक्ष कामदार पाउनै मुस्किल छ । दक्ष पाए पनि अनुभवी कामदार पाउन कठिन छ । हाम्रो सीमित मार्केट भएको कारणले सीप नै बढाउन सकेनौं । अर्को चुनौती कमजोर भौतिक पूर्वाधार नै हो । बाटोघाटो पुलपुलेसा लगायत भौतिक पूर्वाधारमा समस्या छ । वीरगन्जदेखि काठमाडौंसम्मको दुरी दुई सय किलोमिटर जति होला । अहिले प्रतिकेजी भाडा दुई रुपैयाँभन्दा बढी पर्छ । यसको अर्थ ढुवानी खर्च एकदमै बढी छ । जबकि कोलकाता–वीरगन्जको दुरी सात सय किलोमिटरभन्दा बढी छ । तर त्यहाँबाट वीरगन्ज सामान ल्याउँदा प्रतिकेजी दुई रुपैयाँ ५० पैसा मात्रै ढुवानी खर्च लाग्छ ।

त्यसैले स्वदेशी लगानीकर्ता भनेका देशका अभिन्न अंग हुन् । उनीहरुको सहभागिताबिना सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्दैन । त्यही भएर स्वदेशी पुँजी र स्वदेशी लगानीकर्तालाई थप प्रोत्साहित बनाउन राज्यले आवश्यक कदम चाल्नु आजको आवश्यकता हो । ( मुरारकाकाे विचार अर्थनीतिबाट साभार गरिएकाे हाे )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.