गुजुल्टा तार हटाउन टेलिकमलाई एनटीएको निर्देशन, ४ स्थानको डीपीआर तयार

  २०७६ मंसिर १३ गते ११:४५     नबिन पाेखरेल

काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले नेपाल टेलिकमलाई काठमाडौंका मुख्य १५ स्थानमा रहेका अस्तव्यस्त तारहरु हटाउन निर्देशन दिएको छ । अस्तव्यस्त तारले सहरको आकर्षण विगारेको भन्दै एनटीएले नेपाल टेलिकम(एनटीसी)लाई यहि मंसिर २ गते तार हटाउने पत्र पठाएको हो ।

एनटीएले अस्तव्यस्त तार हटाउन केही स्थानको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर)समेत तयार पारेको छ । सो प्रयोजनका लागि एनटीएले डीपीआर रिपोर्ट तयार पारेर नेपाल टेलिकममा पठाएको हो । तार व्यवस्थापनको लागि एनटीएले स्टयाण्डर्ड समेत तय गरेको छ । नेपाल दूर संचार प्राधिकरणले सोही कार्यका लागि करिब ४/५ स्थानमा सर्भे समेत गरिसकेको छ । सर्भेको नतिजा एनटीएले नेपाल टेलिकममा पठाएको छ ।

टेलिकमले सडकका तारहरुको व्यवस्थापन गरे पश्चात बाटामा छरिएका तारहरूको व्यवस्था हुनेछ । सडक मुनिबाट तार बिच्छाउँदा सहर सुन्दर बन्नुका साथै लगानीमा समेत कमी आउने एनटीएले बताएको छ । तार व्यवस्थापनकै कारण लगानी कम हुने मात्र नभइ दीर्घकालीन रुपमा सहजता प्राप्त हुने बताइएको छ । टेलिफोनका तारहरूसँगै रहेका बिजुलीका तारहरु तथा ढल व्यवस्थापनमा समेत सुधार गर्न सके सहरको सुन्दरता अझ बढ्ने एनटीएले बताएको छ ।

नेपाल दूर संचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले ढिलै भएपनि तार व्यवस्थापन गर्न लागेकोमा खुशी व्यक्त गरे । केही समय अगावै व्यवस्थापन गर्न सकेको भए अहिलेसम्म काम सकिसक्ने उनले बताए । यद्यपि ढिलै भएपनि तार व्यवस्थापनको सुरुवात भएको छ,’ उनले भने ‘यसलाई सकारात्मक रुपले हेर्नुपर्छ ।

राजधानीभित्रका केही सहरहरूमा डीपीआर तयार भइसकेको छ । अन्तर्राष्ट्रिय विमान स्थलदेखि तिनकुने हुँदै कलंकी पुग्ने सडक, तिनकुनेदेखि थापाथली सडकमा उक्त योजना लागू हुनेछ । त्रिपुरेश्वरदेखि महाराजगंज,पुतलिसडक देखि बालुवाटार हुँदै राष्ट्रपति भवनसम्मको सडकको डीपीआर तयार भएको हो ।

ब्रोडकास्टीङ अपरेटर, सेयरिङ मोडालिटी तथा लिजिङका मोडालीटी नेपाल टेलिकम एनटीएसँग माग गरेको हो । यसरी माग गरिएको परियोजनामा सम्झौता गर्न एनटीएले नेपाल टेलिकमलाई गत साता पत्र पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.