नाम फोटो स्टुडियो, काम प्रहरी र सेनाको नक्कली कागजात बनाउने

  २०७६ मंसिर १३ गते १५:३४     विकासन्युज

काठमाडाैं । पछिल्लो समय सरकारी कागजातहरु किर्ते बनाएर अबैध धन्दा गर्ने गिरोह सक्रिय भएको छ । सरकारी कागजातहरु नक्कली बनाइ सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गिरोह पछिल्लो समय सक्रिय भएको हो । विभिन्न फोटो स्टुडियो, कम्प्युटर सिकाउने संस्थाका नाउँमा नक्कली कागजात बनाएर अवैध कारोबार गर्नेहरु बढ्दै गएका छन् ।

शुक्रबार मात्रै त्यस्तै कारोबार गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली प्रहरी रिपोर्ट, विभिन्न क्याम्पस र विद्यालयका शैक्षिक प्रमाणपत्र किर्ते बनाएर अवैध कारोबार गर्ने तीन जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् । सीआईबीले उनीहरुलाई बिहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

यी तीनै जना फोटो स्टुडियोबाट पक्राउ परेको प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले बताए । सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गरिरहेका छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् ।

सामाखुशी बस्ने ओखलढुंगाका तोलांगीलाई प्रहरीले गोंगबु टाउन प्लानिङबाट पक्राउ गरेको हो । उनको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता, आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको सीआईबीले जाकारी दिएको छ ।

प्रहरी उपरिक्षक पाण्डेका अनुसार दवाडीको साथबाट पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सकिप्ट, माइग्रेसन सर्टिफिकेट, शान्ति विद्यागृह विद्या गृह उच्च मावि लैनचौरको खाली सर्टिफिकेट बरामद गरेको छ । यस्तै सुर्खेतीको साथबाट प्रहरीले सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्स, सुरक्षा तालिम, तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र बरामद गरेको छ ।

दवाडीले जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र विभिन्न व्यक्तिको राहदानी नेपाली सेनाको सिफारिसपत्र बनाएका थिए । प्रहरीले उक्त प्रमाणपत्रहरु बरामद गरेको छ उनीहरुलाई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको बताइएको छ ।

स्टुडियोको नाममा अवैध कारोबार

पछिल्लो समय फोटो स्टुडियो चलाएर अवैध धन्दा गर्नेहरु बढी सक्रिय रहेको प्रहरीले जनाएको छ । सीआईबीका प्रहरी उपरिक्षक पाण्डेका अनुसार यस्ता अवैध धन्दा गर्नेहरुको सूचना धेरै आउने गरेकोले त्यस्ताको निगरानी गरेर सबैलाई कानुनको दायरामा ल्याउने बताए । व्यवासायिक धन्दाका नाउँमा अवैध कारोबार गर्नेहरुलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्ने सीआईबीको दावी छ ।

शुक्रबार सार्वजनिक भएका तीन जनालाई पनि विशेष सूचनाका आधारमा उनीहरुकै स्टुडियोमा छापामारी पक्राउ गरेको हो । यस्तो अवैध कारोबार गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखत सम्बन्धि कसुर अन्तर्गत दफा २७६ विपरित कसुर भएको हुँदा २७६ (३ को ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख गरिएको छ । सीआईबीले यस्तो गैरकानुनी कार्य गर्नेलाई मात्र नभई गर्न लगाउनेलाई पनि कारबाही हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.