अब एनआरएनले नेपाली र विदेशी दुबैको हैसियतले नेपालमा लगानी गर्न पाउने

  २०७६ मंसिर ११ गते १५:१८     राजाराम न्यौपाने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन)का एउटै लगानीकर्ताले स्वदेशी वा विदेशी लगानीकर्ताको रूपमा नेपालमा लगानी गर्न पाउनेछन् । उद्योग विभागले हालै गरेको आन्तरिक निर्णयअनुसार एनआरएनले अब स्वदेशी र विदेशी लगानीकर्ता दुबैको हैसियतमा नेपालमा लगानी गर्न पाउने बाटो खुलेको हाे ।

यसअघि एनआरएनले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्न पाउने प्रावाधान रहेको थियाे । यससँगै स्वदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा त्यसबाट भएको नाफा र लगानी फिर्ता लान पाउने छैनन् भने विदेशी लगानीकर्ताको रूपमा स्वीकृति लिएमा त्यसबाट प्राप्त नाफा र लगानी दुबै फिर्ता लान पाउनेछन् ।

नयाँ व्यवस्थाअनुसार गैरआवासीय नेपालीहरुले इच्छाएमा वा चाहेमा एउटै कम्पनीमा स्वदेशी र विदेशी लगानी भनेर पनि लगानी गर्न पाउने विभागका सूचना अधिकारी विनोदकुमार खड्काले बताए । ‘निश्चित प्रतिशतका आधारमा लगानीकर्ताले एउटै कम्पनीमा पनि स्वदेशी र विदेशी लगानीको हिस्सा राख्न मिल्छ’, उनले भने । आफ्नो पुर्ख्याैली सम्पत्ति देखाएर वा विदेशमा कमाएको सम्पत्ति नेपाल ल्याएर पनि स्वदेशी लगानीकर्ताको हैसियतमा लगानी गर्न सकिन्छ । तर विदेशी लगानीका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्पत्तिको स्रोत देखाउनु पर्ने छ ।

गैरआवासीय नेपाली ऐन, २०६४ मा नै गैरआवासीय नेपालीहरुले स्वदेशी र विदेशी लगानीकर्ताको हैसियतले लगानी गर्नसक्ने व्यवस्था भए पनि कार्यान्वयनका लागि नियमावली नबन्दा त्यसअनुसार लगानी गर्न पाएका थिएनन् । नियमावली नबन्दा यसअघि गैरआवासीय नेपालीले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्दै आएका थिए ।

गैरआवासीय नेपाली संघका हेमन्त दवाडीले भने नयाँ निर्णयले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न थप सहज हुने छ । अब प्रत्येक गैरआवासीय नेपालीले आफ्नो इच्छा अनुसार स्वदेशी लगानीकर्ताका वा विदेशी लगानीकर्ताका रूपमा लगानी गर्न पाउने छन् ।

विभागले गैरआवासीय नेपालीको लगानीमा नयाँ व्यवस्था गरे पनि यसअघि आएको गैरआवासीय लगानी विदेशीका रुपमा आउने गरेको थियो । गैरआवासीय नेपालीलाई नेपालको राजनीतिकबाहेक अरु अधिकार नेपाली बराबर नै हुने व्यवस्था संविधानले गरेको छ । तर, कार्यान्वयनका लागि आवश्यक नियमावली भने बनिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.