चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३६ प्रतिशतले निर्यातमा वृद्धि

  २०७६ मंसिर १४ गते १६:१९     विकासन्युज

काठमाडौं । भारततर्फ नेपालको निर्यात बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो । नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ ।

चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ । गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ६४ अर्ब ३० करोड रूपैयाँ थियो । चालू आवमा चीनतर्फ १९ दशमलव नौ र अन्य मुलुकतर्फ ११ दशमलव सात प्रतिशतले निर्यात घटेको भए पनि यस अवधिमा कूल १४ दशमलव चार प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म भारततर्फ २७ अर्ब १७ करोड रूपैयाँ बराबर निर्यात भएको हो । भारततर्फ नेपालले पाम तेल, अलैँची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) वस्तुको निर्यात बढेको छ भने चीन र अन्य मुलुकतर्फ जस्तापात, जुस, तयारी पोसाक, ऊनी गलैँचा, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

तीन महिनामा कूल वस्तु आयात १० दशमलव शून्य तीन प्रतिशतले घटेर तीन खर्ब ३४ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव शून्य छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव शून्य दुई प्रतिशत र १९ दशमलव शून्य एक प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११ दशमलव शून्य छ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेशिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम।एस। बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

आव २०७६/७७ को तीन महिनासम्ममा कूल वस्तु व्यापार घाटा १२ प्रतिशतले सङ्कुचन भई रु तीन खर्ब सात अर्ब ७८ करोड रहेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव शून्य एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दशमलव शून्य चार प्रतिशत रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.