नेप्सेको ११०० विन्दुमा कुन शक्ति छ ?

  २०७६ मंसिर १३ गते ९:०४     विकासन्युज

काठमाडौं । ९४२ कारोबार दिन भयो नेप्से परिसूचकले १००० को विन्दु छाडेर अघि बढेको । यो बीचमा नेप्सेले एकपटक १८८१ को सर्वाधिक उचाई हासिल पनि समेत गर्यो अधिकांश समय चाहिँ लगानीकर्तालाई निराश बनाउने नै काम गर्यो । अहिले नेप्से १११० विन्दुको हाराहारीमा छ । यो वरपर घुमेको पनि धेरै समय भइसक्यो तर पनि नेप्सेले ११ सय विन्दुलाई क्रस गरेर तल झर्न सकेको भने छैन ।

बजार निरन्तर घट्न थालेपछि विभिन्न आन्दोलनहरु समेत भए । इतिहासमै पहिलो पटक बजार नै बन्द गर्नेगरी आन्दोलन भए । अनसन बसियो, सरकारसँग पटक पटक वार्ता पनि गरियो । बजारका स्टेकहोल्डरहरुको त्यही प्रयास र घर्षणका कारण यो अवधिमा बजारलाई थप सशक्त र प्रभावकारी बनाउन नयाँ कानूनहरु आए, नयाँ प्रविधि पनि लञ्च हुँदै गए । पहिलो बजारमा सर्वसाधारणको सहभागिताले एउटा उचाई लियो । दोस्रो बजारको कारोबारको प्रक्रिया र समय घट्दै गयो यद्यपि बजार परिसूचकले भने पछिल्ला वर्षहरुमा विरियस ट्रेन्डलाई नै समातेर अघि बढेको बुझाई लगानीकर्ता र विज्ञहरुको छ ।

तर त्यति हुँदा पनि भुइँमा सुतेको बुढो बाघलाई रुखमा बसेको बाँदरले गिज्याएजस्तो ११०० को विन्दुलाई पटक पटक जिस्क्याएर पनि परिसूचकले त्यसलाई छुने आँट भने गरेको छैन ।

नेप्सेको बुलिस–वियरिस यात्रा

नेप्से परिसूचक ३०० बिन्दु तल पुगेर फर्किएको २०११ को मध्यतिर हो । साे वर्ष जुन  महिनाकाे १५ तारिखका दिन नेप्से परिसूचक २९२.३२ अंकमा झरेर रोकिएको थियो । त्योबेला बजार यति कमजाेर अवस्थाबाट गुज्रेकाे थियाे कि ठूला र राम्रो प्रतिफल दिने कम्पनीहरुको शेयर मूल्य समेत अंकित मूल्यभन्दा कममा झरेको थियो ।

बजार विरियसको त्यो हदपछि पनि करिब डेढ वर्षसम्म बजार स्थिरजस्तै देखियो । २०१२ को अन्त्यतिरदेखि भने बजारले सुधारको संकेत देखायाे । त्यसकाे एक वर्षपछि अर्थात् २०१३ को अन्त्यदेखि भने बजारले दिनप्रतिदिन उच्च र निरन्तर वृद्धिका नयाँ रेकर्डहरु राख्दै गयो । दिनदिनै दाेहाेराे अ‌ंककाे वृद्धि बजारका लागि नाैलाे हुन छाड्याे । यद्यपि बीचमा बजारले करेक्सनका संकेतहरु पनि देखाएको थियो ।

२०१४ जुलाई २१ मा १०८३.५५ विन्दु छोएको नेप्सेले सोही वर्षको डिसेम्बरमा ८४८ को विन्दु छोएको थियो । २०१५ को जुलाई २३ मा चार अंकमा उक्लिएको नेप्सेले फेरि ३ अंकमा झरेको छैन तर १००० को विन्दु छोएको केही समयमै ११०० पुगेको सो परिसूचकले बजारले जतिसुकै विरियस ट्रेन्ड लिए पनि साे विन्दुलाई छोडेर तल झर्न सकेको छैन ।

यहाँनिर अचम्म त के छ भने २०१५ डिसेम्बरपछि अहिलेकाे समयसम्म नेप्सेले ११०० विन्दु छोएर बन्द हुने एक दर्जन बढी प्रयास गरिसकेको छ तर सफल भएको छैन । यो वर्षकै मार्च ३ मा नेप्सेले ११००.५८ अंकको विन्दुसम्म आएर फेरि उकालो लागेको थियो । त्यस्तै, फेब्रुअरी १८ मा ११०२.५१ मा झरेको थियो । त्यसो त, २०१५ को डिसेम्बरमा पनि नेप्से १११०.६८ प्रतिशतसम्म झरेको थियो ।

संकेत के हो ?

ग्राफ र अंकको महत्व हाम्रो जीवनमा महत्वपूर्ण विषय हुन् । ट्रेन्ड एनालाइसिस (प्रवृत्ति विश्लेषण) को एउटा महत्वपूर्ण औजार ग्राफ हो । हाम्रो मुटुको धड्कनलाई त्यसैगरी ग्राफमा प्लट गरेर मुटुको अवस्था पत्ता लगाइएजस्तै बजारको चाललाई समेत ग्राफले बोल्ने गर्छ । यसको अर्थ ११०० को विन्दुबाट बजार फर्केर जानुले सो विन्दुमा नेपाली बजार परिपक्व भएको अर्थमा विज्ञहरु बुझ्छन् ।

शेयर बजारको प्राविधिक विश्लेषणमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण औजार फिभोनासी स्ट्रेसमेन्ट टुल्स हो जसले बजारको गतिअनुसार लगानीकर्ताको मनोविज्ञानलाई गणितीय सुत्रमार्फत् ग्राफमा प्लट गरिदिन्छ र बजारको वास्तविक विन्दुबाट धेरै बढ्नबाट रोक्ने अवरोध र घट्नबाट बचाउने टेवाका मनोवैज्ञानिक विन्दुहरु पत्ता लगाउने काम गर्छ । बजारमा यो प्रक्रिया निरन्तर हुने भए पनि बजारको ११०० ले बजारलाई धेरै पटक टेवाको काम गरिसकेको छ जसले यो विन्दुमा बजारकाे परिपक्वताको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.