उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्धि सम्भव छैनः मन्त्री गुरुङ

  २०७६ मंसिर ११ गते १२:५८     विकासन्युज

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्धन र विकास अपरिहार्य भएकोमा जोड दिएका छन् ।

स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रबर्धन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गुरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रबर्धनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीव्र आर्थिक वृद्धिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रबर्धन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो ।

सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.