पोखरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नवनिर्वाचित विद्याको अठोट

  २०७६ मंसिर १६ गते १०:३०     विकासन्युज

काठमााडौं । कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । विद्या कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर विजय भएकी हुन् । २४ हजार ३ सय ९४ मत ल्याएर उनी प्रतिनिधिसभाको सांसद बनेकी हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट भट्टराई सांसद बनेकी हुन् ।

अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमान्ले ह्याट्रिक गरेको कास्कीको राजनीतिक इतिहासको विरासतलाई जोगाएकी छिन् । विद्याले आफ्नो जितलाई पति रवीन्द्रप्रतिको सम्मान भएको बताइन् । ४७ वर्षीया भट्टराई लामो समयको राजनीतिक विश्रामपछि त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन् । तत्काली पर्यटनमन्त्री अधिकारीको निधनपछि उनलाई पोखरेलीले चिन्ने अवसर पाएका हुन् ।

विजयपछि भट्टराईले पूर्वाधार विकासका साथै सामाजिक न्याय तथा पोखरालाई प्रमुख पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने बताइन् । श्रीमान्को निधनपूर्व भट्टराई सक्रिय राजनीतिमा थिइनन् । उनी त्रिविमा प्राध्यापन पेशामा सक्रिय थिइन् । उपनिर्वाचनमा उनलाई कास्की जिल्ला पार्टीले एकल उम्मेदवारका रूपमा प्रस्तुत गर्यो । सुरुमा उम्मेदवार बन्न अनिच्छुक देखिए पनि पार्टीको दबाबले सक्रिय राजनीतिमा उनको पुनरागमन भएको हो । २०२९ कात्तिक २९ मा काठमाडौंमा जन्मिएकी भट्टराई १२ वर्षकै उमेरमा राजनीतिमा होमिएकी थिइन् ।

पशुपति मित्र मावि चाबहिल काठमाडौंमा ७ कक्षामा पढ्दै गर्दा उनी अनेरास्ववियुमा आबद्ध भएकी थिइन्  । २०४५ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध आन्दोलनका कार्यक्रममा विभिन्न स्कुलमा विद्यार्थीलाई संगठित पारेकी उनी २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । त्यही वर्ष अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनी जनसांस्कृतिक परिवारको सदस्य हुँदै तत्कालीन नेकपा एमालेको संगठित सदस्य बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.