चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी

  २०७६ मंसिर १५ गते ११:२९     विकासन्युज

चितवन । चितवनको तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले तीन हजार १८३ मत प्राप्त गरे भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरेका थिए।

यस्तै, पूर्वी खैरहनी नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका थिए ।

खैरहनीकै वडा नं ५ मा नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी छन् । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।

प्यूठानः प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गरेका थिए ।

अछामः मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन् । नेपाली काँग्रसबाट उम्मेदवार रहेका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गरेका हुन् ।

नेपाली काँग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र काँग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो । झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र काँग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.